सुरक्षा खतरा बढेको भन्दै त्रिविका उपकुलपतिले मागे छ जना पीएसओ

सुरक्षा खतरा बढेको भन्दै त्रिविका उपकुलपतिले मागे छ जना पीएसओ

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटाले सरकारसँग तीन पदाधिकारीलाई ६ जना निजी सुरक्षा अधिकृत (पीएसओ) को व्यवस्था गरिदिन माग गरेका छन्।

सोमबार गृह मन्त्रालयलाई पत्र लेख्दै उपकुलपति वास्कोटाले पदीय जिम्मेवारीले दैनिक कार्यालय र सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा भौतिक आक्रमण हुने सम्भावना बढेकाले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारलाई दुई–दुई जनालाई निजी सुरक्षा अधिकृत (पीएसओ)को व्यवस्था गरिदिन आग्रह गरेका हुन्।

त्रिविका पदाधिकारी नियमित काममा खट्ने क्रममा विभिन्न विद्यार्थी संघबाट तालाबन्दी गर्ने, उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कुर्सी जलाउने, बारम्बार कार्यकक्ष तोडफोड गर्ने, कर्मचारीहरूलाई मानसिक तनाव दिने, दैनिक फोन गरी धम्क्याउने गरी बारम्बार आक्रमणको प्रयास गरेको उपकुलपतिले लेखेको पत्रमा उल्लेख छ।

वास्कोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा मन्त्रालयलाई समेत यसको जानकारी गराएका छन्।

भदौ १३, २०७९ सोमबार १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।