बुटवल–बेलहिया सडक ६ वर्षदेखि अलपत्र पार्ने ठेकेदारलाई पुनः म्याद थपिँदै, मेयर पाण्डे भन्छन्– ‘अब अनसन बस्छु’

बुटवल–बेलहिया सडक ६ वर्षदेखि अलपत्र पार्ने ठेकेदारलाई पुनः म्याद थपिँदै, मेयर पाण्डे भन्छन्– ‘अब अनसन बस्छु’

बुटवल, ७ भदौ । ठेकेदार कम्पनीको ढिलासुस्तीले रुपन्देहीको बुटवल–बेलहिया व्यापारिक सडक विस्तार आयोजना अलपत्र परेको छ।

ठेक्का लिएको ६ वर्षमा पनि चौराहदेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडकको ३० प्रतिशत काम भएको छैन। निर्माण कम्पनी द कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले पटक–पटक छिटो काम सम्पन्न गर्ने सहमति जनाए पनि काम भने हुन सकेको छैन। 

२०७३ चैत १७ गते ठेक्का सम्झौता भएको कम्पनीलाई अहिलेसम्म तीनपटक म्याद थपिसकियो। पछिल्लो पटक थप भएको म्याद पनि सकिएको छ। अन्य समयमा सम्पर्कविहीन हुने र समयावधि सकिन केहीदिन बाँकी भएपछि काम गरेजस्तो देखाउने कम्पनीसँगको ठेक्का सम्झौता तोड्नुपर्ने बुटवलवासीको माग छ।

कार्ययोजना पेश
ठेक्का आफ्नो हातबाट फुस्किने भएपछि निर्माण कम्पनीले ठेक्का अवधि थप्न माग गर्दै सडक विभाग र व्यापारिक मार्ग विस्तार आयोजनामा निवेदन दिएको छ। जसमा उसले २०८० असार मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजनासमेत पेश गरेको छ।

कम्पनीले ०७९ कात्तिकसम्म कुल ठेक्काको ३० प्रतिशत काम सम्पन्न गर्ने र चैत मसान्तसम्म ७० प्रतिशत काम सम्पन्न गर्ने कार्ययोजना प्रस्तुत गरेको व्यापारिक मार्ग विस्तार आयोजनाका सूचना अधिकारी ईन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन्।

कम्पनीले कात्तिकसम्म १ सय १० दिन काम गरेर सडक छेउछाउको नाली पूरा गर्नेे, ७० प्रतिशत नाली कभर लगाउने र ३० प्रतिशत सडक पिच गर्ने योजना पेश गरेको छ। यस्तै ०८० जेठ महिनामा बेस वर्क पूरा गरेर असार १५ सम्ममा सडक कालोपत्रे गर्ने कम्पनीको योजना छ। सडक सुरक्षा र फुटपाथको काम बाँकी रहेको १५ दिनमा गरिसक्ने कम्पनीको दाबी छ।

म्याद थपको संकेत
सडकको विषयमा बुटवल उपमहानगरमा पटक–पटक छलफल भइरहेका छन् । गत शनिबार पनि आयोजना गरेको छलफलको क्रममा सडक विभागका उपमहानिर्देशक दीपक श्रेष्ठले निर्माण कम्पनीलाई फेरि पनि म्याद थप गर्नुपर्ने अवस्था आएको बताए। यद्यपि ‘क्लोज मनिछरिङ’मा राख्नुपर्ने प्रस्ताव गरेका थिए।

‘यहि सडकको अन्य क्षेत्रमा काम सकिँदा कञ्चनजंघा विरुवा जेभीकै जिम्माका काम नसकिनु ठेकेदार कम्पनीको कमजोरी हो,’ उनले भने, ‘तर, संशोधित खरिद ऐनका कारण सिधै कारबाही गर्न बाधा पारेकोले क्लोज मनिटरिङ गर्ने गरि म्याद थपौं।’

श्रेष्ठले सार्वजनिक खरिद ऐनले सजिलै ठेक्का तोड्ने अनुमति नदिएको उल्लेख गर्दै कडा अनुगमन गरेर काम हुन नसके मात्र ठेक्का तोड्ने प्रक्रिया रहेको जानकारी दिए। सार्वजनिक खरिद ऐनको १२ औं संसोधनको फाइदा उठाउँदै कम्पनीले म्याद थपको निवेदन दिएको हो।

१२ औं संशोधनमा असार मसान्तसम्म पूरा हुनुपर्ने ठेक्का जुनसुकै अवस्थामा भए पनि बढीमा २०८० असार मसान्तसम्म म्याद थप गर्न सकिने र त्यसका लागि म्याद सकिएको २१ दिनभित्र निवेदन लिने र म्याद थप प्रक्रिया अगाडि बढाउन सकिने उल्लेख छ।

ऐनको यहि छिद्रको फाइदा उठाउँदै द कञ्चनजङ्घा विरुवा जेभीले साउन ८ गते म्याद थपको लागि निवेदन दिएको थियो । कम्पनीले निवेदन दिएको एक महिना भदौ ८ गते अर्थात आज पूरा हुने भएकाले म्याद थप गर्ने वा रद्ध गर्ने भन्ने निर्णय विभागले आजै गर्नेछ।

अब अनसन बस्छु : मेयर पाण्डेय
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको मुख्य सडक निर्माणको जिम्मा लिएर ६ वर्षसम्म अलपत्र छोड्ने ठेकेदार कम्पनीलाई संरक्षण गर्दै सडक विभागले म्याद थप्ने काम गरे आमरण अनशन बस्ने घोषणा गरेका छन्। 

‘फेरि पनि जालझेल गरेर निर्माण कम्पनीको म्याद थप्ने निर्णय भए बुटवलले सडक विभागसँग विद्रोह गर्छ,’ उनले भने, ‘बुटवलवासीकै विश्वास गुमाएको ठेकेदार कम्पनीलाई म्याद थप्दा जनआक्रोश बढ्नेछ, त्यो बेला कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सडक विभागले लिनुपर्नेछ।’

भदौ ८, २०७९ बुधबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।