‘राधा’लाई पनि ‘प्रकाश’कै व्यथा
काठमाडौं : गत शुक्रबार अभिनेता प्रदीप खड्का ‘प्रकाश’ फिल्मलाई हल सञ्चालकले उपयुक्त समयमा पर्याप्त शो नदिएर अन्याय गरेको आरोप लगाउँदै रिपोटर्स क्लबमा कड्किए। उनको कड्काइले काम पनि गर्यो ।
हलवालाले आफ्नो फिल्मलाई नजन्मिदै मार्न लागेको आरोप लगाएर जङ्गिएपछि शुक्रबार बेलुकैबाट केही शोहरू थपियो। शनिबार त्यो संख्या अझ बढ्यो। व्यापार पनि राम्रेै गर्यो। शुक्रबार आक्रोशित भएका उनी शानिबार खुसी मुद्रामा पत्रकारमाझ देखिए।
अहिले ठ्याक्कै त्यस्तै समस्या सँगै प्रदर्शनमा आएको चलचित्र ‘राधा’ले भोगेको छ। उसले त्यहि कारण प्रदर्शन रोक्नेसमेत निर्णय गर्यो। मंगलबार पत्रकार सम्मेलन गर्दै निर्माण टीमले सिनेमा हलहरूले अन्यायपूर्वक शो दिएको आरोपमा प्रदीपकै शैली दोहोर्याए।
मंगलबार हरितालिका तीज अर्थात महिलाहरूलाई सार्वजनिक बिदाको दिन ५५ भन्दा बढी शो पाउने आश गरेको निर्माण पक्षले शो संख्या घटाइएको भन्दै फिल्मको प्रदर्शन रोक्ने निर्णयमा पुग्यो। दर्शकहरू हलमा गइरहेको अवस्थामा पनि शो नदिएको निर्माता सूवर्ण थापाको भनाइ छ।
अभिनेता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठले हलहरूले शो नदिएको अवस्थामा वैकल्पिक उपाय सोच्नुपर्ने बताए। तर वैकल्पिक उपाय के हो भन्नेबारे उनीहरूले खुलाएनन्। कतै उनीहरूले पनि प्रदीपले झैँ प्रोजेक्टरमा फिल्म देखाउने त भन्न लागेका हैनन्? त्याे उनीहरू नै जानुन्।
भदौ १४, २०७९ मंगलबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।