मिखाइल गोर्वाचेभको अन्तिम श्रद्धाञ्जलीमा पुगेनन् पुटिन, सांकेतिक विरोध गरेको विश्वास

मिखाइल गोर्वाचेभको अन्तिम श्रद्धाञ्जलीमा पुगेनन् पुटिन, सांकेतिक विरोध गरेको विश्वास

एजेन्सी: सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्वाचेभको अन्तिम संस्कार आज गरिँदै छ। शीतयुद्धको अन्त्य गराएका नेता गोर्वाचेभको गत मङ्गलबार ९१ वर्षको उमेरमा निधन भएको थियो।

गोर्वाचेभलाई अन्तिम श्रद्धाञ्जली दिन राजधानी मस्कोमा थुप्रै नागरिक भेला भएका छन्। यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने पुगेका छैनन्।

उनी कार्यव्यस्तताका कारण नपुगेको बताइएको छ। तर पुटिन व्यस्तता कारण नभई सांकेतिक विरोधस्वरूप नगएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कुनै समय पुटिनले सोभियत संघको विघटनलाई 'शताब्दीकै ठूलो भूराजनीतिक प्रकोप' भनेका थिए।

गोर्वाचेभ सत्तामा रहँदा नै सोभियत संघ सन् १९९१ मा विघटन भएको थियो।.अधिकांश रुसी जनता सोभियत संघको विघटनको दोष गोर्वाचेभलाई नै दिने गर्छन्।

तर रुसबाहिर भने गोर्वाचेभलाई व्यापक सम्मान गरिन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गोर्वाचेभलाई इतिहास बदल्ने नेता भनेका थिए। यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले उनलाई दुर्लभ नेता भनेका थिए।

यद्यपि पुटिनले गोर्वाचेभको निधनपछि श्रद्धाञ्जली भने प्रकट गरेका थिए। इतिहासमा व्यापक प्रभाव पार्ने व्यक्ति भनेर पुटिनले सम्बोधन गरेका थिए।

गोर्वाचेभको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि 'कोलम्ड हल अफ द हाउस अफ युनियन्स'मा राखिएको छ। यहाँ भ्लादिमिर लेनिन, जोशेफ स्टालिन लगायतको शवलाई पनि अन्तिम श्रद्धाञ्जलीलाई राखिएको थियो।

आज साँझ गोर्वाचेभको शवलाई उनकी श्रीमती राइसाको चिहानसँगै गाडिनेछ। राइसाको निधन सन् १९९९ मा भएको थियो।

भदौ १८, २०७९ शनिबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।