गाउँपालिका अध्यक्षमाथि साझेदारलाई डेढ करोड नदिन लागु औषधमा फसाएको आरोप

गाउँपालिका अध्यक्षमाथि साझेदारलाई डेढ करोड नदिन लागु औषधमा फसाएको आरोप

बुटवल : नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तामाथि साझेदारलाई लागु औषध मुद्दामा फसाएर मुनाफा एकलौटी गर्न खोजेको आरोप लागेको छ।

व्यापारबाट प्राप्त हुने १ करोड ३३ लाख रुपैयाँ एकलौटी बनाउन आफ्नै साझेदार २ जनालाई उनले फसाएको आरोप लागेको हो। भारतीय नागरिक रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवान लागु औषध मुद्दामा परेका छन्।

तर अन्य राजनीतिक दलका नेताहरूले भने गुप्ताले उनीहरूलाई फसाएको दाबी गरिरहेका छन्। नेपाली कांग्रेस नवलपरासी पश्चिमका कार्यवाहक सभापति विक्रम यादवले अध्यक्ष गुप्ताले कवाड व्यवसायी रामा गुप्ता र जितेन्द्र पासवानलाई योजनाबद्ध रूपमा फसाएको दाबी गर्दै घटनाबारे उच्च स्तरीय छानबिनको माग गरे।  जनता समाजवादी पार्टी नवलपरासी पश्चिमका धरेन्द्र यादवले पनि झुटो मुद्दामा प्रहरीकै मिलेमतो हुन सक्ने दाबी गरे।

भारतीय नागरिकका पक्षमा बोलिदिने कोही नभएको भनेर गाउँपालिका अध्यक्षले निर्दोष व्यक्तिलाई फसाउन खोजेको उनीहरूको दाबी छ।

भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका हुन् रामा गुप्ता। गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाड कारोबारमा साझेदारी गर्दै आएका छन्।

गाउँपालिका अध्यक्ष गुप्ता पनि कवाड व्यवसायी हुन्। पछिल्लो समय उनले रामा गुप्तासँग साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए। पछिल्लो समय भुमहीस्थित बजाज मोटरसाइकल उद्योगबाट उत्पादित कवाड विक्रिका लागि २० लाख धरौटी मागेपछि रकम नभएकाले रामाले गाउँपालिका अध्यक्षसँग २० प्रतिशत नाफा पाउने गरी साझेदारीमा कवाड कारोबार गर्दै आएका थिए। तर व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गुप्ताले रामालाई रकम दिन आलटाल गर्दै आएको उनीहरूको दाबी छ।

१३ करोड नाफा भएपछि नाफाको २० प्रतिशत पाउने सहमति अनुसार रामाले १ करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो। तर उनले पाएनन्।

यही बिच असार २२ गते दुवै जना पक्राउ परे। यसबारे प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी दाङले छुट्टाछुट्टै अनुसन्धान समेत गरिरहेको छ। काठमाडौँबाट प्रहरी उपरीक्षकको कमान्डमा तीन सदस्यीय टोली नवलपरासी पुगेर अनुसन्धान गरेको थियो। तर प्रतिवेदन सार्वजनिक गरिएको छैन।

रामाकी श्रीमती लालसा गुप्ताले प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गरिन।

यसरी पक्राउ परे रामा

असार २२ गते रामालाई एक जनाले कवाड सामान दिने भन्दै बारम्बार फोन गरेका थिए। भन्सार कार्यालयमा कवाडी मोटरसाइकल लिन हिँडेका रामालाई पिपरहियामा बोलाएपछि उनी त्यहाँ पुगेको उनको परिवारको दाबी छ।

उनलाई त्यही फोन गर्ने व्यक्तिले ‘चिया खादै गर्नु म आउँदै छु’ भनेपछि रामा र उनका सहयोगी जितेन्द्र पासवान चिया खान पसलमा छिरे। त्यति बेला कुनै व्यक्तिले उनीहरूको मोटरसाइकल नजिकै झोला छाडेर गएको र त्यसमा लागु औषध भेटिएको थियो।

रामाकी श्रीमती लालसा गुप्ताका अनुसार उनीहरू भन्सार जान भनेर हिँडेकाले झोला नै नबोकेको दाबी गरिन्।

रामाका शाला सञ्जय साहले भिनाजु र पासवानलाई फसाउन गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी रघुनाथ धोबीले लागु औषधको झोला मोटरसाइकल नजिकै राखिदिएको आरोप लगाएका छन्।

‘लागु औषधको कारोबार हुँदै छ भन्ने सूचना गाउँपालिका अध्यक्षबाट आयो। जिम्मेवार पदका व्यक्तिले दिएको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको हो। त्यहाँ पुग्दा मोटरसाइकल नजिकै झोला थियो। त्यही आधारमा दुई जनालाई पक्राउ गरिएको हो’ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका एसपी कृषिराम कँडेलले भने।

प्रहरीलाई मोटरसाइकल नं. सहित लागु औषधको कारोबार हुँदै छ भन्ने सूचना अध्यक्ष गुप्ताले नै दिएको पुष्टि भएको छ। जसको सूचनामा २ जना पक्राउ परेका हुन् उनीहरूबिच लेनदेन रहेको खुलेपछि अहिले प्रहरी अनुसन्धानमा जुटेको छ।

‘जिम्मेवार व्यक्तिले दिएको सूचनामा प्रहरीले विश्वास गर्यौ। तर पछि अनुसन्धान भइरहेपछि यो गाउँपालिका अध्यक्ष र रामा गुप्तासँगको आर्थिक कारोबारको विषय रहेछ भन्ने आइरहेको छ’ एसपीले भने।

पक्राउ परेका दुवै युवक तीन महिनादेखि प्रहरी हिरासतमा छन्। प्रहरीले घटनामा दोषी भनिएका गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी रघुनाथ धोबीलाई समेत पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

‘जसको विषयमा कुरा उठेको छ त्यो व्यक्तिलाई पक्राउ गरी अनुसन्धान जारी छ। यसको यथार्थ केही समयमै बाहिर आउँछ’ एसपी कँडेलले भने।

गुप्ता र पासवान बसेको ठाउँमा २ सय ७० सेट डाइजेपाम र फेनार्गन भेटिएको प्रहरीको भनाई छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलराज उपाध्यायले छानबिन अन्तिम चरणमा पुगेको र दोषी नउम्किने दाबी गरे।

यस बारेमा गाउँपालिका अध्यक्ष बैजु गुप्तासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आउन चाहेनन्।

भदौ १२, २०७९ आइतबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।