बहुमतको लागी ओलीको ७ रणनीति : आलोचना, आत्मालोचना र अन्तर्घातमा कारबाही

बहुमतको लागी ओलीको ७ रणनीति : आलोचना, आत्मालोचना र अन्तर्घातमा कारबाही
तस्बिर : विष्णु रिजालको ट्विटरबाट

काठमाडौँ : स्थानीय तहको निर्वाचन भएका चार महिना हुनै लाग्दा एमालेले केन्द्रीय समिति बैठकले चुनावी रणनीति बनाउन समीक्षा गरिरहेको छ। शुक्रवार र शनिवार चल्ने केन्द्रीय समिति बैठकमा मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको रणनीति पनि तय गर्ने तयारी छ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले ७ वटा चुनावी रणनीति अघि सारेका छन्। बहुमतको लागि १६ प्रतिशत मत अपुग रहेको र त्यो मत तान्ने रणनीति ओलीले बैठकमा पेस गरेका छन्।

उनले प्रतिवेदनमा उल्लेख गरेका रणनीतिहरू :

क) निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने,

ख) प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने,

ग) निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूचि (चेक लिस्ट) बनाएर विगतको कमीलाई नदोहोर्याउने सुनिश्चित गर्ने।

घ) स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको समीक्षा गर्ने।

ङ) पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने। यसका लागि स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना, आत्मालोचना र अन्य विधिहरूमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने।

च) पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन असमझदारी हो, कुन असहयोग हो र कुन अन्तर्घात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने। असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तर्घातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने।

छ) आपसी अन्तर्विरोधका कारण कारबाहीको दायरा अनावश्यक रूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने। प्रमाणित र पुष्टि भएका अन्तर्घातका सीमित घटनामा विधि पुर्याएर बिना मोलाहिजा कारबाही गर्ने।

भदौ १०, २०७९ शुक्रबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।