गर्भवती महिलाको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्रीले दिइन् राजीनामा

गर्भवती महिलाको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्य मन्त्रीले दिइन् राजीनामा

एजेन्सी : प्रसूति वार्डमा ठाउँ नहुँदा एक सुत्केरीको ज्यान गएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले पदबाट राजीनामा दिएकी छन्।

व्यथाले च्यापेकी ३४ वर्षीय भारतीय पर्यटकलाई पोर्चुगलको सबैभन्दा ठूलो सान्ता मारिया अस्पतालको नियोनाटोलोजी इकाइ लगिएकोमा त्यहाँ ठाउँ नभएपछि लिस्बनको अर्को अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

मङ्गलवार गर्भवतीको मृत्यु भएकोमा बुधबार अबेर मात्र मन्त्रीले खबर पाएकी थिइन्। खबर पाउनबित्तिकै टेमिडोले राजीनामा दिएको बीबीसीले जनाएको छ।

मृत्युपछि महिलाको आकस्मिक शल्यक्रिया गरेर शिशु निकालिएको थियो। बच्चा भने जीवितै रहेको र अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान थालिएको छ।

तर, स्वास्थ्यमन्त्रीको राजीनामाको कारण यो मात्रै भने होइन । विगत केही महिनादेखि पोर्चुगलमा प्रसूति अस्पतालहरूमा कामदारको अभाव भएको आलोचकहरूको आरोप छ। 

मन्त्री टेमिडो सन् २०१८ देखि स्वास्थ्यमन्त्री भएकी उनलाई कोरोना महामारीमा क्षति कम गरेको श्रेय पनि दिइन्छ। तर, उनले विज्ञप्ति निकालेर आफूले पदमा रहिरहने कुनै कारण नभएको बताएकी छन्।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले गर्भवती महिलाको मृत्यु नै टेमिडोको राजीनामाको अन्तिम कारण साबित भएको बताउँदै अहिलेसम्मका उत्कृष्ट कामका लागि धन्यवाद दिएका छन्।
 

भदौ १६, २०७९ बिहीबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।