पत्रकारलाई उपमेयर डङ्गोलको अपिल: अनुमानका भरमा समाचार सम्प्रेषण नगर्नू, अनधिकृत संरचना हटाउने अभियानमा समर्थन छ

पत्रकारलाई उपमेयर डङ्गोलको अपिल: अनुमानका भरमा समाचार सम्प्रेषण नगर्नू, अनधिकृत संरचना हटाउने अभियानमा समर्थन छ

काठमाडौं: काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न पत्रकारहरूलाई अपिल गरेकी छिन्। काठमाडौं महानगरको अनधिकृत संरचना भत्काउने अभियानमा आफ्नो पनि साथ रहेको भन्दै उनले आक्षेप लगाउनेगरी समाचार नलेख्न अपिल गरेकी हुन्।

केही 'क्लिक बेट' अनलाइन सञ्चारमाध्यममा उपमेयर डङ्गोल अन्य काममा मेयर बालेन शाहसँगै देखिने गरे पनि संरचना भत्काउने बेला नदेखिएको भन्दै महानगरको कदमको विरोधमा रहेको आशयका समाचार सम्प्रेषण भएको थियो। यस्तै सामाजिक सञ्जालमा समेत उपमेयरको खोजी भएपछि उनले आज फेसबुकमार्फत यस्तो अपिल जारी गरेकी हुन्।

डङ्गोलले भनेकी छिन्, 'सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृति गर्दा भुईँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ। त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरपालिकाको हो। म काठमाडौं महानगरपालिकाको उपमेयरको हैसियतमा छु। त्यसैले कानून कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु।'

डङ्गोलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो अजेण्डाप्रति सजग र सचेत रहेको पनि बताइन्। यद्यपि, केही दिनदेखि केही सञ्चारमाध्यममा महानगरको पछिल्लो अभियानसँग आफूलाई जोडेर आम महानगरबासीमा समेत भ्रम सिर्जना गर्नेगरी समाचार सम्प्रेषण भएकोप्रति उनले ध्यानाकर्षण भएको बताएकी छिन्।

'पत्रकारिता क्षेत्रलाई राष्ट्रको चौथो अंगका रूपमा लिइने गरिएको छ। पत्रकारिता क्षेत्रमै निरन्तर लागिरहनु भएका पत्रकार मित्रहरूलाई पत्रकारिताका तीन सिद्धान्त सत्यता, सन्तुलन र विश्वसनीयताका बारेमा मैले यहाँ व्याख्या गरिरहनु पर्ने आवश्यकता ठानेको छैन। यद्यपि, पत्रकारिताको धर्म र मर्मलाई समेत सामान्य हेक्का नराखी वा मसँग जोडिएका समाचारमा मेरो कुनै प्रतिक्रिया नै समावेश नगरी एकपक्षीय र अनुमानका भरमा समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यले पत्रकारिताप्रतिको विश्वसनीयता नै कमजोर हुनेप्रति ख्याल राखिदिनुहुन अनुरोध गर्दछु', डङ्गोलले भनेकी छिन्।

यस्तो छ उनको स्टेटस

भदौ १२, २०७९ आइतबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।