गुल्मीमा एकीकृत समाजवादी र एमालेबीच एकता, रामकुमारी झाँक्रीलाई ठूलाे धक्का
गुल्मी : जिल्लामा एकीकृत समाजवादी र एमालेबीच एकता भएकाे छ। एकीकृत समाजवादीकाे जिल्ला समिति नै एमालेमा समाहित हुने भएपछि एकता नाम दिइएकाे हाे।
याेसँगै गुल्मीबाटै निर्वाचन लड्ने भनेर गृहजिल्लामा रहेकी पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई ठूलाे धक्का लागेकाे छ। मन्त्री पद गएकाे केही समयपछि नै उनी जिल्लाबाटै निर्वाचन लड्ने तयारीमा थिइन्। तर, उनकै जिल्लामा पाटीकाे निशान मेटिएकाे छ।
तम्घासस्थित एमालेको पार्टी कार्यालयमा साेमबार आयोजित एक समारोहमा एकीकृत समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी,जिल्ला ईन्चार्ज गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेताहरू एमालेमा फर्किएका हुन्।
जिल्लाका अन्य चर्चित नेताहरू पनि एमाले फर्किएका छन्।
एमालेबाट विभाजित भएर गत वर्ष गठन भएकाे एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा समेत खासै सफलता हात पार्न सकेन।
विनासर्त एमालेमा समाहित भएका नेता तथा कार्यकर्तालाई एमालेका महासचिव प्रदिप ज्ञवाली र सचिव गोकर्ण विष्टलगायत नेताले स्वागत गरेका थिए।
भदौ २०, २०७९ सोमबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।