त्रिभुवन विश्वविद्यालयद्वारा सरकारसँग शान्ति सुरक्षा माग

त्रिभुवन विश्वविद्यालयद्वारा सरकारसँग शान्ति सुरक्षा माग

काठमाडौं: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ। त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोड गर्ने जस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो।

विज्ञप्तिमा नेपाल विद्यार्थी सङ्घ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक काम–कारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध सिर्जना गर्ने गरेको आरोप छ।

पदाधिकारीको कार्यकक्षमा प्रवेश गर्ने तथा तोडफोड गरिँदा असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गरेको उल्लेख छ।

“केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा गरिएको तालाबन्दी र काम गर्न गरिएको अवरोधको कारणले विश्वविद्यालयका दैनिक काम–कारबाही रोकिएका छन्”, विज्ञप्तिमा भनिएको छ, “यसरी विश्वविद्यालयलाई बन्धक बनाउने गरी तालाबन्दी गर्ने समूहको खोजी गरी त्यस्ता व्यक्तिलाई आवश्यक कारबाही गर्नुको अतिरिक्त त्रिवि केन्द्रीय कार्यालयमा शान्ति सुरक्षा गर्न भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गरिदिन गृह मन्त्रालयसमक्ष विश्वविद्यालय अपिल गर्दछ।”

प्रत्येक नागरिक तथा व्यक्तिको सम्मानपूर्वक बाँच्ने, पेशा वा रोजगार गर्न पाउने संविधान तथा कानुनले प्रत्याभूत गरेको संवैधानिक तथा कानूनी हकको विपरीत हुनेगरी कानून आफ्नो हातमा लिई पदाधिकारीको कार्यकक्षमा जबर्जस्ती प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड गर्ने, सो समयमा सुरक्षाकर्मी मुकदर्शक भएर हेरिरहने, पदाधिकारीलाई कार्यकक्षमा प्रवेश गर्न निषेध गर्ने, पदाधिकारी तथा कर्मचारीप्रति दुर्व्यवहार गर्ने कार्यले त्रिविको नियमित काम प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ।

भदौ १२, २०७९ आइतबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।