बुटवलमा बहुतले पार्किङ बनाइने, डीपीआरका लागि उपमहानगरले गर्‍याे सम्झौता

बुटवलमा बहुतले पार्किङ बनाइने, डीपीआरका लागि उपमहानगरले गर्‍याे सम्झौता

बुटवलः रुपन्देहीको बुटवलमा बहुतले पार्किङ बनाइने भएको छ।

पार्किङ समस्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाको पहलमा बहुतले पार्किङस्थल बनाउने तयारी सुरु गरिएको हो।

पार्किङस्थल निर्माणका लागि अध्ययन प्रक्रिया अघि बढिसकेको छ। बुटवल उपमहानगरपालिका, नगर विकास कोष र परामर्शदाता कम्पनीका बीचमा डीपीआर तयारका लागि सम्झौतासमेत भएको छ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीका प्रतिनिधि विजयलाल न्याछ्योंबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार परामर्शदाता कम्पनीले बुटवलस्थित लुम्बिनी बस टर्मिनलको क्षेत्रभित्र बहुतले कार पार्किङका लागि लगानी र डिजाइनको काम गर्ने बुटवल उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए।

बस टर्मिनल क्षेत्रको दक्षिणपट्टिको भागमा बहुतले पार्किङ भवन बनाउनका लागि लागत र डिजाइन तयार भइसकेपछि पुनः निर्माणका लागि टेण्डर प्रक्रिया अघि बढाउने पन्थीले बताए।

परामर्शदाता कम्पनीले ४ महिनाभित्र बहुतले पार्किङको डिजाइन स्टिमेट र टेण्डर डकुमेन्टसमेतको काम गर्ने शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए।

बुटवलमा बढ्दो शहरीकरणका कारण बढ्दै गएको ट्राफिक व्यवस्थापनका लागि बहुतले पार्किङस्थल उपयोगी हुने उपमहानगरपालिकाका प्रमुख पाण्डेयले जनाए।

उनले बुटवलमा बहुतले पार्किङ आवश्यक भएकाले नगर विकास कोष र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा आधुनिक पार्किङ भवन निर्माण हुने बताए।

नगरविकास कोषको ९० प्रतिशत लगानी र बुटवल उपमहानगरपालिकाको १० प्रतिशत लगानी हुनेगरी बुटवलमा बहुतले पार्किङ निर्माण प्रक्रिया अघि बढाइएको हो।

भदौ १६, २०७९ बिहीबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।