देश छाडेर भागेको दुई महिनापछि स्वदेश फर्किए राजापाक्षे

देश छाडेर भागेको दुई महिनापछि स्वदेश फर्किए राजापाक्षे

एजेन्सी : देश छोडेर भागेको दुई महिनापछि श्रीलंकाका पूर्वराष्ट्रपति राजाबाया राजापाक्षे स्वदेश फर्र्किएका छन्।

आर्थिक संकट चुलिएसँगै महिनौंदेखि जारी विरोध प्रदर्शनले हिंस्रक रूप लिएपछि देश छाडेर भागेका राजापाक्षे शुक्रबार थाइल्याण्डबाट श्रीलंका फर्किएका हुन्।

प्रदर्शनकारीले राष्ट्रपति निवासदेखि अन्य सरकारी संरचना कब्जा गरेपछि राजापाक्षे जुलाई १३ मा देश माल्दिभ्स भागेका थिए। त्यहाँबाट सिंगापुर गएका उनले १४ जुलाईमा ईमेलमार्फत राजीनामा पठाएका थिए। त्यसपछि उनी अस्थायी आश्रयका लागि थाइल्याण्ड उडेका थिए।

कडा सुरक्षाका साथ भन्डारनायके विमानस्थलमा उत्रिएका उनलाई स्वागत गर्न मन्त्री एवं सत्तारुढ दलका सांसद पुगेका थिए। थाइल्याण्डमा रहँदै आएका उनी पहिला सिंगापुर गएर त्यसपछि श्रीलंका आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पूर्व राष्ट्रपतिको हैसियतमा उनले एक सरकारी आवास र अन्य सुविधा दिइएको ‘द मिरर’मा प्रकाशित समाचारमा उल्लेख छ।

राजापाक्षे अपदस्थ भएपछि श्रीलंकाका तत्कालीन कार्यवाहक राष्ट्रपति एवं छ पटक प्रधानमन्त्री भइसकेका रनलि विक्रमासिंघेले उनका उत्तराधिकारीको रूपमा चुनिए।

विक्रमासिंघे राष्ट्रपति बन्न २२५ सदस्यीय संसदमा सबैभन्दा ठूलो दल श्रीलंका पोदुजना पेरामुना (एसएलपीपी)को समर्थन पाएका थिए। विक्रमासिंघेले राजापाक्षे नेतृत्त्वको एसएलपीपीको आग्रहमा उनलाई स्वेदश फर्काउने बन्दोबस्त गरेकाे समाचारमा उल्लेख छ।

भदौ १८, २०७९ शनिबार ०८:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।