बलिउड डेब्युको नाममा फिल्म 'लाइगर'मा झण्डै फसेका थिए महेश बाबु

बलिउड डेब्युको नाममा फिल्म 'लाइगर'मा झण्डै फसेका थिए महेश बाबु

एजेन्सी: दक्षिण भारतीय सुपरस्टार हुन् महेश बाबु। तर यो सुपरस्टार झण्डै-झण्डै बलिउड डेब्यु गर्ने नाममा फसेका थिए।

उनलाई फसाउन सक्ने कारण थियो- फिल्म 'लाइगर'। किनकि यो फिल्म सुरुमा महेश बाबुलाई अफर गरिएको थियो।

लाइगरका निर्देशक पुरी जगन्नाथले यसअघि नै महेश बाबुसँग दुईटा फिल्म- पोकिरी र विजनेस म्यान बनाइसकेका थिए। यी दुवै आफ्नो समयको ब्लकबस्टर फिल्म पनि हुन्। त्यसैले पुरी जगन्नाथले लाइगरको प्रस्ताव बोकेर महेश बाबुलाई भेटेका थिए।

यो सन् २०१६ को कुरा हो। तर महेश बाबुले केही क्रिएटिभ कारण देखाउँदै फिल्म अस्वीकार गरे।

यो मात्र कहाँ हो र, पुरीले 'जन गण मन' नामको अर्को फिल्म पनि प्रस्ताव गरेका थिए। महेशले त्यो पनि अस्वीकार गरे। अनि यी दुवै फिल्म अभिनेता विजय देवरकोण्डाको पोल्टामा गयो।

अहिले लाइगरको क्रिटिक्स रिभ्यू र दर्शकको रिभ्यू हेर्ने हो भने त्यतिबेला महेशले सोचेरै निर्णय गरेको देखिन्छ। किनकि न त फिल्म मनोरञ्जनात्मक नै छ, न त कलात्मक।

लाइगर प्यान इण्डियन फिल्म हो। अर्थात् हिन्दीसहित बहुभाषामा एकसाथ प्रदर्शन गरिएको फिल्म। यसै कारण यो दक्षिण भारतीय मात्र नभएर बलिउड फिल्म पनि हो।

महेश बाबु मात्र दक्षिण भारतीय कलाकार। उनले यस प्यान इण्डिन फिल्ममा काम गरेका भए, उनी बलिउड कलाकारको रूपमा छाउन सक्थे। तर बलिउड डेब्युको नाममा उनले जस्तो पाए त्यस्तो फिल्म नखेल्ने जुन निर्णय गरे, त्यसले उनको कद झन् उँचो बनाएको छ।

यता नायक विजय देवरकोण्डा आशावादी थिए- बलिउड डेब्यु फिल्मले चौतर्फी चर्चा हुन्छ भनेर। यसअघि गीता गविन्दम, वर्ल्ड फेमस लभर र डियर कमरेडमार्फत उनले फ्यान बटुलिसकेका थिए। बस् कमी थियो त बलिउड कलाकारको 'ट्याग'।

तर उनले सोचेजस्तो भएन। फिल्म फ्लप सावित भइसक्यो। भारतीय फिल्म समीक्षक केआरकेको भनाइलाई आधार मान्ने हो भने यसले ५० करोडभन्दा बढीको घाटा व्यहोर्ने छ।

भदौ ११, २०७९ शनिबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।