लोकप्रिय बालगीत 'जमुनीको छोरो’ लेखिएको ३९ वर्षपछि देखिँदै छ फिल्म ‘ऐना झ्यालको पुतली’ मा

लोकप्रिय बालगीत 'जमुनीको छोरो’ लेखिएको ३९ वर्षपछि देखिँदै छ फिल्म ‘ऐना झ्यालको पुतली’ मा

काठमाडौँ :  सदाबहार बालगीत हो 'मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म।' भौगोलिक रूपमा विकट क्षेत्रका बालबालिकाको अवस्था बुझाउन अहिले पनि उत्तिकै सफल छ यो गीत। भदौ २४ मा प्रदर्शन मिति तोकेको फिल्म ‘ऐना झ्यालको पुतली’ ले यही गीतलाई आफ्नो फिल्ममा समावेश गरेको छ।

फिल्म निर्माण टिमले रचनाकार रामबाबु सुवेदीसँग अनुमति लिएर सो गीत फिल्ममा राखेको हो। गीतमा रामेश श्रेष्ठको मिठो सङ्गीत छ। टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले गीतमा आवाज दिएका हुन्।

सुवेदीका अनुसार यो गीत २०४० मा रचना गरिएको हो। ०४२ सालमा रामेश श्रेष्ठले यसको सङ्गीत गरेका थिए। रेडियो नेपाल तथा एफएममा बज्दै आएको यही बालगीतलाई फिल्म निर्माण टिमले फिल्मको ओर्जिनल साउन्ड ट्र्याक(ओएसटी)को रूपमा सार्वजनिक गरेको हो।

 ‘मैले फिल्म पनि हेरेँ। गाउँले परिवेश र शिक्षाको महत्त्वको विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले त ज्यादाभन्दाज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो। अब फिल्ममा आएपछि त्यो झन् धेरैमाझ पुग्छ,’ उनले भने, ‘यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि। हाम्रो उद्देश्य पनि मिल्यो ।’

लेखक तथा निर्देशक सुजित बिडारीले कलेज पढ्दाको समयमा गीत सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा प्रयोग गर्ने निर्णय गरेको बताए।

बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएर पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस पर्दामा उनेको निर्माण टिमले बताएको छ। अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि सङ्घर्षको कथालाई समेटेको बिडारीले बताए।

बिडारीको निर्देशन रहेको फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गरेका हुन्।

फिल्ममा सिरु विष्टबाहेक अधिकांश कलाकारले पहिलो पटक अभिनय गरेका हुन्। फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी लगायतको अभिनय छ।

भदौ १४, २०७९ मंगलबार १८:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।