दिनेश डिसीले फिल्म प्रकाशलाई साथ दिएका कि मालिकको सोझो गरेका !

दिनेश डिसीले फिल्म प्रकाशलाई साथ दिएका कि मालिकको सोझो गरेका !

काठमाडौँ : फिल्म 'प्रकाश' रिलिज भएपछि अभिनेता प्रदीप खड्का सार्वजनिक कार्यक्रममै आक्रोशित भए। आक्रोशको कारण थियो वितरकहरूले पर्याप्त शो नदिनु। उनले पत्रकार सम्मेलन गरेकै प्रदर्शकमाथि मात्रै हैन फिल्म क्षेत्रमा संलग्नहरूमाथि समेत कटाक्ष गरेका थिए।

निर्देशकको कमजोरीका कारण फिल्म प्रचार गरिएजस्तो उदाहरणीय नबने पनि अभिनेता प्रदीपले भने आफ्नो अभिनयको छवि सुधार्न भने सक्दो प्रयास गरेकै छन्। त्यसले पनि उनको चित्त दुखाएको हुनुपर्छ। नत्र फिल्म प्रमोसनसम्म जिम्मा हुने भए पनि उनी निर्माता र निर्देशकलाई नै उछिनेर यसरी आफ्नै करिअरमा नकारात्मक प्रभाव पर्न सक्ने जोखिम लिएर फ्रन्टलाइनमा किन उत्रिन्थे र!

उनी मात्रै हैन फिल्म प्रकाशको पक्षमा अर्का कलाकार तथा फिल्म निर्देशक दिनेश डिसी पनि प्रिमियमदेखि नै सक्रिय छन्। उनले फिल्म प्रमोसनका लागि मिडियामा बाइट दिने मात्रै हैन प्रकाशबारे आएका सकारात्मक समाचार समेत आफ्नो सामाजिक सञ्जालबाट शेयर गरिरहेका छन्।

तर त्यसले केही विवाद पनि निम्त्यो। तर उनी पछि हटेका छैनन्। उल्टै प्रतिवाद गरिरहेका छन्।

फेसबुकमा उनले फिल्म प्रकाशको सोहरू हाउसफुल भएको भनेर लेखिएको समाचार शेयर गरेपछि त्यसमा उनका चेला तथा फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले प्रतिक्रिया दिए।

उनको प्रतिक्रिया डिसीबारे थिएन। समाचारबारे थियो। तर त्यही प्रतिक्रियाले किन हो डिसीलाई भने झोक चलेछ।

डिसीले शेयर गरेको समाचारको लिङ्कको तल दीपकले प्रतिक्रिया लेखे' बढो राम्रो लेखाई। हरेक फिल्मलाई यस्तै सपोर्ट गर्ने राम्रो बानी बसोस् हाम्रो।'

उनले समाचारको लेखाइबारे प्रतिक्रिया दिएका हुन्। दीपकको छक्कापञ्जा सिरिजले हलमा राम्रो व्यापार गरे पनि मिडिया अझैँ समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाउने गरेका छैनन्। अहिले उनको टिम छक्कापञ्जा ४ को सुटिङमा व्यस्त छ। सायद उनले आफ्नो फिल्मलाई पनि यस्तै समर्थन पाए हुने भन्ने आशय जनाए।

तर खै किन हो डिसीलाई उनको प्रतिक्रियाले उनलाई नै छेड हाने जस्तो लागेछ कि!  अनि उनले गिरीको प्रतिक्रियामाथि प्रतिक्रिया लेखे' डन्ट यु डेयर टु टच मि।'

अनि दीपकको आलोचनामा थप प्रतिक्रियाहरू आए त्यसैमा। जसमा गुरुलाई चेलाले सिकाउने भन्ने पाराको कमेन्ट छन्।

यसको अर्को पाटो पनि छ। फिल्म प्रकाशको डिजिटल राइट्स किनेको छ डिएआर मुभिज् प्रालीले। अनि यसका लगानीकर्ता र डिसीले काम सुरु गरेको टेलिभिजन एनएनटिभीका लगानीकर्ता पनि एकै हुन्।

यदि हलमा फिल्म प्रकाशले राम्रो व्यापार नगरे त्यसको प्रभाव डिजिटलमा पर्ने नै भयो। कतै त्यसैका लागि डिसी मार्केटिङमा उत्रिएका त हैनन् भन्ने शङ्का उठ्नु स्वाभाविकै हो।

उनले नेपाली फिल्मको चिन्ता गरेका हुन् कि लगानीकर्ताको त्यो त उनी नै जानुन्। तर उनले जसरी गिरीको प्रतिक्रियाको प्रतिवाद गरेको देखियो उसले कतै न कतै चस्स बनाएको भने देखियो।

भदौ १२, २०७९ आइतबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।