गगनको कट्टर फ्यान पो निस्किए अभिनेता प्रदीप खड्का

गगनको कट्टर फ्यान पो निस्किए अभिनेता प्रदीप खड्का

काठमाडौँ : पर्दामा प्रकाशको भूमिका निर्वाह गरेर आफ्नो अलग छवि देखाउन सफल अभिनेता प्रदीप खड्काले फिल्म रिलिज भएपछि वास्तविक जीवनमा समेत आफ्नो नौलो र अलग छविहरू देखाउन खटिइरहेका छन्। त्यसको प्रारम्भ उनले वितरकहरुविरुद्ध धावा बोलेर सुरु गरेका थिए।

आफ्नो फिल्मी यात्रा जोखिममा परे परोस् भनेर उनी नेपालमा दह्रो सिन्डिकेट बनाउन सफल फिल्म प्रदर्शकहरूलाई सार्वजनिक मञ्चबाट हाँक दिए उनले। यति मात्रै हैन नेपाली फिल्म उध्योगका टाइकुन हुँ भन्नेहरूलाई पनि छाडेनन्।

एकाएक सोमबार उनको अर्को चरित्र देखियो गगन फ्यान। नेपाली कांग्रेसका महामन्त्री गगन थापा आइतबार फिल्म'प्रकाश' हेर्न हलमै पुगेका थिए। उनले फिल्म अनि अभिनेता प्रकाशको मुक्तकण्ठले प्रशंसा गरेर हिँडेका थिए।

सोमबार गुन तिर्दै उनै प्रदीपले सामाजिक सञ्जाल फेसबुकमार्फत थापाको मुक्तकण्ठले प्रशंसा गर्दै आफूले फिल्ममा बाँचेको पात्र प्रकाशको भोगाई परिवर्तन गर्ने हो भने थापा जत्तिको नेतृत्व चाहिने ठोकुवा गरिदिए।

उनले लेखे' देशले गगनदाई जत्तिको नेतृत्व पाउने हो भने प्रकाशहरूको भोगाइको परिवर्तन हाम्रै पालामा सम्भव छ! अबको नेतृत्वमा गगन दाइलाई देख्न पाइयोस्, हामी सबैलाई शुभकामना!'

अभिनेता प्रदीप युवापुस्तामाझ रुचाइएका कलाकार हुन्। उनको फ्यान फलोइङ राम्रै छ। उनले यसरी आफ्नै आधिकारिक फेसबुक पेजबाटै गगन थापाको प्रशंसा गर्दा त्यसले थापाको राजनीतिक फाइदा हुने त पक्का छ। त्यो पनि मङ्सिर ४ को माहौलमा आएको यो प्रशंसाको लाभ थापाले पाउन सक्छन्।

तर गगनको यो प्रशंसाले प्रदीपको अभिनय रहेको प्रकाश फिल्मको व्यापार अनि उनको अभिनय यात्रामा कतिको फाइदा गर्छ त्यो चैँ उनै जानुन्। किनकि गगन प्रमुख प्रतिपक्षी दल एमालेका साइबर सेनाहरुका लागि सधैँ बिझाउने पात्रका रूपमा देखिएका छन्।

जवजव चुनाव आउँछ सामाजिक सञ्जालमा उनीमाथि प्रश्न बर्सिन्छ' खसी खै' भन्दै। अब यसरी गगनको प्रशंसा गरेको उनीहरूले कसरी पचाउलान् र। साइबर सेना 'प्रकाश' अनि प्रदीपको विरुद्धमा खनिन थाले भने त बिस्तारै बन्दै गरेको फिल्मको व्यापारिक माहौल भड्किन पनि सक्छ।

तर जे होस् प्रदीपले गुनको बदला गुनले भने तिरेकै हुन् जोखिम लिएर भए पनि।

भदौ १३, २०७९ सोमबार १५:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।