बर्गर हाउसलाई बेसमेन्ट खाली गर्न मेयर बालेनको निर्देशन, अल्फाबिटामा रोचक सवाल जवाफ
काठमाडौं: बानेश्वरबाट शंखमुलतर्फ जाने बाटोमा रहेको एक व्यावसायिक भवनको अण्डरग्राउण्डमा सञ्चालित चर्चित रेष्टुराँ चेन बर्गर हाउस खाली गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्देशन दिएका छन्। आज सो क्षेत्रको निरीक्षण तथा अनुगमन गर्दै मेयर शाहले पार्किङको उद्देश्यले नक्सा पास भएको सो बेसमेन्टमा रेष्टुराँ सञ्चालनमा रहेकाले हटाउन निर्देशन दिएका हुन्।
काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा बनेका संरचना हटाउने अभियान थालेको छ। बुधबार मात्रै सुन्धारास्थित काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतका भवनमा बनेका अनधिकृत संरचना भत्काइएको थियो।
आज मेयर बालेन शंखमुल, बानेश्वर र कोटेश्वर क्षेत्रको अनुगमनमा निस्किएका छन्। यसैक्रममा शंखमुलको बर्गर हाउस हटाउन निर्देशन दिइएको हो।
यस्तै आजै उनी बानेश्वर बुद्धनगरमा अवस्थित अल्फाबिटा कम्प्लेक्समा पुगे। त्यहाँ अल्फाबिटाले भवनअगाडिको भागमा सटर निकालेर फर्मेसी सञ्चालन गरेको थियो भने फुटपाथमा पार्किङ गराएको थियो।
त्यसक्रममा उनले अल्फबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग भवनको नक्सा मागे। तर तिनले आफूलाई ३५ दिने सूचनाका बारेमा थाहा नभएको भन्दै मेयर बालेनसँगै नक्सा मागेपछि एकछिन रोचक सवाल जवाफ भयो।
शर्माको भनाइपछि बालेनले पत्रिकाको सूचना देखाइदिए। अनि भने, ‘यहाँ यत्रो नोटिस दिएको छ। यो के हो? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन? तपाईंको घरको नक्सा मसँग हुन्छ कि तपाईसँग?’
बालेन र शर्माबीचको सवाल जवाफ यत्तिमै रोकिएन। शर्माले आफूलाई मेयरले जनप्रतिनिधि भएको आडमा धम्क्याएको आरोप लगाए। मिडिया ल्याएर स्टन्ट गर्न खोजेको आरोप लगाए।
अनि अल्फाबिटाका अर्का प्रतिनिधि आए। उनले पनि मेयर बालेनलाई आवेगमा आएर नबोल्न आग्रह गरे। यसपछि भने मेयर अलि शान्त भए। अनि आफूले मिडिया स्टन्ट नगरेको र अवैध संरचना खाली गर्न ३५ दिने सूचना दिएकाले कानूनसम्मत काम गरेको बताए।
भदौ ९, २०७९ बिहीबार १३:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।