ब्यूँतियो रणबहादुर शाहकालीन महास्नान घर, जहाँ छ सुनको बसाहादेखि पाँचौं शताब्दीको शिलालेखसम्म

ब्यूँतियो रणबहादुर शाहकालीन महास्नान घर, जहाँ छ सुनको बसाहादेखि पाँचौं शताब्दीको शिलालेखसम्म

काठमाडौं : पशुपति क्षेत्र धार्मिक रूपमा मात्रै महत्वपूर्ण क्षेत्र हैन। पुरातात्विक दृष्टिले पनि यो क्षेत्र खुला संग्रहालय समान हो। तर यही खुल्ला संग्रहालयका महत्वपूर्ण सामग्री संरक्षणको अभावमा कतै चोरी हुने त कतै नष्ट भइरहेका छन्।

त्यही ऐतिहासिक तथा पुरातात्विक सामग्री जोगाउन पशुपति क्षेत्र विकास कोषले अब त्यस्ता सामग्री संग्रहालयमा राख्ने भएको छ। त्यसका लागि पाँच करोड १४ लाखको खर्चमा भवन समेत बनिसकेको छ।

कोषको सूची अनुसार संग्रहालयमा पाँचौं शताब्दीको प्रस्तर स्तम्भदेखि महत्वपूर्ण धार्मिक तथा पुरातात्विक सामग्रीहरू रहेका छन्। संग्रहालयमा पाँचौं शताब्दीको वर्षदेवले लेखेको शिव मण्डप स्तम्भसमेत छ।

यो चाँगुनारायणमा फेला परेको नेपालको सबैभन्दा पुरानो स्तम्भ भन्दा पनि पुरानो रहेको कोषले बनाएको परिचय पुस्तिकामा उल्लेख छ।

चारमुखे ब्रम्हाको मूर्ति, सम्वत ९४० मा बनेको भक्तहरूको मूर्ति, सम्वत ७५५को मूर्ति लगायतका ऐतिहासिक तथा धार्मिक सामग्रीहरू संग्रहालयमा रहेका छन्।

सो भवनसँग राजसंस्था र महास्नान समेत जोडिएको छ। रणबहादुर शाह स्वामी महाराज बनेर राजकाज सानो छोरा गिर्वान युद्द बिक्रमलाई सुम्पिँदै वि.सं. १८५५ मा उनी स्वामी निर्वानन्द बनेर पशुपति मन्दिर नजिकैको त्यही भवनमा आएर बसेका थिए। 

त्यसबेला अंग्रेजहरूसँग नेपालको लडाइँ भइरहेको थियो। नेपालको विजय होस् भनेर उनले त्यही भव्य पूजाविधि शुरु गरे। त्यही बेलामा उनको कान्छी श्रीमती कान्तावती पनि बिरामी भइन्। लडाइँमा नेपालले जितोस् अनी श्रीमतीको स्वास्थ्य पनि राम्रो होस् भनेर उनले महास्नान विधिको पूजा शुरु गराए। 

महास्नान घरको रूपमा परिचित त्यही ऐतिहासिक भवन २०७२ को भुकम्पमा बस्नै नसक्ने गरी भत्कियो। २ वर्षको मिहेनतमा बल्ल त्यो ऐतिहासिक भवन पूनर्निर्माण भएको थियो पुरानै शैलीमा। त्यही भवनमा अहिले पशुपति क्षेत्र विकास कोषले संग्रहालय बनाएको छ।

कोषका अनुसार सो भवन पुनर्निर्माण गर्न साढे पाँच करोड १४ लाख रुपैयाँ खर्च भएको छ। त्यो खर्च नेपाल इन्भेस्टमेन्ट बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्त्गत व्यहोरेको कोषको कार्यकारी निर्देशक घनश्याम बुढाथोकीले बताए।

'बैंकले मर्मत सम्भार गर्छौं भन्यो, हामीले अनुमति दियौं’ उनी भन्छन्,  'महास्नान घरको मर्मत सम्भार गर्ने मात्र योजना थियो बैंकको। हाम्रो योजना त्यही संग्रहालय बनाउने योजना थियो। पछि बैंकले त्यो पनि बनाइदियो।'

सबै पूनर्निर्माणको काम सकाएर बैंकले भवन हस्तान्तरण गरिसकेकाले अब संग्रहालय विज्ञहरूसँग छलफल गरेर व्यवस्थापन गर्ने तयारीमा कोष रहेको उनले बताए।

अझै केही आन्तरिक व्यवस्थापनका कामहरू बाँकी नै रहेकाले सकिए लगत्तै सर्वसाधारणका लागि संग्रहालय खुल्ला गर्ने उनले जानकारी दिए। 

के-के छ संग्रहालयमा ?
संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति, प्राचिन स्तम्भ, टुंडालहरू, मुद्रा तथा मूर्त-अमूर्त सम्पदाका सामग्रीहरू, तामा-पित्तल-ढलौटका मूर्ति, प्रस्तरकला, संस्कृति झल्काउने भेषभूषा, गरगहना, पुरातात्विक महत्वका अभिलेख, लिखोट, दस्तावेजहरू राख्ने कोषको योजना छ।

काष्ठकला, चित्रकला, मुर्तिकला, लिञ्छविकालीन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तक समेत संग्रहालयमा रहेको छ। संग्रहालयमा अझै पनि प्रशस्त ठाउँ रहेको र त्यसमा पशुपतिनाथको ढुकुटीमा रहेका र सार्वजनिक गर्न मिल्ने अन्य पुरातत्विक सामग्रीहरू समेत राखिने कोषका कार्यकारी निर्देशक बुढाथोकीले बताए। 

'अझै छानेर राख्नुपर्ने सामग्रीहरू बाँकी नै छन्। हामीले छान्न भ्याइरहेका छैनौं। भूकम्पले क्षति भएका र टुक्रा-टुक्रा परेका तर संरक्षण गर्नैपर्ने सामग्रीहरूलाई संग्रहालयमा सजाएर राखेका छौं अहिले, उनले भने, 'पाशुपत क्षेत्रमा सबै सामग्रीहरू पुरातात्विक छन्। देवस्थलहरू छन्।  र पुराना कतिपय सामानहरू टुक्रे, भाच्चिएका अभिलेखहरू छन्। ती अभिलेख र दस्तावेजहरूबाट संग्रहालय तयार भएको हो।’

कोषका निमित्त निर्देशक गौरीशंकर पराजुली खण्डित भएका मुर्तिहरू मन्दिरभित्र राख्न मिल्दैन। त्यस्ता मुर्तिहरू अब संग्रहालयमा रहनेछन्। सुनको जलप लगाएको नन्दी (साढे)को पुच्छर अलिकति खण्डित भएको छ। त्यो सुनको नन्दी संग्रहालयको आकर्षक र पृथक हुने उनले बताए। 

गैर हिन्दु र विदेशी पर्यटकहरूलाई मन्दिर प्रवेशको अनुमति छैन। उनीहरूका लागि संग्रहालय महत्वपूर्ण हुनसक्ने पराजुलीले बताए।
पुरानै प्रविधिमा पुनर्निर्माण
रणबहादुर शाहको समयमा बनाएको सो संरचना पुरानै शैलीमा पूनर्निर्माण भएको छ। पूनर्निर्माणमा सिमेन्टको प्रयोग भएको छैन। सालको काठहरू र माटोको प्रयोग भएको छ।

महास्नान घरको पुनर्निर्माणमा संलग्न आर्किटेक्ट इन्जिनियर पद्मासुन्दर महर्जनका अनुसार बीचमा पटक-पटक सो भवनको पुनर्निर्माण गर्दा गुणस्तरीय काम नभएकाले भूकम्पमा थप क्षति भएको थियो। उनका अनुसार महास्नान घरको पहिल्लो र दोस्रो तल्ला गरेर ३ सय ९६ वटा दलिन फेरिएको छ। 

'पहिलाको दलिनको आकारनै सानो थियो। ३-४ इन्चको रहेकोमा हामीले बढाएर ४-५ इन्चको बनाएका छौं,' उनले भने' ३ सय  ९६ वटा त पूरै निकालेर नयाँ बनायौं। त्यही निकाल्न मात्र डेढ वर्ष लाग्यो। ढलान गरेर बनाएको रहेछ। त्यो सबै फुटाएर परिवर्तन गरेका छौं।’ 

चर्केको र क्षति पुगेको भित्ताहरू पुननिर्माण भएको छ। शंकर नारायण सत्तलको पूरै भवनमा क्षति पुगेको थियो। त्यसले पूर्वको भित्ता पूरै चर्किएर क्षतिग्रस्त भएको थियो। त्यो सबै निकालेर माथि छानासम्मै निर्माण गरेको उनले जानकारी दिए। पश्चिम र दक्षिणको दुई वटा ब्लक, झ्यालहरू र झ्यालमाथि भएको फल्याकहरू समेत निर्माण भएका छन्। छतको पुन: निर्माण भएको छ।

दुई वर्षको समयावधि तोकिए पनि काम शुरु गरेको करिब ६ वर्षपछि निर्माण सम्पन्न भएके थियो।

'बीचमा कोभिड भएकाले पुनर्निर्माण रोकियो। संग्रहालयको लागि छुट्टै एक वर्ष लगाएर डिजाइन गरेर बनाएका हौं,’ उनले भने, 'निर्माण सामग्रीको लागि काठहरू सबै तराईबाट ल्याउनुपर्यो,। केही भक्तपुरबाट ल्यायौं।'

पहिला पटक-पटक पुनर्निर्माण भएकाले भवनभित्र पुराना सामग्री धेरै भेटिएनन्। केही थाम र टुंडाल मात्र भेटियो। संग्रहालयमा भएका सबै भन्दा पुरानो अवशेष पाँचौं शताब्दीको शिलालेख नै हो। 

पशुपतिमा मात्रै हेर्न सकिने महास्नान पूजा
पशुपतिनाथ मन्दिरमा विभिन्न किसिमको नित्य नैमित्य पूजा हुन्छन्। नित्य पूजा भनेको विहानदेखि बेलुकासम्म हुने पूजा हुन्। महास्नान, महाबली भन्ने नैमित्यिक पूजा हुन्। यो हरेक महिनाको पूर्णिमाको दिन पशुपतिनाथमा हुन्छ। 

महास्नान पूजामा विभिन्न किसिमको दुग्धविशेषदेखि लिएर जल, पानी, पञ्चअमृत आदिबाट पूजा हुन्छ। त्यसमा देवतालाई ६ मुरी, ६ पाथी, ६ माना ६ मुठी र ६ चिम्टी को भुजाका साथै विभिन्न चौरासी व्यञ्जनको खानेकुरा चढाइन्छ। 

त्यही पूजानै महास्नान पूजा हो। त्यस दिन महाबली भनेर प्राङ्गणमै कीर्तिमुख भैरवमा पञ्चबली गरिन्छ। यो पूजालाई पशुपति मन्दिरमा हुने ठूलो पूजा मध्येको एक मानिन्छ। यो पूजा पशुपतिमा मल्लकालमा शुरु भएको हो। तर, हरेक वर्ष गर्ने प्रचलन रणबहादुर शाहले वि सं १८५६ देखि शुरु गराएका हुन्।

यसले रणबहादुरले महास्नानको पूजालाई निरन्तरता दिनुभन्दा अगाडि नै महास्नानको घर निर्माण भइसकेको सांस्कृतिक तथा इतिहास विज्ञ डा. गोविन्द टण्डन बताउँछन्। महास्नान हेर्न पशुपतिमै पुग्नुपर्ने उनको भनाइ छ।

'पहिला पशुपतिसँगै पहिला त्रिपुरेश्वर र नन्दिकिशोर मन्दिरमा पनि हुन्थ्यो। तर, अहिले नेपालभरिमा पशुपतिनाथ मन्दिरमा मात्र हो’ उनी भन्छन्, 'अन्य स्थानको महास्नान गुठी संस्थानले मासिसक्यो। कसैलाई महास्नान पूजा हेर्न मन भए पशुपतिमै जानुपर्छ।'

महास्नान पूजाको तयारी करिब एक हप्तादेखि नै शुरु हुन्छ। त्यसका लागि भट्ट, राजोपाध्याय, जोशी लगायतका पूजारीहरू संलग्न हुन्छन्। मुख्य सहभागी पशुपति मन्दिरका पूजारी हुन्। त्यसको अतिरिक्त झा ब्राम्हणहरू हुन्छन्। 

त्यहाँ पकाइने खानाका परिकारहरू झा ब्राम्हणहरूले मात्र पकाउन पाउँछन्। रणबहादुरकी कान्छी श्रीमती कान्तावती झा ब्राम्हण थिइन्। त्यतिबेला काठमाडौंमा झा ब्राह्मणहरू थोरै भएकाले उनले आफ्नो दाजु भाइ खलकलाई नै पकाउने काम दिएकी थिइन्।

पूजाका लागि अघिल्लो दिनदेखि नै उनीहरू चोखोनितो खाई, कपाल काटेर, सेतो धोती लगाएर तयार हुन्छन्। पूजामा नेवार, तामाङ, राजोपाध्याय, दक्षिनार्थी भट्ट ब्राह्मण, झा ब्राह्मण, नेवार भण्डारी, कुचिकार र कुमालेहरू सहभागी हुन्छन्।

जग्गा हराएर महास्नानको खर्च गुठीबाट
महास्नान पूजा खर्चिलो छ। त्यसको खर्च जुटाउन रणबहादुरले सिन्धुपाल्चोकको फटकसिला र काठमाडौंको गोकर्णमा प्रशस्त जग्गा राखिदिएका थिए। गोकर्णमा करिब २२ सय रोपनी र फटकसिलामा ६५ सय रोपनी जग्गा थियो महास्नानका लागि। त्यसैबाट आउने आम्दानीबाट महास्नान पूजा गरिन्थ्यो। 

गुठी संस्थानको व्यवस्था भएपछि जग्गा कमाउने इच्छा भएको तर जग्गा नहुनेलाई जग्गा कमाउन दिएयो। जग्गा कमाए बापत कसैले दाउरा, चिउरा, चामल, दही, दूध, तेल र त्यहाँ पाक्ने विभिन्न किसिमको अनाजहरू पशुपतिनाथमा ल्याउँथे।

पछि जग्गामा राजनीति हुन थाल्यो। तिरो तिर्न छाडे जग्गा कमाउनेले।  अहिले गुठी संस्थानले नै महास्नानका लागि चाहिने सामान किन्न ठेक्का लगाउने गर्छ। त्यसैले पहिलाको जस्तो भव्य पूजा भने नहुने डा. टण्डनले बताए।

भूकम्पमा महास्नान घरमा नमज्जाले क्षति पुग्यो। भवन त्यत्तिकै राख्नुभन्दा त्यसलाई पशुपति संग्रहालय बनाउँदा राम्रो हुने कुरा भयो ०७३ मा।

त्यो बेलामा डा. टण्डन कोषको सदस्य सचिव थिए। संग्रहालयबारे त्यो बेलामा अध्ययन भएको उनले जानकारी दिए। त्यसपछि त्यसको जिम्मा नेपाल इन्भेष्टमेन्ट बैंकले लिएको थियो।

'त्यत्तिकै भण्डारमा फालिरहेका मूर्ति, विभिन्न कलात्मक वस्तुहरू, शिलापत्र, ताम्रपत्र, गरगहनाहरू त्यसै राख्नुभन्दा देखाउँदा तीर्थयात्री, विद्यार्थी र पर्यटकहरूले केही शिक्षा लिन सक्छन्,' टण्डनले भने, 'त्यसको सञ्चालन राम्रोसँग गर्न सक्यो भने कोषले केही आम्दानी पनि गर्न सक्छ। तर, सामग्रीको सुरक्षा सबैभन्दा ठूलो विषय हो।’
 

भदौ ९, २०७९ बिहीबार १८:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।