नवलपरासीको लेखाजोखा :  ह्दयशलाई विनोद चौधरीले धक्का दिने जोखिम, कँडेललाई बैजनाथको चुनौती

नवलपरासीको लेखाजोखा :  ह्दयशलाई विनोद चौधरीले धक्का दिने जोखिम, कँडेललाई बैजनाथको चुनौती

बुटवल : ०७० को दोस्रो संविधानसभा निर्वाचन बाहेक ०४८ सालदेखि ०७४ सम्मका सबै निर्वाचनम विजयी भएका हृदयेश त्रिपाठी नवलपरासीका चतुर राजनीतिक खेलाडी हुन्।

०७४ को निर्वाचनमा स्वतन्त्र सांसद भन्दै एमालेको सूर्य चिन्हबाट निर्वाचित भएका उनी अहिले नयाँ दल बनाएर राजनीतिमा सक्रिय छन्। तर, मंसिर ४ मा हुने निर्वाचनमा तालमेलबेगर सांसद हुन भने कठिन देखिन्छ उनलाई। सांसद हुन उनले लिने रणनीतिबारे अहिलेसम्म प्रष्ट भइसकेको छैन।

नवलपरासी पश्चिम क्षेत्र नं १ मा प्रतिस्पर्धामा उत्रँदा उनको टक्कर गठबन्धनका तर्फबाट कांग्रेसबाट विनोद चौधरीसँग हुने देखिन्छ। चौधरीले यसपटक नवलपरासी पश्चिम-१ मा उम्मेदवार बन्न इच्छा देखाएसँगै त्रिपाठी ‘डेन्जर जोन’मा देखिन्छन्।

यसअघि नै चौधरीले पुर्वी नवलपरासीमा उम्मेदवारी दिने चर्चा भए पनि हाल पश्चिमबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा छन्। चौधरी त्रिपाठीका लागि चुनौती हुने देखिन्छन्।

त्रिपाठी ०४८, ०५१, ०५६, ०६४ र ०७४ गरी ५ पटक निर्वाचित भइसकेका छन्। ०७४ को निर्वाचन हुँदा जनता प्रगतिशील पार्टीका अध्यक्ष रहेका त्रिपाठी एमाले र माओवादीको गठबन्धबाट सूर्य चिन्हमा उम्मेदवार बनेका थिए।

निर्वाचन अघिसम्म तत्कालिन राष्ट्रिय जनता पार्टीमा सक्रिय त्रिपाठी निर्वाचनको मुखैमा पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बन्दै कांग्रेस उम्मेदवार देवकरणप्रसाद कलवारलाई ५ हजार १ मतान्तरले पराजित गरे।

त्रिपाठीले ३८ हजार ५ सय ९२ मत ल्याउँदा देवकरणले ३३ हजार ५ सय ९१ मत मात्र ल्याएका थिए। अहिले गठबन्धन समीकरण बदलिएको छ।

एकातिर कांग्रेस र माओवादीसहितको पाँच दलको गठबन्धन बनेको छ भने अर्कोतिर अहिलेसम्म एमाले एक्लै छ। ०७४ मा एमालेको साथ पाएका त्रिपाठीले यस पटक एमालेकै साथ लिन्छन् या नयाँ गठबन्धनतिर जान्छन् या एक्लै उम्मेदवार बन्छन् खुलेको छैन।

त्रिपाठीलाई साथ दिँदा लुम्बिनी प्रदेश सभामा निर्वाचित अजय शाहीले धोका दिएको एमालेको जिल्ला तहका नेताहरूको बुझाइ देखिन्छ। एमालेको सूर्य चिन्हबाट निर्वाचित अजय शाही, शंकर पोखरेल नेतृत्वको सरकारलाई धोका दिँदै गठबन्धनलाई साथ दिएका थिए।

त्यसैले यसपटक त्रिपाठीलाई बोक्न नहुने जिल्ला तहका नेताहरूको मत देखिन्छ। शाही मात्र होइन, त्रिपाठी समेत आफू मन्त्री बन्न बाहेक एमाले अप्ठेरोमा पर्दा उसको पक्षमा खुलेनन्। यसले पनि एमालेका नेताहरू उनीसँग रुष्ट भएको देखिए।

एमालेका जिल्ला तहका नेताहरू अहिले प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीलाई संघीय सांसदको उम्मेदवार बनाउने लबिङमा देखिए। अधिकारी एमाले नवलपरासी पश्चिमका जिल्ला अध्यक्ष समेत हुन्। 

अधिकारीका अलावा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सरिता खनाल र सिन्धु जलेशासमेत संघीय सांसदको उम्मेदवार बन्न आकांक्षी देखिएका छन्।

चौधरी र कलवाल चुनौती 
क्षेत्र नं. १ बाट अर्वपति विनोद चौधरीको चर्चा छ। तर, देवकरणप्रसाद कलवार बलिया दावेदार हुन्। एकथरी कांग्रेसीहरू गठबन्धनबाट चौधरीलाई साझा उम्मेदवार बनाएर जिल्लामा भित्राउने र कलवारलाई समानुपातिक सूचीबाट सांसद बनाउने रणनीतिमा पनि देखिएका छन्। यसो हुँदा चौधरीले प्रत्यक्षतर्फ चुनाव जित्ने अनि कलवार पनि समानुपातिकबाट सांसद बन्ने उनीहरूको विश्लेषण देखिन्छ। 

जनता प्रगतिशील पार्टीका जिल्ला संयोजक राधेरमण पाण्डे १ नम्बर क्षेत्रमा आफ्नो पार्टीको संगठन बलियो रहेको दाबी गर्दै आगामी निर्वाचनमा पनि त्रिपाठी नै निर्वाचित हुने दाबी गर्छन्।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभामा एमालेका दिपेन्द्र अधिकारी र सूर्य चिन्ह लिएका अजय शाही निर्वाचित भएका थिए। अधिकारीले २० हजार ५ सय ६ र शाहीले १९ हजार ३ सय ३३ मत पाएका थिए।

अधिकारीका निकटतम प्रतिस्पर्धी कांग्रेसका विक्रम खनालले १८ हजार ५ सय २ र शाहीको निकटतम प्रतिस्पर्धी कांग्रेसकै मुकुल कुमार आचार्यले १२ हजार ६ सय ३ मत पाएका थिए।

अहिले उक्त निर्वाचन क्षेत्रको प्रदेशसभामा एमालेबाट सुस्ता गाउँपालिकाका पुर्व अध्यक्ष राम प्रसाद पाण्डे, रामु अर्याल, दिपकराज शर्मा, राधिका शर्मा र पुण्य पौडेल आकांक्षी देखिएका छन्।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका बिक्रम खनाल र मुकुल कुमार आचार्यले फेरि पनि आकांक्षा देखाएका छन्। तर, सत्ता गठबन्धनका बीचमा कुन पार्टीले कुन क्षेत्र पाउने सहमति नभएसम्म गठबन्धनका जिल्ला तहमा अन्योल देखिन्छ।

नवलपरासी २ मा कँडेल हावी
नवलपरासीको २ नम्बर क्षेत्रमा भने यसपटक पनि कांग्रेसबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्रराज कँडेल नै दोहोरिने रणनीतिमा देखिएका छन्। उनी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट नेता समेत हुन्। ०७४ को निर्वाचनमा उनी यसै क्षेत्रबाट निर्वाचित भएका थिए। 

यही क्षेत्रबाट कांग्रेसका युवा नेता शंकर तिवारीले समेत उम्मेदवारी घोषणा गरिसकेका छन्। 

कँडेलले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका घनश्याम यादव अहिरलाई १० हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए। कँडेलले ३४ हजार १ सय ३० मत ल्याउँदा अहिरले २३ हजार ८ सय ९८ मत पाएका थिए।

यादव अहिले पनि माओवादी केन्द्रबाट टिकटका दाबेदार छन्। गठबन्धन भए प्रतिनिधि सभातर्फ माओवादीले एक क्षेत्र आफूहरूले पाउनुपर्ने दाबी गरिरहेको छ। तर, गत निर्वाचनको आँकडा र कंडेलले पहिला पनि जितेकाले गठबन्धनबाट यादवले टिकट पाउन सहज भने छैन।

कांग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले क्षेत्र नं. २ मा आउँदो निर्वाचनमा पनि देवेन्द्रराज कँडेल नै उठ्ने सम्भावना बढी रहेको बताए।
एमालेले क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई उम्मेदवारको रूपमा अगाडि सार्ने निश्चित जस्तै छ। लुम्बिनी प्रदेशका पुर्वमन्त्री समेत हुन् चौधरी।

एमाले लुम्बिनी प्रदेशका सह-इन्चार्ज समेत रहेका चौधरी ०७४ सालको निर्वाचनमा क्षेत्र नं. २ (क) बाट विजयी भएका थिए। चौधरीले २० हजार ९ सय ७ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका गुणनिधि तिवारीले १७ हजार १ सय १६ मत पाएका थिए।

क्षेत्र नं. २ (ख) भने कांग्रेसका वैजनाथ कलवार १४ हजार ५ सय १५ मतसहित निर्वाचित भएका थिए। उनको निकटतम प्रतिस्पर्धी राजपाका नगेन्द्र अग्रहरीले १० हजार ४ सय ३६ मत पाएका थिए।

चौधरी एमालेबाट प्रतिनिधि सभामा एकल दावेदार देखिन्छन्। तर, प्रदेशमा भने आकांक्षीको सूची लामो छ। प्रदेशसभाका लागि प्रदेशसभा (क)बाट केशव भण्डारी, थानप्रसाद गैरे, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, दधिराम अर्याल, उपसचिव राजन आचार्य आकांक्षा छन्।

त्यसैगरी प्रदेशसभा (ख)बाट लक्ष्मी क्षेत्री, श्याम कुमार बस्याल र बिरेन्द्र यादव आकांक्षी छन् ।

गत स्थानीय तह निर्वाचनमा जिल्लाका ७ स्थानीय तहमध्ये ३ वटामा कांग्रेस, ३ वटा एमाले र एउटा माओवादी केन्द्रले जितेको थियो। जिल्लामा मधेशवादी दलको पनि प्रभाव छ।

स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा रहेको एमालेले जिल्ला समन्वय समितिमा गठबन्धनकै मत तानेर जित निकालेपछि थप उत्साहित देखिन्छ। 

एमाले जिल्ला उपसचिव राजन आचार्यले आउँदो निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पर्ने निश्चित रहेको दाबी गर्छन्।

भदौ १३, २०७९ सोमबार १५:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।