एमाले निर्वाचन परिचालन सचिवालयमा परशुराम बस्नेत अटाउँदा अटाएनन् गोकुल र महेश

काठमाडौँ : एमालेले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले निर्वाचन परिचालन सचिवालय गठन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको समितिको बैठकले सचिवालय गठन गरेको हो।
सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारी, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सात वटा जनसङ्गठनका अध्यक्षहरू रहेका छन्।
सचिवालयको संयोजक पार्टी अध्यक्ष ओली छन्। सदस्यमा ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट रहेका छन्।
यसैगरी, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल, थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनिता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीराम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे समेत सदस्य रहेका छन्।
सचिवालयमा परशुराम अटाउँदा महेश बस्नेत र गोकुल बास्कोटा भने अटाएनन्। पार्टीमा परशुराम र महेशबिच प्रतिस्पर्धा देखिँदै आएको थियो। कुनै समय निकट रहेका यी दुबैबिच अहिले बोलचाल समेत बन्द छ।
बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवको जिम्मेवारी उपमहासचिव विष्णु रिमाललाई दिएको छ।
बैठकले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी निर्वाचनमा परिचालित हुने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
भदौ १२, २०७९ आइतबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।