बुटवलको दीप बोर्डिङका शिक्षकले घाइते हुनेगरी कुटे विद्यार्थी: १५ दिन आराम गर्नुपर्ने चिकित्सकको सुझाव

बुटवलको दीप बोर्डिङका शिक्षकले घाइते हुनेगरी कुटे विद्यार्थी: १५ दिन आराम गर्नुपर्ने चिकित्सकको सुझाव

बुटवल: बुटवल दीपनगरस्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई घाइते हुनेगरी कुटपिट गरेका छन्। विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईँले विद्यार्थी जेनित रायमाझीलाई कुटेको विद्यार्थीका अभिभावकले बताएका छन्।

तिलोत्तमा वडा नं. ५ घर भएका जेनित कक्षा कोठामा हासेको भन्दै शिक्षकले कुटेको अभिभावक चन्दा रायमाझीले बताइन्। यसअघि पनि आफ्नो छोरामाथि विद्यालयमा शिक्षकले कुटपिट गर्ने गरेको उनले बताइन्।

उनका अनुसार यस पटक पनि शिक्षकबाट कुटपिट भएपछि घटनाबारे बुझ्दा विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले आफूलाई थर्काएको अभिभावक चन्दाले बताइन्। विद्यालयमा शारीरिक यातना दिन नपाइने भए पनि पटक पटक कुटपिटका घटना दोहोरिएको उनको भनाइ छ।

‘हामीले विद्यालयमा विश्वास गरेर आफ्ना नानीबाबुहरूलाई पढ्न पठाउने तर यहाँ शिक्षकले कुटपिट गर्दा विद्यार्थीलाई मनोवैज्ञानिक त्रास बढेको छ। मनोविज्ञानमा गम्भीर असर परेको छ। यसमा विद्यालय प्रशासन र विद्यालयका प्राचार्य गम्भीर बन्नुपर्छ’, उनले भनिन्।

शिक्षकको कुटाइबाट घाइते भएका जेनितलाई अभिभावकले लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालिमा उपचार गराएका थिए। जेनितलाई १५ दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। चिकित्सकका अनुसार कानमा चड्कन हान्दा जेनितको बंगारामा असर पुगेको छ।

विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले भने आफूलाई पनि विद्यार्थीलाई कुटपिट भएको जानाकारी आएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए।

भदौ १४, २०७९ मंगलबार ०८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।