रुपन्देहीकाे झाडीमा नवजात शिशु भेटियाे, आमा खाेज्दै प्रहरी

रुपन्देहीकाे झाडीमा नवजात शिशु भेटियाे, आमा खाेज्दै प्रहरी

बुटवल : रुपन्देहीकाे शुद्दोधन गाउँपालिकास्थित सौ फर्साटिकरमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ।

सौ फर्साटिकर स्थितमोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी,फर्साटिकरले जनाएकाे छ।

सोमबार बिहान करिब ८ बजेको समयमा स्थानीय दुर्गा रानाले झाडिमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्दार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो। शिशुलाई थप उपचारको लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइ पुन: प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ।

बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।हाल शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ।शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरीले जनाएको छ।

भदौ १३, २०७९ सोमबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।