गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी, साझेदारलाई झुटाे मुद्दामा फसाउन खाेजेकाे आराेप

गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी, साझेदारलाई झुटाे मुद्दामा फसाउन खाेजेकाे आराेप

बुटवलः व्यापारका साझेदारको रकम हडप्ने योजनासहित दुई भारतीय नागरिकलाई लागुऔषध मुद्दामा फसाउन खोजेको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

गत असार २२ गते गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले टोलीले गुप्ताको सूचनालाई पछ्याउँदै भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई रामग्रामको पिपरहियाबाट पक्राउ गरेको थियो।

उनीहरूको साथबाट २७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीले बताएको थियो।

व्यापारबाट भएको नाफाको २० प्रतिशत अर्थात एक करोड ३३ लाख रूपैयाँ रकम नदिन गाउँपालिका अध्यक्ष गुप्ताले फसाएको पक्राउ परेका रामा गुप्ताको परिवारको आरोप छ।

प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको बेग्लाबेग्लै अनुसन्धानमा पालिका अध्यक्ष गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पुर्जी जारी भएसँगै उनको नाम फरारको सूचीमा परेको छ।

यसअघि पक्राउ परेका पुर्व नगर प्रहरीसमेत रहेका गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा गुप्ताको नै संलग्नता देखिएको प्रहरी स्रोतले जनायो। घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दाेष देखिएको अनुसन्धानले देखाएको प्रहरी बताउँछ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

भारतको मोतिहारी जिल्लाका रामा गुप्ताले गाउँपालिका अध्यक्ष गुप्तासँग १२ वर्षदेखि कवाड कारोबारमा साझेदारी गर्दै आएका थिए। भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड बिक्रीका लागि २० लाख धरौटी मागेपछि गाउँपालिका अध्यक्षले रामासँग २० प्रतिशत नाफा दिनेगरी कवाड कारोबार गरेका थिए।

तर, व्यवसायबाट भएको नाफाको २० प्रतिशत दिन गाउँपालिका अध्यक्ष गुप्ताले आलटाल गर्दै आएको प्रहरीले जनाएको छ। १३ करोड नाफा भएपछि नाफाको २० प्रतिशत पाउने सहमतिअनुसार रामाले १ करोड ३३ लाख रूपैयाँ पाउनुपर्ने भए पनि अहिलेसम पाएका छैनन्।

प्रहरीलाई मोटरसाइकल नम्बरसहित लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचना अध्यक्ष गुप्ताले नै दिएको पुष्टि भएको छ। जसको सूचनामा २ जना पक्राउ परेका हुन्। उनीहरूबीच लेनदेन रहेको खुलेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो। पालिका अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन्।

भदौ २०, २०७९ सोमबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।