विपिनविरुद्ध प्रसाद-२ को निर्माता किन गए निर्माता सङ्घ ?

विपिनविरुद्ध प्रसाद-२ को निर्माता किन गए निर्माता सङ्घ ?

काठमाडौँ : लगानी रकम जुटाउन नसकेर फ्लोरबाट फिर्ता भएको फिल्म प्रसाद २ का निर्माता सुवास थापा उल्टो अभिनेता विपिन कार्कीविरुद्ध  चलचित्र निर्माता सङ्घमा उजुरी लिएर पुगेका छन्।

विपिन सुटिङ स्थलबाट फिर्ता भएकाले सुटिङ रोकिदा फिल्म नै रोकिएको भन्दै थापाले क्षतिपूर्ति भराइदिन माग गर्दै विहिवार उजुरी दिएका हुन्।

कास्कीमा ‘प्रसाद २’ को छायाङ्कन सुरु भएकै दिन विपिनले सेट छाडेर हिँडेको उजुरीमा दाबी छ। स्रोतका अनुसार थापाले फिल्म सुटिङका लागि आवश्यक पैसा निकाल्न नसकेपछि फिल्डमा गएको टिम फर्किएको थियो।

थापाले फिल्ममा लगानीकर्ताको रूपमा केशव पाण्डेलाई संलग्न गराएका थिए। उनले पाण्डेसँग ६० लाख बढी पैसा लिए पनि कलाकारहरूलाई समेत पूरा भुक्तानी नगरेको अनि आफ्नो भागमा परेको पैसा लगानी गर्न नसकेपछि टिम फिर्ता भएको थियो।

टिम फिर्ता भएपछि दुबैपक्षविच पटक-पटक छलफल भए पनि सहमति भएको छैन। पाण्डेले आफ्नो लगानी फिर्ता वा फिल्मको सबै जिम्मा दिन माग गरे पनि थापाले सहमति गर्न सकेनन्। पाण्डे कानुनी प्रक्रियामा जाने तयारीमा लागेपछि थापा विपिनलाई दोष दिँदै निर्माता सङ्घ गएका हुन्।

भदौ १०, २०७९ शुक्रबार ००:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।