पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड ३० लाख मानिस प्रभावित, हजारभन्दा बढीको मृत्यु

पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड ३० लाख मानिस प्रभावित, हजारभन्दा बढीको मृत्यु

एजेन्सी: पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड ३० लाख मानिस प्रभावित भएका छन्। बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ।

गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका वर्षाजन्य घटनामा परी ठूलो धनजनको क्षति भएको छ। बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ। देशको दक्षिणी क्षेत्रमा पर्ने सो प्रान्तमा मात्रै एक करोड ४५ लाख मानिस प्रभावित भएको प्राधिकरणले जनाएको छ।

बाढी पहिरोका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ। सयौँ मानिस बेपत्ता र गम्भीर घाइते भएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने उद्धारकर्ताहरूले जनाएका छन्।

यस वर्षको प्राकृतिक प्रकोप ३० वर्ष यताकै सबैभन्दा बढी घातक देखिएको प्राधिकरणका अधिकारीहरूले जानकारी दिएका छन्। 

त्यसैगरी करिब सात लाख घर क्षतिग्रस्त भएका छन् भने १५० भन्दा बढी पुल भत्किएका छन्। लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरो आएको र ठूलो मानवीय तथा भौतिक क्षति भएकाले राष्ट्रिय सङ्कट घोषणा गरिएको छ।

सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै आफ्ना सबै शक्ति तथा कार्यक्रम प्रभावित क्षेत्र र पीडित जनतामा केन्द्रित गरिने जनाएको छ।

बाढी पहिरो गएका ठाउँमा उद्धार तथा राहतका लागि ठूलो मात्रामा जनशक्ति परिचालन गरिएको छ।

भदौ १३, २०७९ सोमबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।