सेवाग्राहीलाई सबै सेवा एकै ठाउँमा दिन पोखरा महानगरमा एकद्धार प्रणाली

सेवाग्राहीलाई सबै सेवा एकै ठाउँमा दिन पोखरा महानगरमा एकद्धार प्रणाली

पोखरा : महानगरपालिकाको सेवा एकीकृत गर्न पोखरा महानगरपालिकाले एकद्धार प्रणाली सुरु गरेको छ। महानगरले दैनिक  काम सहज गर्न शुक्रवारदेखि एकद्धार प्रणाली सुरु गरेको हो।

महानगर प्रमुख धनराज आचार्यले काउन्टरको उद्घाटन गरेका थिए। महानगरले प्रदान गर्ने सेवामा नागरिकले सास्ती खेप्न नपरोस् भनेर एकद्धार प्रणाली लागू गरिएको आचार्यले बताएका थिए। सेवा प्रवाह सहज, छिटो छरितो, पारदर्शी र नागरिकमैत्री हुने आचार्यले दाबी गरे।

सेवाग्राहीलाई आफ्नो फाइल बोकेर कोठा–कोठा चाहर्दा असहज भएकाले सहज र छिटो काम होस् भनेर एकद्धार प्रणाली सुरु गरिएको मेयर आचार्यले बताए।

‘धेरै वर्ष अगाडि बनेको अफिस जीर्ण पनि भएको छ। सेवाग्राही फाइल बोकेर कोठा चाहर्दा काम सम्पादनमा गाह्रो भयो। सेवाग्रहीला पनि सास्ती। त्यसैले काम चुस्त होस् भनेर एकद्वार प्रणाली सुरु गरेका छौँ’ उनले भने।

मेयर आचार्यका अनुसार महानगरको भित्री कोठाका सबै शाखालाई बाहिर सारिएको छ। त्यहाँ महाशाखा, शाखा प्रमुखसँगै कर्मचारी पनि हुने छन्। उनीहरूले सेवाग्राहीको कागजात हेरेर प्रक्रियामा पठाउने छन्। सेवाग्राही अब विभिन्न शाखामा जानुपर्ने छैन। सम्बन्धित काउन्टरमा फाइल बुझाएपछि कर्मचारीले उक्त फाइलको प्रक्रिया पुरा गरेर सेवाग्राहीलाई फिर्ता दिने छन्।

महानगरको प्राङ्गणको ट्रस्टमा ११ वटा काउन्टर बनाइएको छ। त्यहाँ निर्माण गरिएका काउन्टरमध्ये १ मा मेयरसँग सम्बन्धित काम, २ र ३ मा बैङ्किङ काउन्टर, ३ मा उपप्रमुख, उनको सचिवालय र न्याय, ५ मा प्रशासन, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, विपद् र वातावरण राखिएको छ।

यसैगरी ६ मा पूर्वाधार महाशाखा, ७ मा वित्त व्यवस्थापन र लेखा, ८ मा पञ्जीकरण, वडा सहजीकरण, अभिलेख र सहकारी, ९ मा घर–नक्सा, १० र ११ मा राजस्व शाखाको काम हुनेछ।

सेवा प्रवाहमा जटिलता आए प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका कर्मचारीले सहजीकरण गर्ने छन्।

महानगरले थालेको एकद्धार प्रणालीले सेवाग्राहीहरूलाई सेवा लिन कुनै प्रकारको झन्झट नहुने मेयर आचार्यले बताए। विगतको दिनमा सेवाग्राहीले जे-जस्तो झमेला बेहोर्नु परेको भए पनि आगामी दिनमा भने सहज रूपमा सेवा प्रदान गरिने उनले बताए।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २५ का वडाध्यक्ष मोतीराज तिम्सिनाले महानगरमा सुरु गरिएको एकद्धार प्रणालीले सेवाग्राहीहरूले भोग्नु परेको समस्या समाधान हुने विश्वास व्यक्त गरे।
महानगर प्रमुखसँग प्रत्यक्ष भेट्न अफिसमा भएको समयमा २ देखी ३ बजेसम्म मेयरसँग भेट्ने समय तोकिएको छ। जनताको गुनासो सुन्नका लागि महानगरमा हेल्लो मेयर कक्ष पनि स्थापना गरिएको छ।

त्यसका लागि टोल फ्री नम्बर ११८१ मा फोन गरी समस्या र गुनासो टिपोट गर्न सकिने महानगरले टिपाएका गुनासोलाई सम्बन्धित शाखाबाट जवाफ दिइने प्रमुख आचार्यले बताए।

भदौ १०, २०७९ शुक्रबार २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।