कर्णालीमा माओवादीको नयाँ रेकर्ड, सांसद जति सबै मन्त्री

कर्णालीमा माओवादीको नयाँ रेकर्ड, सांसद जति सबै मन्त्री

सुर्खेत : सरकारले मङ्सिर ४ मा प्रदेश र केन्द्रको संसदीय निर्वाचन गर्ने घोषणा गरिसकेको छ। तर माओवादी केन्द्र भने कर्णाली प्रदेशमा रहेका आफ्ना मन्त्री बदल्न लागेको छ।

सरकारमा सहभागी २ मन्त्रीलाई राजीनामा गराउन लगाउँदै माओवादीले नयाँ २ जनालाई मन्त्री बनाउने तयारी गरेको छ। पार्टीको निर्देशनपछि आइतबार आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजीनामा बुझाइसकेका छन्।

माओवादी संसदीय दलको बैठकले विष्ट र सिंहलाई फिर्ता बोलाएर रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ। त्यही निर्णय अनुसार दुवै मन्त्रीले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन्।

कामी र आचार्य मन्त्रीमा नियुक्त भएपछि कर्णालीमा माओवादीका तर्फका ११ जना प्रदेश सांसदमध्ये सबै मन्त्री बनेको रेकर्ड बन्ने छ। प्रदेश सभामा माओवादीबाट ११ सांसद रहेकोमा उपसभामुखमा पुष्ण घर्ती मगर छिन्। आठ जना मन्त्री भइसकेका छन्। माओवादीले सांसद मात्रै हैन विवाद हुँदा पनि गैर सांसद कार्चेन लामालाई मन्त्री बनायो।

भदौ १२, २०७९ आइतबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।