माइकल डी चन्दको हिजोका कुरा : रेडियोका महाप्रबन्धकले देखाउँदै भने ‘रेडियोको अबको स्टार, कुनै हालतमा गुमाउनु हुँदैन’
सन् १९७२ मा तत्कालीन युगोस्लोभियाका राष्ट्रपति मार्सल युसेफ ग्रोस टिटो अनि म्याडम टिटो राजा वीरेन्द्र शाहको निमन्त्रणामा नेपाल भ्रमणमा आए। उ बेला कुनै मुलुकका राष्ट्रप्रमुख एवम् राष्ट्र प्रतिनिधि नेपाल भ्रमणमा आउँदा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने प्रचलन थियो। त्यो बेला तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले कार्यक्रम आयोजनाको जिम्मा लियो।
कार्यक्रम नेपाली भाषामा चलाएर त भएन। अनि सुरु भयो अङ्ग्रेजी बोल्न सक्ने व्यक्तिको। माइकल डी चन्द ठकुरी त्यो बेला राष्ट्रिय नाचघरमै थिए। सत्यमोहन जोशीले उनको नाम सिफारिस गरे कार्यक्रम सञ्चालकमा। उनले खुला स्टेजमा कार्यक्रम सञ्चालन गर्नुपर्ने भयो।
कार्यक्रममा राजा, राष्ट्राध्यक्ष, अन्य मुलुकका राष्ट्र प्रमुख, विभिन्न मुलुकका राजदूत लगायत सहभागी थिए। उनीहरूका अगाडि कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि उनी हच्किएनन्। उनले मजाले कार्यक्रम सञ्चालन गरे। कार्यक्रम सकिएपछि चन्दको हातमा एउटा कागजको टुक्रापर्यो, जसमा लेखिएको थियो, ‘प्लिज सी मि एट रेडियो नेपाल टुमरो एट १० ए एम।’ चिट दिने व्यक्तिको नाम र परिचय थियो' रामराज पौड्याल, महाप्रबन्धक रेडियो नेपाल।'
त्यही चिटले नेपालमा अङ्ग्रेजी समाचार वाचनको आइकनको जन्म गरायो' हरिस चन्द'। अङ्ग्रेजी समाचारको अन्त्यमा उनले' द न्युज रेडबाई हरिस चन्द' भनेर आफ्नो न्वारनको नाम जोगाउन भरमग्दुर प्रयास गरे पनि उनका फ्यानहरूमाझ उनको परिचय माइकल चन्द नै रह्यो।
OOO
२००६ मा सुदूरपश्चिम बैतडीको मेलतडीमा जन्मिएका थिए माइकल। बुवा धनबहादुर चन्द अनि आमा गोमादेवी शाह। उनी तीन दाजुभाइमध्ये जेठा सन्तान। उ बेला गाउँघरतिर सम्भावनाहरू कम थिए। उनका बुवा धनबहादुर कामको खोजीमा थिए। दोस्रो विश्व युद्धको समय थियो। उनी भर्ती हुन बर्मा पुगे।
अहिले दुबई, कतार भनेझैँ थियो उ बेला बर्मा। चन्दलाई अरूले सुनाएअनुसार त्यति बेला भिक्टोरिया क्वाइन्स लिएर विदेशको यात्रा सुरु गर्थे रे। सेनामा भर्नाका लागि गाउँ गाउँमा मान्छे सङ्कलन गर्न ठेकेदार आउँथे। योग्य र इच्छुक व्यक्तिहरूलाई लिएर जान्थे।
बेलायती राजाको पालामा भिक्टोरिया क्वाइन्स चल्ने गर्थ्यो। गाउँघरतिरका बुढापाकाहरूले भिक्टोरिया क्वाइन्स राखेका थिए। जोसँग पैसा हुँदैनथ्यो उनीहरू भिक्टोरिया क्वाइन्स लिएर त्यहाँसम्म पुग्ने गर्थे। उनको बुबा बर्मा पुगे। बुबासँगै उनी पनि। बर्मामै चन्दको स्कुलिङ पुरा गरे।
‘बुवा दोस्रो विश्वयुद्धभन्दा अलिकति अगाडि बर्मा पुगेर नेपाल फर्किनुभयो। नेपाल आएर मलाई पनि परिवारसहित उतै लिएर जानुभयो। अनि मैले स्कुलिङ उतैबाट पुरा गरे’ आफ्ना बुवा बर्मा पुग्नुको कारण सम्झिँदै उनी भन्छन्, ‘बुवाले मलाई भन्नुभएअनुसार त्यति बेला भर्ना गराउन भारत र अन्य ठाउँबाट आउने र लिस्ट बनाएर बर्मासम्म मान्छेहरू जाने गर्थे। लडाई गर्नकै निम्ति नभए पनि कामको सिलसिलामा मान्छेहरू विदेश जाने गर्दा रहेछन्। बुवालाई पनि हाम्रो एक जना बाजेले चार पाँच वटा भिक्टोरिया क्वाइन्स दिएर पठाउनु भएको रहेछ।’
चन्दका बुवा कामको सिलसिलामा नेपालबाट कलकत्ता हुँदै जहाजमार्फत बर्माको दुर्गम गाउँमा पुगे। बर्मामा जापान र अमेरिकाबिच लडाइ चलिरहेको थियो। तेज दिमागका उनका बुवाले बर्माका आदिवासीहरूको भाषा चाडै सिके। उनले स्थानीय भाषा लिसा, जापानी र चिनिया भाषा पनि सिकेका थिए।
उनको त्यही भाषा कला देखेर अमेरिकाले उनलाई आफ्नो मिलिट्री इन्टेलिजेन्स सर्भिस(एमआईएस)को टिममा दोभासेको रूपमा भर्ना गरे। उनले स्थानीय र त्यहाँका आदिवासीसँग हुने कुराकानी अमेरिकी सेनासमक्ष पुर्याइदिन्थे।
‘बुवा एमआइएसमा हुँदा उहाँलाई झन्डै जापानी सैनिकहरूले मारिदिएका थिए’ आफ्ना बुवाले भनेको सम्झिँदै उनी भन्छन्, ‘धन्न, बुवालाई जापानी भाषा आउने भएकोले आफ्नो ज्यान जोगाउन सफल हुनुभएछ।’
केही समयसम्म एमआइएसको टिममा दोभासेको काम गरेपछि उनका बुवा त्यहीको बिजनेस कम्पनीमा आबद्ध भए। सरकारले बर्माको कुनै भेगमा अवस्थित जङ्गलबाट काठ दाउरा ओसारपसार गर्ने अनुमति उनको बुबालाई दियो। जथाभाबी जङ्गल फडानी गर्न पाइँदैनथ्यो। कम्पनीलाई दाउरा चाहिने भएकोले सरकारसँग समन्वय गरेर उनको बुवाले काठ-दाउरा सङ्कलन गरेर कम्पनीलाई दिन थाले ।
युद्ध सकिए पनि बर्मामा अझै पनि जातीय द्वन्द्व चलिरहेको छ। उनका बुवाबारे नेपालमा कुनै रेकर्ड छैन। नेपालमा रेकर्ड नभए पनि अमेरिकासँग भने पक्कै रेकर्ड छ भन्ने लाग्ने रहेछ उनलाई।
‘हरिश्चन्द्र’बाट भए ‘माइकल’
माइकल सानै थिए। उनलाई युद्धप्रति खासै चासो पनि थिएन। विद्यालय जाने, खेल्ने, खाने, पढ्ने। यति थियो उनको दिनचर्या। उता बुवाको जागिर चलिरहेको थियो। चन्द पनि बुवासँगै बस्थे।
उनलाई कन्भेन्ट प्रडक्ट (अङ्ग्रेजहरूले चलाएको मिसन स्कुल) मा भर्ना गरियो। त्यहाँ उनले आधारभूत तहको केजीसी (नेपालको एलकेजी, युकेजीजस्तै)बाट सिकाई आरम्भ गरे। प्रमोसन हुँदै उनले कक्षा ६ सम्मको अध्ययन त्यही स्कुलबाट पुरा गरे।
उनी नेपालमा हुँदा हरिस थिए। तर विद्यालयमा उनी हरिसबाट माइकल भए। हरिश्चन्द्र उनको चिनाको नाम थियो। त्यहाँको विद्यालयमा भर्ना हुँदा हरिस चन्दको सट्टा माइकल चन्द नाम राख्नुपर्यो। उनले आफ्नो नामको बिचमा सम्मान स्वरूप बुवाको नाम पनि राखेका छन्, माइकल डी चन्द।
‘नागरिकतामा समेत मेरो नाम माइकल डी चन्द छ। हरिस चन्द चिनाको नाम मात्र थियो’ उनी भन्छन्, ‘माइकल नाम मेरो पहिचान भए पनि रेडियो नेपालको अङ्ग्रेजी समाचार सुन्नेहरूका लागि म हरिस चन्द नै थिए।’
समाचार पढ्दा मात्र उनको चिनाको नाम प्रयोगमा आयो। सन् २००४ मा जब उनी रेडियो नेपालबाट सेवानिबृत्त भए हरिस चन्द नाम पनि हरायो।
'रेडियो नेपालका अधिकारीहरूले मलाई माइकल नभनौँ, समाचार पढ्दा नेपाली नाम नै राखौँ भन्नु भएको थियो। माइकल राख्यो भने गलत सन्देश जान सक्छ, ठमेलको कुनै पर्यटकलाई ल्याएर समाचार पढ्न लगाइएको रहेछ भन्लान् भन्थे। त्यसैले मैले हरिशै भने। तर मेरो नाम नेपाली नाम समाचार पढ्दा मात्र आयो। रिटायर्ड भएसँगै हरायो।’
अङ्ग्रेजी पढाउने बुवाको इच्छा
झन्डै ५ वर्षको उमेरमा बर्मा पुगेका चन्द १६ वर्षको उमेरमा नेपाल फर्किए। बुवासँगै नेपाल फर्किएका उनी बैतडीकै पाटन विद्यालयमा भर्ना भए। तर उनले नेपाल र बर्माको पढाई धेरै फरक पाए। उनी डबल प्रमोसन भएर एकै पटक आठ कक्षामा भर्ना भए।
‘त्यहाँ र यहाँको स्कुलिङमा निकै फरक थियो। उताको स्कुलिङ हाइ स्ट्याण्डर्डको थियो। त्यही कारण एकै पटक आठ कक्षामा भर्ना हुनुपर्यो’ उनी सम्झन्छन्, ‘एक वर्ष पाटन स्कुलमा पढेपछि फेरी बुवाले काठमाडौँ नै ल्याउनुभयो र फर्पिङको त्रिभुवन आदर्श बोर्डिङ स्कुलमा भर्ना गराइदिनुभयो।’
विस २०२४ सालमा एसएलसी उत्तीर्ण गरेका उनको चिकित्सक बन्ने इच्छा थियो। तर विज्ञान र गणितमा उनको रुचि थिएन। त्यसैले उनी त्रिचन्द्र कलेजमा मानविकी सङ्कायमा भर्ना भए। त्यसको अर्को कारण थियो, छोरालाई अङ्ग्रेजी पढाउने उनको बुवाको इच्छा।
बर्माबाट फर्किएपछि पनि उनलाई अङ्ग्रेजी पढाउने उनको बुबाको इच्छा मरेको थिएन। बुबाको इच्छा नै सही उनले अङ्ग्रेजी भाषा सिके अनि त्यो नै उनको पहिचान बन्यो। त्यसैले उनी बुवाको इच्छामाथि गर्व गर्छन्।
‘उहाँले एमआइएसमा छदा अमेरिकीहरूलाई हातहतियार डेलिभरी गर्ने गर्नुहुन्थ्यो’ उनी सम्झन्छन्, ‘बुवाको काम दोभासे भए पनि उहाँलाई अमेरिकीहरूसँग मज्जाले दोहोरो कुरा गर्न गाह्रो हुन्थ्यो। त्यही भाषाको कारण मलाई अङ्ग्रेजी पढाउने उहाँको इच्छा झनै जागेको थियो। त्यही कारण उहाँले मलाई अङ्ग्रेजी कन्भेन्सन स्कुलमा भर्ना गराउनुभयो। नेपालमा पनि अङ्ग्रेजी पढे। त्यसैमा करियर बनाए।'
वीरेन्द्रले श्रीपेच लगाउँदा हिप्पीहरूलाई धपाइयो
सन् १९६० को समय। सार्वजनिक स्थलमा बोल्ने मान्छेहरूकै कमी थियो। त्यसमा पनि अङ्ग्रेजीमा बोल्ने। नेपालमा त्यति बेला हिप्पीहरूको युग सुरु भइसकेको थियो। उनी रेडियोमा प्रवेश गर्दा नै हिप्पीहरूको युग सुरु भइसकेको थियो।
उनीहरूको आफ्नै जीवनशैली थियो। वसन्तपुरको झोँछे, असन, ठमेलमा हिप्पीहरू भरिभराउ हुन्थे। उनीहरू गाँजाको तालमा मस्त रमाउँथे। नेपालमा झन्डै एक दशक चलेको हिप्पी युगबारे चन्दलाई राम्रो सम्झना छ। राजा वीरेन्द्रको राज्याभिषेक समयमा हिप्पीहरू धेरै भए भनेर उनीहरूलाई थानकोट कटाइएको उनी अझैँ सम्झन्छन्।
‘राजा वीरेन्द्र शाहलाई श्रीपेच लगाउने दिन हिप्पीहरूको समूहलाई गाडीमा राखेर उपत्यकाबाहिर पठाइएको थियो’ उनी सम्झन्छन्, ‘जति पनि हिप्पीहरू थिए, उनीहरूलाई खोजिखोजी गाडीमा हालेर नागढुंगा कटाइयो। त्यसरी भगाइए पनि गाडीसँगै हिप्पीहरू फेरी यतै फर्केर आए।
उनको दाबी अनुसार काठमाडौँमा लेमन टी भित्र्याउने नै हिप्पीहरू हुन्। त्यसअघि दूधको चिया मात्रै पाक्थ्यो रे काठमाडौँमा।
पाकिस्तानी अधिकारीले दिएको ऊर्जा
सन् १९६९ मा नेपाल–पाकिस्तानको फ्रेन्डसिप डेको अवसरमा राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजना हुने भयो। त्रिचन्द कलेजको तर्फबाट स्वयंसेवकको रूपमा कार्यक्रममा खटिएका थिए उनी। कलेजले उनीसँगै पढ्ने अर्को एक जना विद्यार्थीलाई राम्रो अङ्ग्रेजी बोल्ने भनेर कार्यक्रम उद्घोषकको रूपमा मञ्चमा बोलायो। कार्यक्रम सुरु भयो। दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने जिम्मा चन्दले पाए।
त्यतिन्जेल चन्दसँग रहेको अङ्ग्रेजी भाषाको दक्षता लुकेर बसेको थियो। चन्दले कार्यक्रम सञ्चालन गरे। कार्यक्रममा उपस्थित पाकिस्तानी अधिकारीहरूले चन्दको खोजी गरे। उनीहरूको खोजी नै चन्दको लागि प्रेरणाको स्रोत बन्यो।
‘म छेउमै उभिएको थिए। दोस्रो सञ्चालक को हो भन्दै दुई तीन जना पाकिस्तानी अधिकारीले मलाई खोज्न थाले,'उनी सम्झन्छन्,‘मलाई देखेपछि उनीहरूले ‘तिम्रो आवाज र अङ्ग्रेजी भाषा राम्रो छ। एक दिन तिमी राम्रो एमसी बन्नेछौ’ भन्दै पिठ्युँमा धाप दिएर निस्के। त्यो मेरो लागि ऊर्जा बन्यो।’
त्यसपछि उनले अङ्ग्रेजी भाषामा एकपछि अर्को सफलता पाउँदै गए। उनको माग बढ्दै गयो। हुँदा हुँदा माइकल चन्दले कार्यक्रम सञ्चालन गर्ने भनेपछि मान्छेहरुको भीड लाग्न थाल्यो। विभिन्न तुलमा उनको नाम टाँसेर कार्यक्रमको प्रचार गर्न थालियो।
‘त्यति बेला विभिन्न कार्यक्रम हुँदा असन, न्युरोड, त्रिचन्द्र कलेज क्षेत्रलगायत विभिन्न ठाउँ ठाउँमा ‘मास्टर अफ सेरेमोनिज माइकल चन्द’ भनेर तुलहरू टाँगिएको हुन्थ्यो’ चन्द सम्झिन्छन्, ‘त्यही कारण मलाई राष्ट्रिय नाचघरमा पार्ट टाइम जागिरमा पनि बोलाइयो। अङ्ग्रेजी भाषाको कारण मलाई विभिन्न अवसरहरू मिल्दै गयो।’
भुवन चन्दसँग जुरेको त्यो भेट
अङ्ग्रेजी भाषामा कार्यक्रम प्रस्तोताको बलियो पहिचान बनाइसकेका माइकलसँग फुर्सद कमै हुन्थ्यो। नाचघरमा चार वर्षसम्म पार्ट टाइम जागिर सकिए पनि उनी पहिलेदेखि पुलचोकस्थित आदर्श विद्या मन्दिर विद्यालयमा अङ्ग्रेजी भाषा पढाउँथे। त्यही स्कुलमा फिल्म देखाउने गरिन्थ्यो। पर्दामा भुवन थापा चन्द अभिनीत फिल्म लाग्ने गर्थ्यो। र भुवनलाई देखेपछि चन्द मुग्ध हुन्थे।
'म मुग्ध भएको देखेर सरहरूले जिस्काउँथे’ चन्द सम्झन्छन्, ‘तर कसलाई के थाहा की भुवन एक दिन गएर मेरो जीवन सङ्गिनी बन्नेछिन्। मैले पनि त्यतिसम्म त कल्पना गरेको थिइनँ।’
नाचघरमा काम गर्दा उनीहरूको भेट हुन थाल्यो। गफगाफ अघि बढ्यो। सन् १९७६ को समय, जसलाई चन्दले जीवनको अर्को महत्त्वपूर्ण उपलब्धिको समयको दर्जा दिएका छन्।
‘मलाई तेत्तिस कोटी देवताले दिएको आर्शीवादले निकै सुन्दर महिला उपहारस्वरूप प्राप्त भयो’ आफ्नो जीवनको सबैभन्दा विशेष क्षण सम्झिँदै चन्द सुनाउँछन्, ‘अर्थात्, नेपालको पहिलो अभिनेत्री भुवन थापा र म वैवाहिक सम्बन्धमा गाँसियौ। बिहेपछि उनको नाम भुवन थापा चन्द रह्यो। यो नै मेरो जीवनको सबैभन्दा अर्को ठुलो उपलब्धि हो।’
रेडियो, फिल्म क्षेत्र, सङ्गीत क्षेत्र लगायत विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरूको उपस्थितिमा उनीहरूको धूमधामसँग विवाह गरे। बिहेमा झन्डै तीन सय पाहुना थिए। तीन दिनसम्म बिहे भोज चल्यो।
बिहे गरेको तेस्रो दिन भुवन चन्द राष्ट्रिय नाचघरमार्फत एउटा कार्यक्रमको लागि रुस जाने कार्यक्रम थियो। उनी रुस गएको तेस्रो दिन यता माइकल चन्द जर्मनी जाने कार्यक्रम बन्यो। बिहे लगत्तै एक अर्कासँग अलग्गिएका उनीहरूको भेट तीन महिनापछि जर्मनमा भयो।
‘उनी रुस उडेको पर्सिपल्ट म जर्मन उडे। त्यसको तीन महिनासम्म हाम्रो एक अर्कासँग संवाद नै थिएन, सम्पर्कविहीन थियौँ' उनले त्यो विशेष क्षण सम्झिए' त्यति बेला जर्मनमासमेत फोन थिएन। हामी टेलेक्समार्फत खबर दिन्थ्यौ। त्यसबाहेक कुरा हुँदैनथ्यो। म जर्मनको रेडियोमै थिए। भुवन त्यहाँ आउनेबारे रेडियोमै खबर आयो। बिहे भएको तीन महिनापछि जर्मनमा भेट्दाको क्षण अहिले सम्झँदा पनि रमाइलो लाग्छ।'
रेडियो नेपालले सिधै दिएको जागिर
रेडियो नेपालका महाप्रबन्धक रामराज पौड्यालले दिएको चिट बोकेर उनी रेडियो नेपालको परिसरमा पुगे। रेडियो नेपालमा केही व्यक्तिहरूलाई बोलाइएको थियो। उनी पुग्नेवित्तिकै ‘उहाँ रेडियो नेपालको अबको स्टार हो, उहाँलाई कुनै पनि हालतमा गुमाउनु हुँदैन’ भन्दै पौड्यालले उनलाई देखाए।
भोइस टेस्ट नगरी जागिर मिल्दैनथ्यो। तर उनको भोइस टेस्ट नगरी सिधै समाचारमा राख्न पौड्यालले निर्देशन दिए।
'मैले रेडियो नेपालमा जागिर पाएर बोल्न पाए आवाज कस्तो सुनिएला होला भन्ने लाग्थ्यो। रेडियो नेपालमा जोडिएपछि सपना साकार भएको महसुस भयो’ उनले भने।
सन् १९७२ मा उनले समाचार वाचकको रूपमा पहिलो पटक रेडियो नेपालमा आफ्नो यात्रा सुरु गरे। त्यसरी सुरु भएको उनको यात्रा ३२ वर्षसम्म निरन्तर जारी रह्यो। यात्राका क्रममा उनले विभिन्न मुलुकका प्रमुख एवम् प्रतिनिधीहरुसँग अन्तर्वार्ता लिने मौका पाए।
समाचार वाचनबाहेक रेडियो नेपालमा म्युजिकल आवर, बाह्य कार्यक्रम, दी टाइटल होल्डर, म्युजिक मेनिया लगायत कार्यक्रम चलाए उनले। जति कार्यक्रम चलाए सबै हिट भए।
अमेरिकी विदेश मन्त्रीले सोधे 'यति सुन्दर देशमा टिभी छैन ?
सन् १९७४ मा अमेरिकाका भूपू विदेश मन्त्री डा. ह्यान्रिक राजा वीरेन्द्रको निमन्त्रणामा नेपाल आएका थिए। त्यो बेला नेपालमा टेलिभिजन खुलिसकेको थिएन। रेडियो नेपाल मात्र थियो। उनको अन्तर्वार्ता लिन दरबारबाट माइकललाई सिफारिस गरिएको थियो। उनी सोल्टी होटेल पुगे।
‘हातमा यत्रो ठुलो टेप रेकर्डर र यत्रो माइक लिएर गएँ। उनीसँग राजनैतिक र समसामयिक विषयमा अन्तर्वार्ता भयो’ त्यो क्षण सम्झँदै चन्द भन्छन्, ‘अन्तर्वार्ता सकिए लगत्तै, उनले सोधे, ‘टेलिभिजन पत्रकार आउदैछन्?’ मैले टेलिभिजन छैन भन्दा उनले यति सुन्दर देशमा टिभी छैन भन्दै पुन प्रश्न गरे। उनले भनेको मलाई अझै याद छ।’
‘उ बेलाको अन्तर्वार्ता निकै पोलाइट हुन्थ्यो। अचेलको अन्तर्वार्तामा झगडा मात्र सुनिन्छ। दरबारबाट अनुमति पाएपछि मात्र अन्तर्वार्ता लिन जान पाइन्थ्यो। एउटा क्यामेरा, माइक, बोकेकै आधारमा जथाभाबी अन्तर्वार्ता लिन पाइँदैनथ्यो।’
रेडियोको आफ्नै विशेषता छ, टेलिभिजनको आफ्नै खाले विशेषता छ। विविध विशेषताका बिच रेडियोको महत्त्व हराउँदै गएको हो कि भन्नेमा उनलाई विश्वास छैन। पहिला रेडियोको जति महत्त्व थियो, अहिले पनि उत्तिकै महत्त्व रहेको उनको मत छ।
'टेलिभिजन आएपछि रेडियोको महत्त्व हराएको हो कि भन्ने भ्रम छ, तर त्यस्तो होइन। रेडियोको महत्त्व अहिले पनि उत्तिकै छ, जस्तो पहिले थियो। कुनाकाप्चामा रहेका रेडियोका श्रोता आज पनि रेडियो सुन्छन्, टेलिभिजनका दर्शकले घरभित्र मात्र हेर्छन्' उनले कुराकानी बिट मारे।
भदौ ९, २०७९ बिहीबार २१:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।