'गर्भवतीले व्रत बस्नु आमा र भ्रुण दुवैको लागि जोखिम'

'गर्भवतीले व्रत बस्नु आमा र भ्रुण दुवैको लागि जोखिम'

गर्भवतीले निराहार व्रत बस्नु आमा र गर्भमा रहेको भ्रुण दुवैको लागि जोखिम हुन्छ। त्यसैले गर्भवती महिलाले निराहार ब्रत बस्नु हुँदैन।

गर्भवती महिलाले खाएको पोषण गर्भमा रहेको भ्रुणमा जान्छ। भ्रुणमा माइक्रोन्युट्रिएन्ट पोषणतत्व जान नपाउँदा भ्रुणलाई नकारात्मक असर गर्ने जोखिम हुन्छ।

लामो समय निराहार बस्दा आमाको शरीरमा भएको ग्लुकोजको मात्रा सकिन्छ। त्यसपछि शरीरमा भएको ग्लुकोजमा भण्डारण भएको ‘ग्लाइकोजेन’को मात्रा पनि सकिँदै जान्छ।

भण्डारण भएको ग्लाइकोजेनको मात्रा सकिएपछि शरीरको बोसो तथा मांशपेशीमा भएका पोषकतत्व खपत हुन्छ। जसले गर्दा शरीरमा ‘किटोनबडी’ जस्ता तत्व निस्कन्छन्। जुन शरीरको बाइप्रोडक्टका रूपमा उत्पादन हुन्छ। 

किटोनबडी आमाको शरीरबाट भ्रुणमा जान्छ। भ्रुण बाँच्नका लागि ऊर्जा दिए पनि यसको मात्रा बढी भएमा भ्रुणलाई नकारात्मक असर गर्ने जोखिम हुन्छ।

ग्लोकुजको मात्रा सकिएपछि शरीरले बोसो तथा मांशपेसीबाट ऊर्जा निकाल्नुलाई किटोनबडी भनिन्छ।

लामो समय निराहार बसेको खण्डमा रगतमा धेरै किटोनबडी जम्मा हुँदै गएर मिर्गौला लगायत शरीरका अंगमा 'साइडइफेक्ट'को जोखिम हुन्छ। जसले गर्दा आमा र भ्रुण दुवैलाई जोखिम हुन्छ।

त्यसैले गर्भवती व्रत बस्दा खाना (भात), रोटी नखाए पनि फलफूल, जुस, दूध, चिज जस्ता पदार्थ खानुपर्ने हुन्छ। सामान्यतया गर्भवतीले १२ घण्टाभन्दा बढी व्रत बस्दा बढी जोखिम हुन्छ।

कतिपय गर्भवतीमा चिनीरोग (डाइबेटिज) को समस्या हुनसक्छ। कतिपय महिलामा गर्भावस्थाको समय ‘जेष्टेसन डाइबेटिज’ हुनसक्छ। 

गर्भवतीको समयमा हुने चिनीरोगलाई ‘जेष्टेसन डाइबेटिज’ भनिन्छ। 

यस्तो चिनीरोग गर्भवती भएको पाँच महिनापछि देखिनसक्छ। यस किसिमको रोग गर्भावस्थाको समयमा मात्रै देखिन्छ। अन्य समयमा देखिँदैन।

त्यसैले विशेषगरी चिनीरोग भएका गर्भवती महिलाले व्रत बस्दा आमा र गर्भमा रहेको भ्रुणमा बढी जोखिम हुन्छ।

(परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा सहप्रध्यापक, स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. अधिकारीसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

भदौ १४, २०७९ मंगलबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।