मतदाता फकाउन चितवनमा प्रचण्डको म्याराथन शैलीको सक्रियता, एकै दिन पाँच कार्यक्रम

मतदाता फकाउन चितवनमा प्रचण्डको म्याराथन शैलीको सक्रियता, एकै दिन पाँच कार्यक्रम

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार ५ वटा कार्यक्रम लिएर चितवन हान्निए। उनी बिहान ८ बजे बनकट्टामा शिलान्यास कार्यक्रम, ९ बजे बरुवा सडक शिलान्यास, १० बजे रौतनेखोला शिलान्यास १२ बजे टमटा खोला तटबन्ध शिलान्यास र साँढे २ बजे पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी भए।

जब निर्वाचन आउँछ उनको चितवनको यात्राले गति लिइहाल्छ। स्थानीय निर्वाचनको समयमा पनि भरतपुर महानगर प्रमुखमा छोरी रेनु दाहाललाई जिताउन प्रचण्ड चितवनमै डेरा जमाएरै बसेका थिए।

अब त मङ्सिर ४ मा उनले अरू कसैका लागि हैन आफ्नै लागी मत माग्नुछ। केन्द्रमा गठबन्धन दलहरूबिच कुन सिटमा कुन दलको उम्मेदवार उठाउनेबारे सहमति हुन सकेको छैन। तर उनको चितवन यात्रा रोकिएको छैन।

नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको नेतृत्व आफैँ लिन जति कसरत गरे पनि सफल भएनन्। उनीहरूले अहिले सङ्घीय निर्वाचनमा पनि चितवन ३ अन्य दललाई छाड्न हुन्न भनिरहेका छन्।

तर गठबन्धन नभत्किएको अवस्थामा यो सम्भव छैन। प्रचण्डलाई चितवनका कांग्रेसीले रोक्न सक्दैनन्। त्यसैले चुनावी दौडाहाका लागि प्रचण्डका लागि सहमति कुर्न आवश्यक पनि छैन।

स्थानीय तहका निर्वाचन अघि उनले माओवादीलाई भोट नहाले देश दुर्घटनामा जान्छ भन्दै मत मागेका थिए। अहिले देखेको विकास पूरा भएको छैन। त्यसको लागि मेरो विकल्प छैन भन्दै चितवनमा कार्यक्रमको म्याराथन गर्दैछन्।

भरतपुर विमानस्थलमा उनले नागरिकता विधेयक गलत ढङ्गले गलत उद्देश्यले प्रचार गरिएको भन्दै प्रतिरक्षा गरे।

‘दुई वटा कारणले आमा बुवा दुवै नेपालको नागरिक भएका छोराछोरीले मात्रै नागरिकता पाउने करा मात्रै हो, सार तत्त्व भनेका त्यति मात्रै हो,’ उनले भने।

आमा बुबा दुवै नेपाली भए पनि ६–७ लाख मान्छेहरू सबै अवसरबाट वञ्चित हुने स्थिति अन्त्य गर्ने उद्देश्य रहेको बताए।

‘नागरिकता विधेयकलाई राष्ट्रघात भन्नु पाखण्ड बाहेक केही होइन,’ उनले भने।

यही विधेयक पूववर्ति सरकारले अध्यादेशको नाममा ल्याएको बताए। ‘ती मान्छेहरू जसले यही विधेयक अध्यादेशको रूपमा पोहोर साल लगेका थिए तिनीहरूले यही विधेयक नै राष्ट्रघाती भन्नु जस्तो बेइमानी अनैतिकता अरू केही हुनै सक्दैन,’ उनले भने।

तटबन्ध शिलान्यास

७ वर्षे वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्था राज्य व्यवस्था परामर्श समितिबाट गएको प्रस्तावलाई संसद्मा लैजान तत्कालीन प्रधानमन्त्री केपी ओलीले नमानेको उनको दाबी थियो।

त्यसपछि उनले हुलाकी सडक अन्तर्गतको भरतपुर माडी ठोरी खण्डको स्तरोन्नति कार्यको शिलान्यास गरे। त्यसपछि उनले माडी नगरपालिका निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत पर्ने बरुवाबजार भैरवपुर पर्साचोक बैदार चिन्द्रेनी अजिंगरे सहिदपुर गँगटे सडकको शिलान्यास गरे।

त्यसपछि प्रचण्ड पुल उद्घाटनमा लागे। उनले माडी नगरपालिका हुलाकी सडक अन्तर्गत रतनी खोला पुलको उद्घाटन गरे।

उद्घाटन गर्दै उनले चुनावी भाषणको लागि आएको होइन भन्दै भाषण सुरु गरे। विकास संरचना उद्घाटन र भेटघाट गर्न आएको बताए।

माडीको लागि जे गर्न चाहेको त्यो पूरा भएको भन्दै मतदाता फकाउने काम गरे। देशको निम्ति र तीन नं क्षेत्र र माडीको निम्ति गर्न बाँकी र रहेको र मन रहेका बताए।

निकुञ्ज भित्र आकाशे पुलको बाटो या अन्डर ग्राउन्ड पासको कुरा पूरा नभएको, रिङ रोडका कुरा गरे पनि नभएको, खहरे खोलाहरूमा तटबन्ध र बाटोको कुरा गरे पनि सम्पन्न नभएकाले अझै धेरै गर्न बाँकी छ भन्ने आफूलाई लागेको बताए। २ पल्ट कोरोनाले नकारात्मक प्रभाव पारेकाले काम गर्न नपाएको गुनासो पनि गरे।

सपना देखेर नेकपा बनाएको र केपी ओलीलाई प्रधानमन्त्री बनाए पनि त्यो सपना चकनाचुर भएको उनले बताए। प्रतिनिधि सभा विघटन गर्ने र चितवनमा प्रचण्डलाई असफल पार्ने योजना बाहेक ओलीको भूमिका नपाएको बताए।

‘देशभर विकासको मोडल बनाउन माडी बनाउन जरुरी’ रहेको प्रचण्ड वाणी छ। ‘माडीका सम्पूर्ण जनतामा खुसीयाली नआएसम्म म चुप लागेर बस्ने अवस्था छैन,’ प्रचण्डले भने।

रतनीखोला पुल उद्घाटन

माडीमा पढ्नको लागि दर्जनौँ जिल्लाका विद्यार्थी आउने कुरा सानो हो र भन्दै प्रचण्डले मतदाता मक्ख पार्ने कुरा गरे। विकार भनेको टुङ्गिने कुरा नभएको र केही गर्न बाँकी रहेको भन्दै मौका दिए काम गर्ने बताए।

चुनावी भाषण होइन भनेका प्रचण्डले फेरी जिताउन आग्रह गरेको देखियो।

‘तपाईँहरूले मौका दिनुभयो भने बाँकी रहेका कामलाई अबको दिनमा अझ ठुलो गतिका साथ, तीव्रताका साथ, गुणात्मक प्रतिफल आउने गरी गर्ने मेरो सपना मरेको छैन,’ उनले भने।

नयाँ माडी समृद्ध माडी सभ्य माडी बनाउने उद्देश्यको निम्ति सपना कायम रहेको र जनताको साथ पाए पूरा गर्न सक्ने बताए। ५ अर्बको लागतमा नारायणी तटबन्ध अगाडी बढेको राप्ती र ठाडा खोलामा पनि तटबन्ध बनाउने काम अघि बढेको बताए।

प्रचण्ड त्यसपछि रिउखोलका लगायतका अन्य खोलको तटबन्ध शिलान्यास गरे। त्यसपछि उनी माडी ७ का पार्टी कार्यकर्ता परमेश्वर काफ्ले प्रति श्रद्धाञ्जली दिन पुगे। पार्टी प्रशिक्षण कार्यक्रमलाई उनले छुटाउने कुरै भएन। त्यहाँ पनि उनले निर्वाचन जित्न जुक्ति सिकाएर फर्किए।

वैशाखको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकाको प्रमुखमा एमालेका तारा कुमारीकाजी महतो ९ हजार ९०१ मत ल्याएर निर्वाचित भएका थिए।

कांग्रेसको साथ पाएका माओवादी उम्मेदवार ऋषिराम काफ्लेले ७ हजार ७२९ मत ल्याएका थिए। उपप्रमुख कांग्रेसले माओवादीका सहयोगमा जितेको थियो।

९ वटा वडामा माओवादीले ४ वटा वडाध्यक्ष जितेको छ।  राप्रपा र एकीकृत समाजवादीले २–२ वटा वडा जित्दा एमालेले १ वडामा निर्वाचन जितेको छ। चितवन– ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छ।

भरतपुर १९ को वडाध्यक्षमा एमालेले बाजी मारेको थियो। गठबन्धनको सहयोग भए पनि एमालेको मत काट्नुपर्ने र राप्रपा समेत निर्णायक फ्याक्टर भएकाले प्रचण्ड चितवन ३ मा मतदाता फकाउन व्यस्त छन्।

भदौ ८, २०७९ बुधबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।