'प्रेम गीत ३' को हिन्दी ट्रेलर सार्वजनिक, टिजरकै दृश्य दोहोरिँदा खल्लो

'प्रेम गीत ३' को हिन्दी ट्रेलर सार्वजनिक, टिजरकै दृश्य दोहोरिँदा खल्लो
ट्रेलरबाट लिइएको स्क्रिनशट

काठमाडौं: बहुप्रतीक्षित नेपाली चलचित्र 'प्रेम गीत ३' को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। 'जी म्युजिक कम्पनी' नामको युट्युब च्यानलबाट ट्रेलर रिलिज भएको हो।

चलचित्रको ट्रेलरमा प्रेम र अमनको कथा भनिएको छ। अमन आत्मविश्वासी र बलवान् छन्। उनको लागि केही असम्भव छैन। अनि प्रेम सात गाउँ मात्र होइन सात समुद्र परसम्मका मानिसलाई आफ्नो वीरताले प्रभावित बनाउन सक्ने व्यक्ति।

अमनको उद्देश्य आफूले शासन गरेर राजकाजलाई उँचाइसम्म पुर्याउनु हो। उनी महत्त्वकांक्षी छन्। अनि प्रेम जित्नेहरूले एकदिन हारको सामना गर्नुपर्ने विचार राख्छन्। उनी महत्त्वकांक्षामा विश्वास गर्दैनन्। उनी नामजस्तै प्रेममा विश्वास राख्छन्। उनले आफ्नो प्रेमको लागि राजकाज त्यागेको दृश्य ट्रेलरको अन्त्यमा देखिन्छ।

तर उनले राजकाज सम्हाल्नुपर्नेछ। तर प्रेमको बाटोमा भने अवरोध छ। उनले कि प्रेमयोग कि राजयोग चुन्नुपर्ने हुन्छ।

यही प्रेमयोग र राजयोगबीचको संघर्ष चलचित्रको प्रमुख कथा हो भन्ने ट्रेलर हेरेर बुझ्नसकिन्छ।

तर यति कुरा त टिजरमै पनि देखिएको हो। टिजरकै दृश्यलाई थोरै लम्ब्याइएको छ ट्रेलरमा। त्यसैले होला चलचित्रको टिजरले जति उत्सुक बनाएको थियो र जति हाइप बनाएको थियो, त्यो ट्रेलरमा भने देखिएन।

टिजरबाट आश गरेका दर्शक ट्रेलरबाट भड्किने त होइनन्? किनकि अब फिल्म रिलिज हुनलाई २२ दिन मात्र बाँकी छ।

ट्रेलर हेरिरहँदा निर्माण पक्षले यत्तिको बहुप्रतीक्षित चलचित्रको ट्रेलर मेहनत गरेरै बनाएको भए चाहिँ हुन्थ्यो भनेर खल्लो महसुस हुन्छ।

यस्तो छ ट्रेलर

भदौ १६, २०७९ बिहीबार १३:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।