बुद्धनगरमा २ बालबालिकाको मृत्यु, ६ तलाको भवनबाट खसे कि हाम फाले ?

बुद्धनगरमा २ बालबालिकाको मृत्यु, ६ तलाको भवनबाट खसे कि हाम फाले ?
सांकेतिक तस्बिर

काठमाडौँ :  काठमाडौँको बुद्ध नगरमा रहेको एक निर्माणाधीन भवनको छैटौँ तलाबाट खस्दा दुई बालबालिकाको मृत्यु भएको छ। बुधवार साँझ ६ बजे उनीहरू बुद्धनगरस्थित निर्माणाधीन साढे ६ तले भवनको छैटौँ तलाबाट खसेको शंका गरिएको छ।

घटनास्थलमा घाइते अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि उनीहरूको ज्यान जोगिन सकेन। चिकित्सकले दुबैलाई मृत घोषित गरेको थियो। दुवै कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला बस्ने १४ वर्षीय बालक र काठमाडौँ महानगरपालिका २९ घट्टेकुलोकी १४ वर्षीया बालिका रहेको खुलेको छ।

१४ वर्षीय बालक भारत बिहारका हुन्। बालिका घट्टेकुलोको। घटनास्थलको प्रकृतिका आधारमा प्रहरीले उनीहरू आफैँ हाम फालेका हुन् या खसेका हुन् भन्ने निष्कर्ष निकाल्न सकेको छैन।

निर्माणमा संलग्न मजदुरहरूले प्रहरीलाई दिएको जानकारी अनुसार दुवै जना निर्माणाधीन घरको माथि जाँदा सामान्य अवस्थामै थिए।

उनीहरू आफैँ खसेका हुन् या हाम फालेका हुन् या अन्य केही भवितव्य भएको हो भन्ने खुट्याउन प्रहरी वरपरको क्लोज सर्किट टेलिभिजन खोजिरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। दुवै बालबालिकाको ब्याग समेत फेला परेको छैन।

भदौ १५, २०७९ बुधबार २२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।