अभिनेता पुष्पको सत्य पचाउन सकेनन् निर्देशक सुदर्शनले, रोएर फिल्म चलाए भो त भन्दै झोक्किए
काठमाडौँ : फिल्म 'म यस्तो गीत गाउँछु-२' को प्रिमियर हुने दिनमै अभिनेता पल शाहविरुद्ध नाबालिग बलात्कारको जाहेरी परे लगत्तै उनी फरार भए। निर्देशक सुदर्शन थापाले समेत लगानी गरेका थिए फिल्ममा। दर्शकले यसलाई नकारात्मक रूपमा लिए फिल्म डुब्ने पक्का थियो। अनि सुरु भयो अभिनेत्री पूजा शर्माको रुने क्रम।
लुकेका पललाई बाहिर निकाल्न प्रहरीले थापालाई प्रहरी कार्यालयमा बोलाएर समेत सोधपुछ गरेको थियो। पूजाको रुने क्रम रोकिएन। पल मेरो मुटुमा छ भन्दै हल हल पुगेर रोइरहिन् उनी। प्रहरी कारागारमा रहेका पलका फ्यानलाई भावुक बनाउन निर्माण टिमले गर्न सक्ने जति सबै उपाय अपनाए।
फिल्म नाफैमा त गएन। तर उठ्नै नसक्ने घाटा पनि भएन। निर्माता समेत रहेका थापा उत्रिए। तर पूजाको इमेज अलि बढी नै ड्यामेज भयो। उनलाई पहिला फिल्मको क्रेज देखाउन नक्कली फ्यान किनेर कार्यक्रममा ल्याउने गरेको आरोप लाग्थ्यो। यो प्रकरणपछि फिल्म चलाउन रुने अभिनेत्रीको ट्याग लाग्यो।
त्यसपछि पूजाले अभिनय गरेको जति फिल्म रिलिज भयो उनीमाथि यही प्रश्न सोधियो। त्यो क्रम सोमबार सम्हालिन्छ कहिले मनको शीर्ष गीत सार्वजनिक कार्यक्रमसम्मै जारी रह्यो। अहिले प्रमोशनकाक्रममा जति टेलिभिजनमा उनी पुगिरहेकी छिन् त्यही प्रश्न सोधिन्छ।
त्यो कार्यक्रममा पनि सोधियो। पूजाले सामान्य रूपमै अब आफूले नरोईकन फिल्म चलाउने भनेर फन्नीपारामा उत्तर दिएर प्रश्नलाई साइड लगाउने प्रयास गरिन्। तर पुन प्रश्न दोहोरिएपछि निर्देशक सुदर्शन जङ्गिन थाले।
उनले 'म यस्तो गीत गाउँछु २' देखि नै जुनसुकै कार्यक्रममा खाली यही विषय उठाउने गरिएको भन्दै झोक्किए। प्रश्नकर्तामाथि मात्रै झोक्किएनन् उनी फिल्मकर्मीसँग पनि झोक्किए। उकेरासँगको अन्तर्वार्तामा अभिनेता पुष्प खड्काले क्यामरा अगाडि रोएर वा नक्कली फ्यान किनेर मात्र फिल्म नचल्ने भनेका थिए। उनले भनेको सत्य नै त हो।
तर पुष्पको त्यो सत्य सुदर्शनलाई कति तितो लागेको रहेछ त्यो सोमबारको कार्यक्रममा उनले देखाइहाले।
सुदर्शनले भने' कहिले हिरोले रोएर फिल्म चलाउँदिन भनेको छ, कहिले हिरोइनले भनेको छ। त्यति बेलाको अवस्था थाहा छैन के भएको छ?'
उनी रोकिएनन्। सन्किरहे।
'यहाँ प्रड्युसर रोइरहेका छन्। हिरो-हिरोइन रोएर फिल्म चलाइदिए भो त।'
उनी अलि सम्हालिए झैँ गर्दै भावुक कुरा गर्न थाले।
'हरेक व्यक्तिमा भावना हुन्छ। रोएर चलाए पनि हाँसेर चलाए पनि प्लिज फिल्म चलाइदिनुस्।'
भदौ ७, २०७९ मंगलबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।