महेश बस्नेतकाे पोस्टमा बालेनको कमेन्ट– ‘हजुरको घरको नक्सा पास छ कि छैन ?’

महेश बस्नेतकाे पोस्टमा बालेनको कमेन्ट– ‘हजुरको घरको नक्सा पास छ कि छैन ?’

काठमाडौं : पार्टीनिकट व्यवसायी द्विराज शर्मा शिवाकोटीको बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि एमाले नेता महेश बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन)माथि टिप्पणी गरेका छन्।

बिहीबार शिवाकोटीको कम्प्लेक्समा डोजर चलाएपछि बेलुकी महेश बस्नेतले उनको नियतमा शंका गरे। एमाले निकट नेताहरूसँग फोटो देखेर मेयर शाहले कम्प्लेक्समा डोजर चलाएको हो भने सबै मिलेर सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने चेतावनी उनले दिए।

उनले लेखेका छन्, ‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समा डोजर किन लगाएको? १. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर? २.हामीसँग नजिक भएर या फोटो लिएको कारण?, पहिलो कारण हो भने जायज होला, नाजायज भए पनि सम्बन्धित पीडितहरूले कानूनी उपचार खोज्लान् नै। तर दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुनेछौं।’

उनको यहि पोस्टमा कमेन्ट गर्दै महानगर प्रमुख शाहले नक्सा पास अनुसार घर निर्माण नगरेकै काण भत्काइएको बताए। आफूसँग पनि शिवाकोटीले फोटो खिचेको भन्दै उनले नियम कानून पालना सबैले गर्नुपर्ने स्पष्ट पारे।

तस्वीरसहित कमेन्ट गरेका उनले अन्तिममा बस्नेतलाई नक्सा पास छ कि छैन भनेर सोध्न पनि भ्याए। उनले लेखे, ‘फोटो त मसँग पनि खिच्नुभाको छ, पहिलो कारण नै हो। नियम कानूनको पालना सबैले गर्नुपर्छ कमरेड! बरु हजुरको घरको नक्सा पास छ कि छैन?’

बालेन शाह तीन दिनदेखि नक्सापास नगरी बनाइएका अवैध संरचना भत्काउने अभियानमा छन्। उनले पहिला अनुगमन गर्ने र हटाउन आग्रह गर्ने तथा नमाने अवैधानिक संरचना भत्काउने गर्दै आएका छन्।

भदौ ९, २०७९ बिहीबार २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।