त्रिविकी भान्से सीता जसले आन्दोलनमा ऊर्जामन्त्री पम्फा भुसाललाई शौचालयमा लुकाएर जोगाइन्

त्रिविकी भान्से सीता जसले आन्दोलनमा ऊर्जामन्त्री पम्फा भुसाललाई शौचालयमा लुकाएर जोगाइन्

'पम्फा भुसाललाई कहाँ मात्र लुकाइएन? कहिले ट्वाइलेट, कहिले भान्सा। उनी आन्दोलन गर्थिन्। अनि प्रहरीहरू उनलाई पक्रन आउँथे। प्रहरीहरू बाहिरी पोशाकमा आए पनि आन्दोलन गर्नेहरूलाई भने अगाडि नै थाहा हुनेरहेछ। प्रहरी भित्र आएपछि हामी चाहिँ छैन भन्दिन्थौँ। हाम्रो काम विद्यार्थीको सुरक्षा गर्नु पनि हो', ४४ वर्षदेखि त्रिभुवन विश्वविद्यालयको गर्ल्स होस्टेलमा भान्से भएर बसिरहेकी सीता घले (तामाङ)ले दङ्ग पर्दै आफ्नो अनुभव सुनाइन्।

होस्टेल स्थापना भएदेखि नै सीता यहाँ  कार्यरत छिन्। अनी राजतन्त्रविरुद्धको विद्यार्थी आन्दोलनमा विद्यार्थीसँगै उनी पनि अप्रत्यक्ष रूपमा जोडिइन्। 

'आन्दोलनमा के मात्र गरेनौँ हामीले। बिक्री भण्डारको खाना ल्याएर, केटीहरूलाई खुवाएर, मैनबत्ती बालेर, "यतै सुत्नू है" भनेर खाटमुनि सुताएर ताल्चा लगाएर हिँड्न पर्थ्यो', सीताले एकै श्वासमा सबै सुनाउन खोजिन्।

'पहिलाको जस्तो छैन। अब विद्यार्थीको चुनाव नै हुनसकेको छैन। नत्र चुनावको बेला त यहाँभित्र पनि केटीहरू हानाहान गर्थे। भात खाने बेलामा थालले हानाहान गर्थे', सीताले सुनाइन्।

छात्राहरूलाई खाना खुवाएपछि आफू पनि "स्याँ स्याँ" गर्दै दौडिने गरेको उनलाई सम्झना छ। उनलाई प्रहरीले लखेटेको पनि थियो।

त्रिविको त्यो बेलाको विद्यार्थी आन्दोलनको राप ताप देखेकी सीता अहिले हुने घटनाहरूलाई राजनीति नै मान्दिनन्।

'छँदै छैन भने पनि हुन्छ। अहिले त म पढ्छु, म पढ्न आएको हो। पढेर बाहिर जान्छु भन्नेहरू धेरै छन्। पहिला त धनीका छोराछोरी पढ्न आउँथे। जमिन्दारको छोराछोरी पढ्न आउँथे। अहिले सबैले पढ्नुपर्छ भन्ने छ। त्यसैले पनि त्यस्तो राजनीति छैन। होस्टेल त अहिले शान्त छ। धेरै शान्त', उनले भनिन्।

होस्टेलको माहोल बदलिए पनि त्रिविको बेथिति र त्यहाँभित्र हुने राजनीतिबारे भने उनलाई त्यति जानकारी छैन।

'पहिलाको जस्तो छैन। अब विद्यार्थीको चुनाव नै हुनसकेको छैन। नत्र चुनावको बेला त यहाँभित्र पनि केटीहरू हानाहान गर्थे। भात खाने बेलामा थालले हानाहान गर्थे', सीताले सुनाइन्।

नत्र विद्यार्थी संगठनको चुनावको बेला रातभरि कोही नसुत्ने उनले देखेकी छिन्। विद्यार्थीहरू रातभर गम पकाएर पम्फ्लेट टाँस्न पुग्थे।

'त्यतिखेर तामाङ भनेपछि हेप्थे रे। अनि कि गुरुङ कि मगर भन्यो भने चाहिँ काम पाइन्थ्यो रे। त्यही भएर हामो बाहरूले घले राख्नुभएको रहेछ', उनले सुनाइन्।

सीताले होस्टेलमा खाना खुवाएकी चर्चित नेतृ पम्फा भुसाल नै हुन्। कत्तिको नाम कत्तिको थर पनि बिर्सिसकिन्। सम्झँदै उनले चित्रलेखा, अम्बिका, उमा अधिकारी, कल्पना लुइँटेलको नाम भने लिइन्। 

'कत्ति थिए कत्ति। अहिलेको केटीहरू राजनीति नै गर्दैनन्', उनले भनिन्।

जागिरको लागि थर नै परिवर्तन
सीता ११ वर्ष हुँदादेखि नै यहाँ कार्यरत छिन्। उनी अहिले होस्टेलको सिनियर भान्से हुन्। उनको आमा पनि यहीँ काम गर्थिन्। 

आमाकै आग्रहमा यहाँ काम गर्न बसेकी हुन् उनी।

'त्यतिबेला जागिर खान सजिलो थियो। आमासँगै यहाँ आउँथेँ म। आमाले एकदिन मेरो छोरीलाई पनि काम लगाइदिनुपर्छ भन्नुभयो। अरूलाई १६८ रुपैयाँ तलब दिँदा मलाई चाहिँ सानो भनेर ८० रुपैयाँ दिइन्थ्यो', उनले भनिन्।

उनी तामाङ भए पनि थर घले लेख्नुको पछाडि यही जागिर जोडिन्छ। तामाङ भन्दा हेप्ने र काम नपाइने भएकाले उनले आफ्नो थर घले लेखिन्। 

'त्यतिखेर तामाङ भनेपछि हेप्थे रे। अनि कि गुरुङ कि मगर भन्यो भने चाहिँ काम पाइन्थ्यो रे। त्यही भएर हामो बाहरूले घले राख्नुभएको रहेछ', उनले सुनाइन्।

सानो भए पनि सीता सबै काम गर्थिन्। दाल र भात पकाउन दुई जना बज्यै हुन्थे उनी चाहिँ तरकारी, अचार, चिया बनाउँथिन्।

सानैमा बुबा बितेकाले उनी आमासँगै काममा जानुपर्यो। उनले पढ्न भने पाइनन्। स्कुल जाने उमेरमा होस्टेल जान थालेकी थिइन्। सानो देखेर सबैले उनैलाई पसल पठाउँथे। त्यसबेला धेरै पसल पनि थिएन। केही किन्न परे बिक्री भण्डार नै पुग्नुपर्थ्यो। 

पसल गएर सामान ल्याउँदा एक सुका, एक मोहोर जति पैसा पाउँदा उनी मख्ख पर्थिन्। दिन यसरी नै बित्थ्यो। होस्टेलमै बस्थिन् तर पढौँ पढौँ चाहिँ लाग्दैन थियो रे उनलाई।

१३ वर्षमा विहे
सीताको विहे १३ वर्षमै भयो।

'मेरो विवाहको त कुरै नगरौँ। १३ वर्षमा यहीँबाट भागेको। विवाह गरेको बेला मेरो महिनावारी पनि भएको थिएन', उनले सुनाइन्।

सीताले आफ्नी आमासँग ४/५ वर्ष काम गरिन्। आमाले नसक्ने भएपछि काम छोडिन्। उनी त्यहिँ बसिरहिन्। ०४६ सालमा उनी स्थायी भइन्। 

'म यहाँ आएर यही ठाउँमा काम गरेर मेरो छोरीले यहीँ नै स्नातकोत्तर गरिन्। अहिले नातिनी नै ६ वर्षकी छिन्।

तर उनलाई ग्लानि के कुरामा छ भने उनले छोरीलाई जागिर खुवाउन सकिनन्। नपढे पनि बरू आफूले जागिर खाइन् तर स्नातकोत्तर गरेकी छोरीलाई जागिर खुवाउन सकिनन् उनले।

पहिला पहिला विद्यार्थीहरू अहिलेको जस्तो एक वर्ष मात्र होस्टेल बस्दैन थिए। स्नातक तहदेखि नै बस्थे। एउटा विद्यार्थी कम्तीमा पनि ९/१० वर्षसम्म बस्थे। एक जना त १६ वर्षसम्म बसेका थिए। उनलाई निकाल्न प्रहरी नै बोलाउनुपरेको सीतालाई सम्झना छ।

सीताको बसाइँ अहिले मच्छेगाउँमा छ। विवाह भएदेखि नै उनी होस्टेलबाहिर बस्न थालेकी हुन्। अहिले बिहान ७ बजेदेखि २ बजेसम्म उनको ड्युटी हुन्छ।

मेसको व्यबस्था हँदा विद्यार्थीलाई सुविधै सुविधा
होस्टेलमा पहिला विद्यार्थीले मेस(भान्सा) चलाउनुपर्दैन थियो। मेस इन्चार्ज भन्ने नै हुन्थ्यो। खाजा, चिया सबै दिइन्थ्यो। 

मेस इन्चार्ज हटाएपछि अहिले पुस्तक भण्डार भएको ठाउँमा खाना खुवाइन्थ्यो। 

चौध/पन्ध्र हजार विद्यार्थीले एक दिनमा त्यहाँ खाना खान्थे। बाहिरको मान्छे पनि खान खान्थे। विद्यार्थीलाई ५ मोहोर र बाहिरकालाई ७ मोहोरमा खाना खुवाइन्थ्यो।

त्यसबेला कीर्तिपुरमा डेरामा बस्नेहरू पनि खाना खान आउने गरेको सीता सुनाउँछिन्। 

महिनामा चार छाक मासु। दुई छाक खसीको र दुई छाक कुखुराको। पोखरेली मसिनो चामल। रहरको दाल हुन्थ्यो। घ्यू टिनका टिन हुन्थ्यो। 

'सरकार (राजतन्त्र) हट्यो अनि मेस पनि हट्यो', उनी भन्छिन्, 'पहिला सबै सुविधा थियो। अहिले केही पनि छैन।'

पहिला पहिला विद्यार्थीहरू अहिलेको जस्तो एक वर्ष मात्र होस्टेल बस्दैन थिए। स्नातक तहदेखि नै बस्थे। एउटा विद्यार्थी कम्तीमा पनि ९/१० वर्षसम्म बस्थे। एक जना त १६ वर्षसम्म बसेका थिए। उनलाई निकाल्न प्रहरी नै बोलाउनुपरेको सीतालाई सम्झना छ।

छात्रावासको अर्को भवन बनेदेखि र सेमेस्टर प्रणाली लागू भएदेखि भने विद्यार्थीहरू धेरै समय बस्न पाउँदैनन्। 

अहिले 'क' र 'ख' ब्लकमा एक वर्ष बसेपछि अर्को भवनमा जानुपर्ने हुन्छ। यहाँ विद्यार्थीहरू एक वर्षमै निस्किएर गए पनि अर्को ब्लकमा भने अझै पनि धेरै बस्ने प्रवृत्ति नहटेको उनले सुनाइन्।

०००
अहिले पनि ६०/६५ जना विद्यार्थीको लागि उनी ५० वर्षअघिको भान्छामा खाना पकाउँछिन्। 

'हाम्रो भान्छा माटोको भान्छा हो। तर, त्यो भूकम्पले पनि चर्किएको छैन। टिकिरहेको छ। बीचमा २/३ पटक रङ्ग चाहिँ लगायौँ। अरू केही गर्न परेको छैन अहिलेसम्म’, उनले आफ्नो कार्यक्षेत्रको यसरी वर्णन गरिन्।

सीताले छिट्टै काम गर्न नागरिकतामा पाँच वर्ष उमेर बढाएकी थिइन्। उनको कार्यकाल अब केही वर्षपछि सकिँदै छ। अवकाशपछि घरमै बस्ने उनको योजना छ।

केही सीप नलागेपछि उनको आमाले फोहोर फाल्ने घारीमा एक टुक्रा जग्गा किनेर घर बनाइदिएको सीताले सुनाइन्। अहिले त्यही दुई आना जग्गामा सीताको घर छ। त्यो पनि बाटोमा पर्छ भन्ने उनले सुनेकी छिन्। त्यो घर पनि हटाउने कुरा भइरहेको छ रे।

उमेर ढल्किँदै जाँदा सीतालाई अहिले सुगर, थाइराइड र प्रेसरको पनि समस्या देखिएको छ।

सीताको आफ्नै पीर
सीताले पढ्न मन नगरे पनि अलि अलि नेपाली अक्षर भने जानेकी छिन्। आफ्नो नाम लेख्न आउँछ उनलाई। आमाले एउटा राम्रो काम लगाइदिएकोमा उनी खुशी छिन्।

अब बुढेसकालमा अलि अलि पेन्सन आउँछ कि भन्ने छ उनलाई।

यति हुँदाहुँदै पनि उनलाई एउटा पीर भने छ। कीर्तिपुरमा जग्गा भएको तर विभिन्न कारणले आफ्नो जग्गाको स्वामित्व गुमाउनु पर्नेमा उनी पनि पर्छिन्।

'हाम्रो बुवाको मात्र ५२ रोपनी जग्गा थियो रे। त्यसमा के के गर्दा ३६ रोपनी मात्र हाम्रो नाममा आएछ। हामी त सानै थियौँ। आमा पनि एक्लै। बोलिदिने मान्छे कोही भएन। अक्षर जानेको पनि छैन। ३५ रोपनीको ३५ हो कि ७५ रुपैयाँ दिएर सबै जग्गा अरूले खाइदिएछ। घरबार नै उठाइदियो नि!', सीताले दुखेको पोखिन्।

पछि केही सीप नलागेपछि उनको आमाले फोहोर फाल्ने घारीमा एक टुक्रा जग्गा किनेर घर बनाइदिएको सीताले सुनाइन्। अहिले त्यही दुई आना जग्गामा सीताको घर छ। त्यो पनि बाटोमा पर्छ भन्ने उनले सुनेकी छिन्। त्यो घर पनि हटाउने कुरा भइरहेको छ रे।

भदौ १३, २०७९ सोमबार १२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।