तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

तीन करोड ३० लाख बाढीपीडितलाई सहयोग गर्न पाकिस्तानको अपिल

एजेन्सी: पाकिस्तानले बाढीपीडित तीन करोड ३० लाख जनतालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ। बाढीमा परेर झण्डै एक हजार तीन सय जनाको मृत्यु भएको जनाउँदै पाकिस्तान सरकारले मानवीय सहायताको लागि आग्रह गरेको हो।

सङ्घीय योजनामन्त्री अहसान इकबालले निरन्तरको वर्षासँगै आएको बाढीले तीन करोड ३० लाख सर्वसाधारण प्रभावित भएका र ज्यान गुमाउने र घरबारविहीन हुनेको सङ्ख्या बढ्दै गएपछि शनिबार अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

“पाकिस्तानी प्रवासीहरू र अन्तर्राष्ट्रिय समुदायलाई चरम अभावको यो घडीमा पाकिस्तानलाई सहयोग गर्न अपील गर्दछु,” पत्रकार सम्मेलनमा उनले आह्वान गर्दै भने।

सरकारको प्रारम्भिक अनुमानअनुसार वर्षा र बाढीबाट १० अर्ब डलर बराबरको क्षति भएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत धेरै अधिकारी र विज्ञले असामान्य वर्षा र बाढीलाई जलवायु परिवर्तनलाई दोष दिएका छन्। महासचिव गुटरेस आगामी शुक्रबार पाकिस्तानको वस्तुस्थितिबारे जानकारी लिन बाढी प्रभावित क्षेत्रको भ्रमण तथा सरकारी अधिकारीहरूसँग भेटघाट गर्दैछन्।

पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले शनिबार आफ्नो पछिल्लो प्रतिवेदनमा बाढी प्रभावित क्षेत्रमा थप ५७ जनाको मृत्यु भएको जनाएको छ। जुनको मध्यदेखि सुरु भएदेखि मनसुन वर्षाले ल्याएको बाढीपहिरोमा परेरर ४४१ बालबालिकासहित एक हजार २६५ जनाको मृत्यु भइसकेको छ।

भदौ १९, २०७९ आइतबार १२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।