टेकु अस्पतालको ७० प्रतिशत बेड डेंगु सङ्क्रमितले भरिए, ललितपुर सबैभन्दा बढी जोखिममा
काठमाडौँ : सरुवा रोगको उपचार गर्ने मुख्य अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको जनरल वार्डमा करिब ४० बेड छन्। त्यसमध्ये ७० प्रतिशत बेडमा अहिले डेंगु सङ्क्रमित बिरामी छन्। तीमध्ये अधिकांश बिरामी काठमाडौँ जिल्लामै डेंगु सङ्क्रमित भएर उपचार गर्न अस्पताल पुगेका हुन्। तर स्वास्थ्य मन्त्रालय भने केही नभएझैँगरी काठमाडौँमा बढिरहेको डेंगुको प्रकोप नियन्त्रणमा निष्क्रिय देखिन्छ।
अस्पतालका प्रवक्ता डा. किजन श्रेष्ठले यो तथ्य अस्वीकार गरेनन्। उनले भने' अहिले अस्पतालका बेडमध्ये ७० प्रतिशतमा डेंगु सङ्क्रमितहरू नै हुनुहुन्छ। अस्पतालमा डेंगु सङ्क्रमित बिरामीको चाप बढिरहेकै छ।'
अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालीसेका अनुसार अस्पतालमा अहिले २४-२५ जना डेंगु सङ्क्रमित बिरामी भर्ना भएका छन्। आकस्मिक कक्षमा दैनिक ४० जना जति डेंगु सङ्क्रमणको लक्षण भएका बिरामी आउने गरेको उनले जानकारी दिए।
‘इमर्जेन्सीमा दैनिक करिब ४० जना डेंगु सङ्क्रमित बिरामी आउँछन्’ मङ्गलवार उकेरासँग कुरा गर्दै डा. चालीसेले भने,'त्यसमध्ये ५०-६० जना डेंगु सङ्क्रमणको लक्षणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पतालको ओपिडीमा आउने गरेका छन्।'
डा. चालीसेका अनुसार टेकु अस्पतालमा आउने डेंगु सङ्क्रमितमध्ये काठमाडौँको सितापाइला, बल्खु कालीमाटी, कलङ्की क्षेत्रका बढी छन्। टेकु अस्पतालमा एक महिना अघिदेखि डेंगु सङ्क्रमितको चाप बढ्न थालेको हो।
आइसियुमा कोरोना सङ्क्रमित बिरामी राखिएकाले आइसियु नै आवश्यकता भएका एक डेंगु सङ्क्रमितलाई अर्को अस्पतालमा रिफर गर्नु परेको प्रवक्ता डा. महर्जनले जानकारी दिए। सामान्यतया केही दिन अस्पतालमा उपचार गरेपछि बिरामी घर फर्किने गरेका छन्।
टेकु अस्पतालकै क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुन ज्वरो आएर शरीरका मांसपेशी कटकट खाए डेंगु सङ्क्रमणको शङ्का गर्न सकिने बताउँछन्।
‘ज्वरो आउने र शरीर दुख्ने लक्षण लिएर अस्पताल पुगेकामध्ये करिब ७० प्रतिशतमा डेंगु देखिन्छ,’डा. पुनले भने,‘ज्वरो भनेकै डेंगु जस्तो भइसक्यो।’ ज्वरो आयो की डेंगुकै शङ्का गर्नुपर्ने अवस्था निम्तिएको उनी बताउँछन्।
ललितपुरमा सबैभन्दा बढी सङ्क्रमित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क हेर्दा नै काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमण फैलिएको पुष्टि हुन्छ।
महाशाखाको २०७८ पुस १७ (सन् २०२२, १ जनवरी) देखि भदौ सात (२३ अष्ट) सम्मको तथ्याङ्क हेर्दा काठमाडौँमा सङ्क्रमितको सङ्ख्या दुई सय १९ पुगिसकेको छ। एक महिना अघिसम्म यो सङ्ख्या ३५ थियो भने दुई महिना अघि एक जनामा मात्रै सङ्क्रमण पुष्टि भएको थियो।
काठमाडौँ उपत्यकाको तीन जिल्लामध्ये ललितपुरमा सबैभन्दा धेरै डेंगु सङ्क्रमित देखिएका छन्। पुस १७ देखि भदौ सात सम्ममा ललितपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या पाँच सय २९ पुगेको छ। एक महिना अघिसम्म यो सङ्ख्या ९९ थियो भने दुई महिना अघिसम्म ललितपुरमा एक जनामा मात्रै डेंगु सङ्क्रमण पुष्टि भएको थियो।
त्यसै गरी भक्तपुरमा पनि पुस १७ यता ३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। एक महिना अघि यो सङ्ख्या तीन थियो भने त्यसअघि सङ्क्रमण शून्य थियो। पुस १७ यता नेपालभर एक हजार नौ सय २३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ। जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी नौ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको छ।
त्यसै गरी प्रदेश नम्बर १ मा एक सय ६९, मधेस प्रदेशमा ४३, गण्डकी प्रदेशमा ६३, लुम्बिनी प्रदेशमा पाँच सय ४३, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा ७७ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।
डा. पुनका अनुसार आधिकारिक रूपमा नेपालमा सन् २००४ मा एक जना विदेशी नागरिकलाई डेंगुको सङ्क्रमण देखिएको थियो। त्यसपछि प्रत्येक वर्ष सङ्क्रमण बढ्दै गएको देखिन्छ।
दसैँ तिहारको समयमा डेंगुको जोखिम
डा. पुनका अनुसार मनसुन सकिए लगतै सामान्यतया प्रकोपको रूपमा डेंगु सङ्क्रमण देखिन्छ। मनसुनको बेलामा पनि नदेखिने भने हैन। डा. पुन मनसुनको समयमा फाट्टफुट्ट देखिए पनि दसैँ-तिहारको समयमा बढी डेंगु सङ्क्रमण देखिने बताउँछन्।
गत वर्ष दसैँ-तिहार सकिएर जाडो मौसम सुरु हुँदा समेत प्रकोपकै रूपमा घट्टेकुलो क्षेत्रमा डेंगु सङ्क्रमण फैलिएको थियो। भदौदेखि कात्तिकसम्म पानी परेपछि गर्मी हुने भएकाले यो बेला प्रकोपकै रूपमा डेंगु सङ्क्रमण देखिने गरेको डा. पुनले बताए।
उनले सन् २०१९ मा लामो समयसम्म डेंगु सङ्क्रमण देखिएको प्रसङ्ग सुनाए। डा. पुनले भने,‘त्यो बेला मनसुन सुरु हुनुअघि डेंगु सङ्क्रमण सुरु भएको थियो। मनसुनपछि पनि देखिएको थियो।’ त्यो बेला धरानमा बर्खाको सुरुवातमै डेंगु फैलिएको थियो।
गर्मीमा जमेको पानीमा डेंगु सङ्क्रमण गराउने लामखुट्टेलाई फूल पार्न उपयुक्त वातावरण हुने चिकित्सक बताउँछन्। चिकित्सकको मत अनुसार जमेको सफा पानीमा लामखुट्टेले फूल पारेर आफ्नो वृद्धि विकास गर्छ।
तराई तथा पहाडी क्षेत्रमा मात्रै हैन हिमाली क्षेत्र भेगका जिल्लाहरूमा समेत डेंगुको सङ्क्रमण देखिन थालेको चिकित्सक बताउँछन्। यातायात लगायतको आवतजावतका कारण हिमाली जिल्लाहरूमा समेत अहिले डेंगु सङ्क्रमण देखिन थालिसकेको छ।
डा. पुनका अनुसार खाल्डाखुल्डी तथा सवारीसाधनको टायरमा पानी जम्दा डेंगुको जोखिम बढ्छ। सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेंगु सर्ने जोखिम हुन्छ।
दश दिन सम्ममा लक्षण, ज्यानै जाने जोखिम
डेंगु सङ्क्रमित लामखुट्टेले टोकेको १० दिनसम्ममा डेंगुका लक्षण देखिने चिकित्सक बताउँछन्। एक्कासि उच्च ज्वरो आउने र शरीर कटकटी खाने डेंगुको मुख्य लक्षण रहेको डा. पुनले बताए।
‘लक्षण देखिएको एक हप्तासम्म ज्वरो आउन सक्छ,’ उनले भने 'टाउको दुख्ने, आँखाको गेडी दुख्ने, छालामा साना राता डाबर आउने जस्ता डेंगु सङ्क्रमणको थप लक्षण हुन्।'
सङ्क्रमण भएको सुरुवाती चरणमा शरीरका हाड जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन्। सुरुवाती चरणमा देखिने यस्ता लक्षणलाई चिकित्सकीय भाषामा ‘डेंगु फिवर’ भन्ने गरिन्छ।
शरीरमा डेंगु सङ्क्रमण फैलिएर लक्षण लम्बिँदै गएको अवस्थामा गिजा र नाकबाट रक्तस्राव हुने, पिसाब रातो हुने, दिशा कालो हुने जस्ता लक्षण देखिने डा. पुन बताउँछन्। डा. पुनका अनुसार यस्तो लक्षण भएको भाइरसको अवस्थालाई ‘डेंगु हेमोरेजिक फिवर’ भन्ने गरिन्छ। डेंगु भाइरस सङ्क्रमणले कडा रूप लिएको खण्डमा मिर्गौला, कलेजो, मुटु, स्नायु जस्ता अङ्गमा नकारात्मक असर गर्न सक्छ।
सङ्क्रमणका कारण स्वास्थ्य जटिलता निम्तिँदै गए व्यक्तिको ज्यानै जाने जोखिम समेत हुने भएकाले सङ्क्रमणको लक्षण देखिनासाथ चिकित्सकसँग परामर्श लिनुका साथै उपचारका लागि स्वास्थ्य संस्था जान डा. पुनको सुझाव छ।
डेंगु सङ्क्रमणका कारण सङ्क्रमितमा हुने मृत्युदर एक प्रतिशत भन्दा कम रहेकाले सतर्क हुनुपर्ने तर आत्तिइहाल्न भने नहुने डा. पुनको सुझाव छ।
लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय
डेंगु सङ्क्रमणबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। डेंगुको टोकाइबाट बच्न झुल लगाएर सुत्नुपर्ने हुन्छ। पूरा शरीर ढाक्ने किसिमले कपडा लगाउनुपर्छ।
दिउँसो बढी एडिस जातको लामखुट्टे सक्रिय हुने भएकाले काममा व्यस्त हुँदा समेत यो बेला लामखुट्टेको टोकाइबाट बच्न डा. पुन सुझाव दिन्छन्।
डेंगु फैलिएको खण्डमा विषादीको धुवाँ छरिने भए पनि यो त्यति प्रभावकारी नभएको चिकित्सक बताउँछन्। त्यसैले ‘सर्च एन्ड डिस्ट्रोय’ विधि अपनाएर लामखुट्टेको अण्डा नष्ट गर्ने र पानी जम्न नदिने विधि अपनाउनु प्रभावकारी हुन्छ।
तर, काठमाडौँमा प्रभावकारी रूपमा यस्तो विधि अपनाइएको देखिँदैन। गत वर्ष भदौपछि काठमाडौँको घट्टेकुलो क्षेत्रमा डेंगु फैलँदा समेत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले थाहै नपाएको जस्तो गरेको थियो।
चिकित्सकको मत अनुसार लामखुट्टेको वृद्धिका लागि फूल पार्ने उपयुक्त वातावरण नै जमेको सफा पानी हो। त्यसैले बिशेषगरी मनसुनको समयमा टिनका डब्बा, रङका खाली डब्बा, टायर, ट्युब, खाली ड्रममा पानी जम्मा हुन दिन नहुने डा. पुनको सुझाव छ।
नि भन्छन्,‘फुल रोप्ने गमला, फुलदानी, एयर कन्डिसन, पानीको टैंकी राम्रो सफा गर्नुपर्छ ।’
चिकित्सकको मत अनुसार सुख्खा ठाउँमा समेत एक वर्षसम्म लामखुट्टेका अण्डामा बाँच्न सक्ने भएकाले त्यस्ता अण्डामा पानी परेपछि लामखुट्टे उत्पादन हुन्छन्। त्यसैले लामखुट्टेको अण्डाबाट लार्भा बन्न नदिनका लागि अण्डा नष्ट गर्नुपर्ने हुन्छ।
डा. पुनका अनुसार डेंगु सङ्क्रमण भएको खण्डमा डेंगु सङ्क्रमण विरुद्ध प्रयोग गर्ने विशेष औषधि छैन। त्यसैले लक्षणको आधारमा सङ्क्रमितको उपचार हुने उनी बताउँछन्। जस्तो लक्षण देखियो त्यही अनुसारको उपचार विधि अपनाइन्छ।
सङ्क्रमण भएको अवस्थामा उपचार त गर्नु परिहाल्यो। त्यसबाहेक शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि झोलिलो खाना खानुपर्छ। प्रशस्त मात्रामा उमालेर सेलाएको मनतातो पानी पिउनुपर्ने डा. पुनको सुझाव छ।
एउटा लामखुट्टेबाट नौ सय वटा सङ्क्रमित लामखुट्टेको जन्म
डा. पुनका अनुसार डेँगु– १, डेँगु–२, डेँगु–३ र डेँगु–४ गरी चार प्रकार (सेरोटाइप)का डेंगु हुन्छन्। स्वास्थ्य परीक्षणपछि डेंगु सङ्क्रमण भए-नभएको यकिन गर्न सकिने चिकित्सक बताउँछन्।
डेंगु सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस भएको डा. पुनले बताए। उनले भने,‘एडिस जातको लामखुट्टेले डेंगु सङ्क्रमित व्यक्तिलाई टोकेपछि आफू सङ्क्रमित हुन्छ र त्यो लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेंगु सर्छ।’
डा. पुनका अनुसार एडिस जातको पोथी लामखुट्टेले टोकेको खण्डमा डेँगु भाइरस सर्छ। सामान्यतया १६ डिग्री भन्दा बढी तापक्रम एडिस जातको लामखुट्टेको लागी उचित वातावरण भएको डा. पुन बताउँछन्।
चिकित्सकका अनुसार सामान्यतया एउटा लामखुट्टे ४५ दिन बाँच्न सक्छ। एउटा लामखुट्टेले एक पटकमा सय वटा फुल पार्न सक्छ। एडिस जातको लामखुट्टेले जीवन अवधिभरमा नौ पटक फुल पार्ने डा. पुन बताउँछन्। सङ्क्रमित लामखुट्टेले पारेको फुलमा भाइरस हुन्छ। त्यसैले एउटा लामखुट्टेले त्यसको जीवनमा नौ सय वटा सङ्क्रमित लामखुट्टे जन्मन सक्ने चिकित्सक बताउँछन्।
त्यसैले बेलैमा लामखुट्टेका अण्डा नियन्त्रण नगर्ने हो भने महामारीकै जोखिम निम्तन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। चिकित्सकका अनुसार लामखुट्टेले बाँच्नका लागि कम समयमा धेरै व्यक्तिको रगत चुस्छ। त्यसैले छोटो समयमा नै धेरै व्यक्तिमा डेंगु सङ्क्रमण सर्न सक्छ।
भदौ ७, २०७९ मंगलबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।