साँझमा रिलिज हुँदैछ 'लाइगर'; प्रेमगञ्ज, कृष्णलीला र माइकल अधिकारीलाई आज सकेको कमाउने अवसर
काठमाडौं: प्यान इण्डियन फिल्म (हिन्दीसहित बहुभाषामा एकसाथ रिलिज हुने भारतीय फिल्म) 'लाइगर' आज साँझबाट नेपाली सिनेमा हलमा रिलिज हुँदैछ। विश्वभर आज बिहानैबाट रिलिज भएको फिल्मले नेपालमा भने आज साँझ ७ बजेबाट मात्र रिलिजको अनुमति पाएको छ।
वान् सिनेमाजको हलमा फिल्म राति ८:४५ बाट रिलिज हुनेछ। क्यूएफएक्सले राति ९ बजेबाट फिल्म प्रदर्शन गर्नेछ।
सामान्यतया शुक्रबार रिलिज हुनुपर्ने फिल्म बिहीबारै रिलिज हुन लागेकाले यसले नेपाली फिल्मलाई असर नपरोस् भनेर साँझबाट मात्र प्रदर्शनको अनुमति पाएको हो।
यसले गर्दा भोलि शुक्रबार रिलिज हुन लागेका दुई नेपाली फिल्म 'प्रकाश' र 'राधा'लाई थोरै भए पनि राहत मिलेको छ। यस्तै आजैबाट हलबाट उत्रिन बाध्य हुने कृष्णलीला, प्रेमगञ्ज र माइकल अधिकारीले आज दिनभर सकेको कमाइ गर्नेछन्। किनकि भोलि यी तीन वटै फिल्मलाई वान् सिनेमाज र क्यूएफएक्स जस्ता चेनले कुनै पनि शो दिएको छैन।
लाइगर शुक्रबारबाट भने बिहानैदेखि प्रदर्शन हुनेछ। लाइगर यो वर्षकै प्रतीक्षित फिल्म हो। यही फिल्ममार्फत विजय देवरकोण्डाले बलिउडमा डेब्यू गर्दैछन्।
फिल्ममा अनन्या पाण्डे र माइक टाइसनको पनि भूमिका छ।
भदौ ९, २०७९ बिहीबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।