रिलिज भए 'प्रकाश' र 'राधा', तर मल्टिप्लेक्समा मुस्किलले पाए शो टाइम
काठमाडौं: आज शुक्रबार नेपाली सिनेमा हलहरूमा दुई नेपाली फिल्म लागेका छन्- 'प्रकाश' र 'राधा'। ट्रेलर सार्वजनिक भएदेखि नै यी दुवै फिल्म प्रतीक्षित फिल्म बनेका थिए।
दिनेश राउत निर्देशित दुई घण्टा १० मिनेट लामो फिल्म 'प्रकाश' दुर्गम भेगको एउटा शिक्षित युवाको कथा हो। जुम्लाका 'प्रकाश'ले आफ्नो गाउँको सार्वजनिक विद्यालमा शिक्षक बनेर शिक्षाको प्रकाश छर्न गरेको संघर्षको कथा फिल्ममा छ।
फिल्ममा प्रदीप खड्का, दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, अमजद प्रवेज लगायतको अभिनय छ।
यस फिल्मलाई अभिनेता प्रदीपले आफू हिरोबाट कलाकारमा रूपान्तरण भएको फिल्मको रूपमा व्याख्या गरेसँगै प्रदीपको अभिनय हेर्नकै लागि भए पनि एक पटक सिनेमा हलसम्म पुग्नुपर्ने फिल्म हो यो।
यस्तै आजै अर्को फिल्म 'राधा' पनि रिलिज भएको छ। सुवर्ण थापा निर्देशित फिल्म राधा सोसियल ड्रामा विधामा बनेको हो। फिल्मको पूरा नाम 'द सिक्रेट्स अफ राधा' हो।
अर्थात् फिल्मले राधाको भूमिकामा देखिएकी सृष्टि श्रेष्ठको जीवनको रहस्यका पाना पल्टाउँदै जान्छ। फिल्मको ट्रेलरले चाहिँ सृष्टिका श्रीमान् सम्पर्कविहीन भएको र श्रीमान्को प्रतीक्षा र अभावमा एउटी नारीले भोगेको दु:खको कथा भनेको छ।
यसमा कलाकारहरू सौगात मल्ल, सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई आदि छन्।
ट्रेलर राम्रो बनेकाले राधा पनि एक पटक हेर्नैपर्ने फिल्म हो।
तर प्यान इण्डियन फिल्म 'लाइगर'का कारण यी दुवै प्रतीक्षित भनिएका फिल्मले मल्टिप्लेक्समा त्यति शो पाएका छैनन्। 'क्यूएफएक्स' र 'वान सिनेमाज्' जस्तो चेनले पनि लाइगरलाई प्राथमिकता दिएको छ।
भदौ १०, २०७९ शुक्रबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।