अभिनेतृ पूजाले नेपालकै उत्कृष्ट भनेको फिल्म कस्तो होला !

अभिनेतृ पूजाले नेपालकै उत्कृष्ट भनेको फिल्म कस्तो होला !

काठमाडौँ : नेपालको उत्कृष्ट फिल्म बन्न के-के हुनुपर्छ ? अभिनेत्री पूजा शर्मालाई यो प्रश्न सोध्ने हो भने उत्तर के आउन सक्ला ?

फिल्म 'सम्हालिन्छ कहिले मन' मा उनको अभिनय छ। निर्देशक सुदर्शन थापा छन्।  उनले यसैको  कभर गीत सार्वजनिक कार्यक्रममा सोमबार ठोकुवा गरेर भनिन्' ‘यो नेपालकै उत्कृष्ट फिल्म हो। मेगा फिल्म हो।’ अब कसरी उत्कृष्ट होला ? चासो त हुने नै भो।
फिल्म निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मको ९५ प्रतिशत सुटिङ बेलायतमा भएको छ। भनेपछि पर्यटन प्रवर्धन हुने हो भने बेलायतको हुन्छ नेपालको हैन।

कथा एकै व्यक्तिलाई २ जनाले माया गर्ने वा एक व्यक्तिले २ जनालाई मन पराउने। त्यसले ल्याउने उतार-चढाव। भनेपछि कथा मौलिक नेपाली पनि हैन। हरेक फिल्म उद्योगको मसला कथा।

नायक आकाश श्रेष्ठका अनुसार 'सम्हालिन्छ कहिले मन' को सुटिङ उत्कृष्टभन्दा उत्कृष्ट गन्तव्यमा गरिएको छ।  उनले कार्यक्रममा बताए अनुसार यसको सुटिङ स्कटल्यान्ड र दुबईसँगै  नेपालको मुस्ताङमा पनि गरिएको छ।

९५ प्रतिशत बेलायतमा सुटिङ भएको अनि दुबई पनि भनेपछि नेपालको सिन कति होला ?

उनले पनि यो फिल्मले नेपाली फिल्म क्षेत्रलाई नयाँ स्थानमा लैजान्छ भन्ने आशा लागेको बताए। आस लाग्नु त ठिकै हो। प्रसङ्ग नेपालको उत्कृष्ट भन्नै ठोकुवाको हो। अनि कार्यक्रममै दिएको जानकारीमा आधारित उत्कृष्ट हुनसक्ने आधारको खोजी हो।

निर्देशक थापाका अनुसार फिल्मलाई के- के चाहिन्छ, त्यसमा कम्प्रमाइज नगरी बनाएको छ, लुकेर फिल्म खिच्न नपरोस् भनेर अनुमति लिएरै बेलायतमा ठुलो क्यान्भासमा खिचिएको छ अनि नेपालमा चलिरहेका फिल्मभन्दा एक कदममाथि जानुपर्छ भन्ने लक्ष्य राखेर निर्माण गरिएको छ।

निर्माता अजित कुमार थापाले पनि प्रमोसनमा मलजल गर्दै कुनै पनि कम्प्रमाइज नगरेको अनि  मेगा प्रोजेक्ट रहेको दाबी गर्दै पूजाकै शैलीमा ठोकुवा गरे'यसले नेपाली फिल्मलाई एक स्टेप माथि लैजान्छ।’

फिल्म प्रमोसनमा कलाकार र निर्माण टिमले हल्का बढाइचढाइ गर्नु नाजायज हैन। त्यसले दर्शकमा उत्सुकता बढाउन सक्छ। तर नेपालकै उत्कृष्ट फिल्म भनेर माथि जे जति दाबी गरियो त्यसले उत्सुकता जगाउँला कि निराशा ! भदौ १७ त हो रिलिज डेट। १८ गते नतिजा आइहाल्छ उत्कृष्टताको।

कामना यत्ति पूजाले भन्ने उत्कृष्ट शब्दको नयाँ परिभाषा नबनोस्। 

भदौ ७, २०७९ मंगलबार ०२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।