सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं: सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ। हिजो बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जनाएका छन्।
अवस्थीले एक विज्ञप्ति जारी गरी आज प्रदेशभर सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा दिइने निर्णय भएको बताएका हुन्।
यसअघि प्रदेश सरकारको प्रदेश राजपत्रमा आज सार्वजनिक बिदा हुने उल्लेख गरिएको थियो। तर बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत दीपेन्द्रसिंह विष्टले एक विज्ञप्ति जारी गर्दै बिदा खारेज गरिएको सूचना प्रकाशित गरेका थिए।
बुधबार प्रकाशित बिदा खारेजीको सूचनाको व्यापक विरोध भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भदौ १७, २०७९ शुक्रबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।