पोखरा स्पोर्टस् अवार्डबाट तीन लाख ७४ हजार बचत
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले ‘पोखरा स्पोर्टस् अवार्ड २०७८’ बाट तीन लाख ७४ हजार रूपैयाँ बचत गरेको छ।
मंगलबार सार्वजनिक आयव्यय विवरणअनुसार २२ लाख ९ हजार १ सय ६३ रूपैयाँ कुल आम्दानी गरेकामध्ये १८ लाख ३४ हजार २ सय ८७ रूपैयाँ खर्च हुँदा ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ मात्र बचत भएको हो।
केही व्यापारिक प्रतिष्ठानबाट २ लाख ३९ हजार रूपैयाँ उठ्न बाँकी रहेको र सोही रकमबाट १ लाख ३ हजार १ सय २३ रूपैयाँ तिर्न बाँकी रहेको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जानकारी दिइन्।
मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ। गत असारमा भएको छैटौं सस्करणको अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडीमा क्रमश प्रदिप खड्का र अरुणा शाही घोषित भएका थिए। उनीहरूलाई मञ्चले एक–एक थान इलेक्ट्रिक स्कुटर दिएको थियो।
लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएकोमा वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ सम्मानित भए।
वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड दीपक परियारले प्राप्त गरेका थिए।
भदौ ७, २०७९ मंगलबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।