सातदिन भित्र लिखित जवाफ पेश बालेनलाई सर्वाेच्चकाे आदेश

सातदिन भित्र लिखित जवाफ पेश बालेनलाई सर्वाेच्चकाे आदेश

काठमाडौं : सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’लाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

अधिवक्ता दीपकराज जोशीले दायर गरेको निवदेनमा न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू।’

नर्भिक अस्पतालले सरकारी जग्गा भाडामा लिएर महानगरसँग अनुमति नै नलिई संरचना बनाएको भन्दै उनी सो संरचना हटाउन गएका थिए।

संरचनामा अक्सिजन प्लान्टसहित रहेकाले दुबैपक्षको प्राविधिक बसेर सो संरचना हटाउने सहमति भए पनि नर्भिक महानगरविरुद्ध अदालत गएपछि अल्पकालीन आदेश जारी भएको थियो। तर सो अझै टुङ्गिएको छैन।

आदेश आएकै दिन मेयर बालेनले फेसबुकमा संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार पनि अदालतलाई दिऊँ भन्दै लेखेका थिए।

मानहानीबारे यस अगाडि सर्वोच्चबाट नै अदालतको कामकारबाहीबारे टिप्पणी गरेकै आधारमा मानहानी भएको मान्न नसकिने व्याख्या सहितको फैसला आएको थियो।

भदौ १३, २०७९ सोमबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।