बिएमडब्लु उपहार लिँदा दुई सय करोड ठगीमा तानिइन् नोरा फतेह
एजेन्सी : दुई सय करोड ठगी प्रकरणमा भारतीय अभिनेत्री ज्याकलिन फर्नाडिसपछि अब नोरा फतेही तानिएकी छिन्। सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकलिन पहिल्यैबाट समस्यामा परेकी छिन्। ठगी प्रकरणबारे छानबिन गरिरहेको निकायले यहीबारे नोरासँग समेत सोधपुछ गरेको छ।
दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले नोरासँग चन्द्रशेखरले दिएका उपहार र दुवैको सम्बन्धबारे सोधपुछ गरेको थियो। बयानमा उनले यसबारे ज्याकलिनसँग आफ्नै कुनै सम्बन्ध नभएको र चन्द्रशेखरले अलग्गै अप्रोच गरेको बताएकी छिन्।
चन्द्रशेखरसँग नङ पालिस सम्बन्धी एक कार्यक्रममा भेट भएको र चन्द्रशेखर र उनकी श्रीमतीले आफूलाई बिएमडब्लु कार उपहार दिएको उनले बयानमा खुलाएको भारतीय मिडियाले लेखेका छन्।
उनले चन्द्रशेखरको आपराधिक पृष्ठभूमिबारे आफूलाई केही जानकारी नभएको बयान दिएकी थिइन्। ज्याकलिनविरुद्ध प्रहरीले २ सय करोड ठगीमा अभियोग पत्रै दर्ता गरिसकेको छ।
अभियोग पत्रमा चन्द्रशेखरको आपराधिक पृष्ठभूमिबारे उनी जानकार रहेको दाबी गरिएको छ। उनलाई दिइरहेको उपहार ठगीको पैसाको भएको जानकारी समेत भएको अभियोग पत्रमा दाबी गरिएको छ। दिल्ली प्रहरीले ज्याकलिनसँग १२ सेप्टेम्बरमा यसबारे बयान लिने तयारी गरिरहेको छ।
भदौ १९, २०७९ आइतबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।