गगन-घनश्याम हैन, चक्रे र गोर्खालीलाई संसदमा बहस गराउने कांग्रेस-एमाले रहर !
काठमाडौँ : प्रहरीको सूचीमा' सङ्गठित गुण्डागर्दीमा संलग्न' सूचीमा भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले हुँदै टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रूपमा सांसद बनेर प्रदेश मन्त्री बन्न सफल भए दीपक मनाङेको रूपमा परिचित दीपक गुरुङ( राजिव गुरुड) ।
उनले आफूलाई व्यापारी अनि समाजसेवी दाबी गरे पनि उपत्यका अपराध अनुसन्धान कार्यालयको सङ्गठित अपराध हेर्ने पिल्लर नम्बर ४ को फाइलमा अझै उनको नाम गुन्डाकै सूचीमा छ। तर उनी पोखरामा गण्डकी प्रदेशको खेल क्षेत्रको जिम्मेवारी लिएर बसेका छन्।
उनीभन्दा पहिला नै राजनीतिमा सक्रिय भए पनि गणेश लामालाई उनीभन्दा अगाडि माननीय र मन्त्री हुन भने जुरेन। गत निर्वाचनमा उनले पनि काभ्रे निर्वाचन क्षेत्र १ को (ख) बाट प्रदेश सांसदको टिकट पाएका थिए। तर एमाले र माओवादी केन्द्रको गठबन्धनले मनाङेसँगै माननीय हुने प्रयास असफल बनायो। उनी पराजित भए।
विजयकुमार गच्छद्धारको राजनीतिक स्कुलिङबाट हुर्किएका उनी आगामी मङ्सिर ४ को निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) बाट उम्मेदवारका लागि सिफारिसमा परेका छन्। यो बिचमा उनले पार्टीगत हैसियत बढाएर पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट निर्वाचित केन्द्रीय सदस्य भइसके। र उनले यो पटक पनि टिकट पाउने पक्का छ।
गत निर्वाचनमा एकल कांग्रेसबाट उम्मेदवार बन्दा पाएको पराजय यो पटक उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेर विजय हुने रणनीतिमा छन्।
उनीसँगै काभ्रे प्रतिनिधि सभा १ को प्रदेश सभा (क) बाट समानुपातिक कोटामा सांसद हुने प्रयासमा छन् बलराम सापकोटा बले। एमालेमा सक्रिय उनी एकाएक काभ्रे कांग्रेसबाट समानुपातिक सांसदको रूपमा सिफारिसमा परेका छन्।
काठमाडौँमा क्यासिनोमा नेपाली प्रवेश गराएर जुवा खेलाउने धन्दा चम्किदा उनी मिटर ब्याजबाट उँभो लागेका थिए। कहलिएका मिटरब्याजी उनी अहिले त आफैँ क्यासिनोको मालिक भइसके मेची क्राउन प्लाजामा। उनी हरेक दिन भारतीय कलाकारहरू ल्याएर क्राउन प्लाजामा रहेको क्यासिनोमा जुवा खेलाउन सक्रिय छन्।
यति मात्रै हैन, कांग्रेस सिन्धुपाल्चोकले अर्का गुन्डा नाइके तथा हत्या अभियोग पुष्टिसँगै जेल समेत बसिसकेका अनुभवी राजु गोर्खालीलाई प्रदेशको हैन केन्द्रकै सांसद बनाउने तयारी गरेको छ।
आइतबार कांग्रेस सिन्धुपाल्चोकको जिल्ला समितिले उनको नाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस गरेको छ। कांग्रेस जिल्ला सभापति जङ्गबहादुर लामाका अनुसार जिल्लाले गोर्खालीको नाम २ नम्बरमा राखेर पठाएको छ।
जिल्ला समितिले आइतबार बागमती प्रदेश र केन्द्रीय समितिलाई पठाएको सिफारिस सूचीमा गोर्खालीसँगै पूर्व राज्यमन्त्री विष्णुविक्रम थापा, कांग्रेस निवर्तमान उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ र पुराना नेता शङ्कर लामाको नाम समेत छ।
काठमाडौँको चाबहिल क्षेत्रलाई आधार बनाएर बालुवा ठेक्का कब्जा गर्दै रात्रिकालीन व्यवसायमा संलग्न भएका उनी राकेश लिम्बुको हत्या अभियोगमा दोषी ठहरिएर जेल परेका थिए। उनी हत्या अभियोगमा लामो समय फरार भएर पछि भत्केको पुलमा पक्राउ परेका थिए।
जेलमुक्त भएपछि उनी काठमाडौँ मल ठेक्का प्रकरणमा विवादमा आएका थिए। गत निर्वाचनमा राप्रपा प्रवेश गरेका उनलाई कांग्रेसको १४ औँ महाधिवेशन अगाडि कांग्रेस नेता विकास लामाले सिन्धुपाल्चोक २ मा लगेर कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराएका थिए। यस पटक प्रतिनिधि सभाको सदस्यमै नाम सिफारिसमा पारे।
यो सूचीमा मिलन गुरुङ भनिने चक्रे मिलन पनि परेका छन्। उनलाई एमालेको क्षेत्रीय कमिटीले गोरखा–२ बाट प्रतिनिधि सभाको सदस्य बनाउन सिफारिस गरेको छ। गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम समेत सिफारिस भएको छ।
उनी काठमाडौँको चक्रपथ क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक-पटक पक्राउ पर्दै जेल जाँदै, छुट्दै आएका थिए। उनी र मनाङे एक अर्काको प्रतिस्पर्धीको रूपमा परिचित थिए। दुवै समूहको दुस्मनीमा उनीमाथि आक्रमण हुँदा उनको हातै छिनेको थियो।
तर पछिल्लो समय यी दुवैको सम्बन्ध सुधारिएको थियो। मनाङे प्रदेश सांसद भएपछि चक्रे गोरखाको सामाजिक काममा सक्रिय हुन थालेका थिए।
इन्काउन्टरले बदलेको बाटो
काठमाडौँ हुँदै सङ्गठित गुण्डागर्दी अन्य जिल्लाको मुख्य सहरी क्षेत्रमा फैलियो। वैदेशिक रोजगारी होस् या हाउजिङ जताततै असुलीको त्रास बढ्यो। रात्रिकालीन व्यवसायमा त उनीहरूको एकछत्र राज जमेसँगै ग्राहक लुटिने अनि पिटिने घटना बढ्न थाल्यो।
उनीहरूको आत्मबल यतिसम्म बढ्यो कि नेता र प्रहरीलाई आफूलाई अप्ठ्यारो परे ठिक पार्ने भन्दै धम्की दिएपछि गृह प्रशासनले सुरक्षा रणनीति बदल्दै मुम्बई मोडल अपनायो। मुठभेड भनेर इन्काउन्टरमा सफाया गर्ने सूची बन्दा पहिलो सूचीमा परे सुजन पौडेल उर्फ रमेश बाहुन।
भागेर बिहारमा राजनीतिक संरक्षण लिएर बसेका उनलाई प्रहरीले बढो नाटकीय रूपमा पक्राउ गरेर नेपाल ल्यायो। तर एमालेको नवौँ महाधिवेशन चलिरहेकाले तत्काल सफायाको अनुमति आएन। बाहुन पक्राउको सूचना चुहिएपछि उनको ज्यान जोगियो। उनी एकाएक कलङ्कीको खसी बजारमा पक्राउ परेको प्रहरी विज्ञप्ति सार्वजनिक भयो।
त्यो बेला धादिङका दिनेश अधिकारी चरी भागिरहेका थिए। आफ्नो मुद्दा सेटल नगराएको भन्दै उनले तत्कालीन गृहमन्त्री बामदेव गौतमलाई नै धम्क्याउन थाले। रमेश बाहुनका लागि बुनेको अप्रेशन चरीतिर सोझियो। प्रहरीको वान्टेड सूचीमा थिए उनी। २०७१ साउन २१ मा सितापाइलामाथिको जङ्गलको बिचमा मारिए।
चरीको इन्काउन्टरसँगै सङ्गठित अपराधमा सक्रिय भएकाहरू लाखापाखा लागे। अधिकांश जो जहाँ भाग्न सक्छन् त्यही भागे। कोही भारत छिरेर श्रीलङ्कासम्म पुगे। कोही दुबई गएर बसे। कोही यतै भए पनि निष्क्रिय भए।
दर्हो राजनीतिक संरक्षण नभए कुनै पनि बेला मारिने भय भएपछि सक्नेले प्रहरी अधिकारीलाई मोटो रकम बुझाएर आयु किने। कोही राजनीतिक संरक्षणमा गए। त्यसमा एक थिए गणेश लामा। तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको नेतृत्व बदलिएर पुष्कर कार्कीको ठाउँमा सर्वेन्द्र खनाल आए।
एकै ब्याचका थिए खनाल र कार्की। कार्कीको वाहवाहीलाई चिर्न खनालले पनि इन्काउन्टर नीतिलाई जारी राखेर टप पाँच जनाको लिस्ट बनाए। लिस्टमा गणेश लामा, घैँटे भनिने कुमार श्रेष्ठ हिट लिस्टमा थिए। सके दीपक मनाङे र चक्रे मिलनलाई पनि मुठभेडमा पार्ने रणनीति भए पनि पहिलो मुठभेडमा एमाले निकट चरी ढलेकाले राजनीतिक ब्यालेन्स मिलाउन कांग्रेस निकटलाई मुठभेडमा पार्ने रणनीति बन्यो।
'त्यसमा पहिलो नम्बरमा लामा थिए। दोस्रो नम्बरमा कुमार,' तत्कालीन रणनीतिबारे जानकार एक प्रहरी अधिकारीले भने' विजय गच्छदारको सिधै संरक्षण भएकाले लामालाई ढाल्न अलि समस्या देखिएपछि घैँटे टार्गेटमा परे।'
प्रहरीले आफूलाई टार्गेटमा पारेकोबारे घैँटेसम्म सूचना पुगेपछि उनी ज्यान जोगाउन राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगे। उनले आफूलाई इन्काउन्टर गर्न चाहने प्रहरी अधिकारीको नामै खुलाएर निवेदन दिएका थिए। अनि जोगिन उनी कांग्रेसको राजनीतिमा सक्रिय हुन थाले।
यता महाशाखाले उनको रेकी गर्न थालिसकेको थियो। २०७३ भदौ ३ मा छोरीलाई स्कुटीमा राखेर स्कुल बसमा छाडेर घर अगाडि स्कुटर पार्क गरे लगत्तै उनी मारिए। यसले थप गुन्डाहरूलाई काठमाडौँबाट भगायो।
शरदकुमार गौचनको हत्या गरेर फरार मनोज पुन अनि दुर्व्यसनमा फसेका प्रवीण खत्री पनि इन्काउन्टरमा मारिए। तर यो चरी र घैँटे मोडलको अप्रेसनको निरन्तरता थिएन। मनोज पुनको इन्काउन्टरपछि प्रहरीले रणनीति बदल्यो।
अनि नेता बन्न थाले गुन्डा
बलियो राजनीतिक संरक्षण नहुने हो भने जुनसुकै बेला मारिने भयले चक्रे मिलन पुरै निष्क्रिय भए। उनी अधिकांश समय कि गोरखातिर जान थाले। काठमाडौँ हिँड्दा पनि केटाहरू नलिई हिँड्न थाले। ठमेलमा सक्रिय दीपक मनाङे कहिले एमालेको ढोका ताके त कहिले माओवादीको।
कांग्रेसमा जान उनलाई गाह्रो थिएन। तर उनले रोजे राप्रपा। राप्रपामा रहँदा पनि सुरक्षित नभए पनि प्रहरीभित्र उनका शुभचिन्तक थिए नै। उनले यो बिचमा प्रहरीको नजरमा पर्ने गतिविधि ठप्प बनाए।
२०७४ मा प्रदेश र केन्द्रको निर्वाचनमा उनी एमाले प्रवेश गरे। एमालेले मनाङमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा प्रदेश सांसद बने। प्रदेश सांसद बने पनि चक्रे मिलनलाई खुकुरी हानेको मुद्दामा कैद सजाय बाँकी नै रहेको खुलेपछि केही समय फरार भएका उनी बाहिरै बसेर फैसलाको पुनरावलोकन गराउने पाउने आदेश ल्याएर सार्वजनिक भए। अनि एमालेको सहयोगमा सांसदको शपथ खाएर पछि एमाले नेतृत्वको सरकारमा अनि पछि कांग्रेसको सरकारमा मन्त्री। भए।
प्रहरीभित्र नेतृत्वमा पुग्ने प्रतिस्पर्धाले सङ्गठित गुन्डागर्दीविरुद्धको अप्रेशन सुस्ताइसकेको थियो। उता उनीहरू भने राजनीतिमा सक्रिय हुन थाले। गच्छदार कांग्रेस प्रवेश गरेसँगै गणेश लामा पनि कांग्रेसमा गए। काभ्रेको ढुङ्गा खानी अनि इन्द्रावतीमा क्रसर थियो नै आम्दानीको स्रोत। मनाङे मन्त्री बनिहाले। चक्रे भने लो प्रोफाइलमै बसे। अन्य दोस्रो श्रेणीकाहरु निष्क्रिय बसे।
राजु गोर्खाली ठेक्कापट्टामा सक्रिय भए। काठमाडौँमा बसेर राजनीति गर्न नसक्ने देखेपछि उनी विकास लामाको सहयोगमा सिन्धुपाल्चोक गएर कांग्रेसको जिल्ला नेता बने।
इन्काउन्टरमा पर्ने डरले भागेका बलराम सापकोटा मिटर ब्याजबाट उकासिएको आर्थिक हैसियतको प्रभावले होटेल तथा क्यासिनो सञ्चालकमा बदलिए। झापामा मेची क्राउन प्लाजाको अनुमति लिएर होटेल व्यवसायी बने उनी।
मीनकृष्ण महर्जन रमेश बाहुनको आक्रमणपछि ठेक्कापट्टामा निष्क्रिय भएर राजनीतिमै केन्द्रीय भए। बाँकी रहे सगुन श्रेष्ठ अनि दावा लामा। गणेश लामाले दुवैको उद्धार गरेर एक जनालाई सिन्धुपाल्चोकको स्थानीय तहको जनप्रतिनिधि बनाइदिए अर्कोलाई काभ्रेको।
राजनीतिमा हैसियत बढाउँदै लगेका उनीहरू अब अहिले कोही प्रदेशमा त कोही प्रतिनिधि सभामै माननीय हुन राष्ट्रिय पार्टीबाटै उम्मेदवारका लागि सिफारिसमा पर्न सक्ने भइसकेका छन्।
'जे गर्यो पैसाले गर्यो'
अपराध महाशाखाको नेतृत्वमा रहँदा इन्काउन्टर नीति कार्यान्वयनमा ल्याएका नेपाल प्रहरीका पूर्व एआइजी पुष्कर कार्की राष्ट्रिय दलका नेताहरूले लाजै नमानी आपराधिक पृष्ठभूमि भएकाहरूलाई जनप्रतिनिधि बनाउन सिफारिस गर्नु चुनाव महंगोहुँदै जानुको परिणाम भएको बताउँछन्।
'सांसद बन्न कमसेकम पनि एक क्षेत्रमा ४ करोड पैसा लाग्ने त सांसदहरूले भनिरहेका छन्। केन्द्रीय नेताहरूले चुनाव साह्रै महँगो भयो भनेर गुनासो गर्नुको अर्थ उनीहरूले पनि खर्च धान्न नसक्ने भन्ने नै हो,' कार्कीले उकेरासँग भने' अब कि पैसा भएकालाई उम्मेदवार बनाउनुपर्योन कि पैसा खोज्नुपर्योह। अहिले पैसा जोसँग छ उनीहरूलाई नै सिफारिस गरेका न हुन्।'
आर्थिक पाटोको प्रभावले दलहरूले लाजै नमानी समाजमा गुन्डा नाइकेको रूपमा छवि स्थापित भएकाहरूलाई जनप्रतिनिधि बनाउँदा युवा पुस्तामा राजनीतिमा लागेपछि जे गरे पनि माफ हुन्छ भन्ने गलत सन्देश जाने जोखिम छ नै।
दलमा प्रवेश गरेकै आधारमा कहलिएकाहरू जनप्रतिनिधीहुँदै संसद्मा जाँदा उनीहरूले गर्ने राज्य स्रोतको दोहनबाट आपराधिक वर्ग बलियो हुँदै जाने जोखिम पनि उस्तै छ। यसले जसरी हुन्छ पैसा कमाऊ अनि राजनीतिमा गएर जोगिऊँ भन्ने गलत सन्देश जाने निश्चित छ।
'यसले कुनै पनि दलमा यस्तालाई टिकट दिँदा मतदाताले के भन्लान् भन्ने सङ्कोच समेत देखिएन। उल्टो प्रतिस्पर्धा पो देखियो,' कार्की भन्छन्' अब मतदाताले विवेक प्रयोग गर्लान् कि भन्ने हो भने त्यो त मनाङको निर्वाचनले नै देखायो। यसले पनि आपराधिक पृष्ठभूमि भए पनि दलले पत्याए राजनीतिमा जमिन्छ भन्ने सन्देश गयो। जुन सुखद हैन।'
भदौ १९, २०७९ आइतबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।