विराटनगरका चियावाला अरुण, जसको स्वादले छाप्रो भए पनि तानिरहन्छ मन्त्रीदेखि मेयरसम्मलाई
विराटनगर महानगपालिका–९ को पुरानो गुद्रीबजारमा टहरामा ४१ वर्षीय अरुण सहनीको पुस्ताले ४० वर्ष विताइसक्यो। उनी दोस्रो पुस्ताका हुन्। उनको विशेषता नै चिया। सानो टहरामा छ उनको पसल। उनको चियाको स्वाद यति गजब छ कि मन्त्री समेत आइरहन्छन् चिया पिउन।
मेयर पनि आइरहन्छन् रे पटक-पटक उनको पसलमा। सिसाको गिलासमा सुरुप्प पार्दै जब कसैले वाह! क्या स्वाद छ भनेको सुन्दा उनी फुरुङ्ग पर्छन्। उनको जीवनको कमाई भनेकै त्यही ग्राहकको प्रशंसा त हो।
उनको पसलमा दुबी, कन्चनबारी, कटहरी, नयाँबजारसम्मबाट चिया पिउनै भनेर आउने ग्राहकहरू टन्नै रहेछन्। चियाको पारखीमाझ चर्चित रहेछ उनको टहरा।
'दोकान सानो भए पनि मिठो चिया पाइन्छ भनेर टाढा-टाढादेखि ग्राहक आउँछन्। मेयरदेखि मन्त्रीसम्म चिया पिउन आउँदा त म छाप्रो पसले हुँ भन्ने नै बिर्सन्छु,' फुरुङ्ग हुँदै उनले भने, 'पहिलाका मेयर भीम पराजुली पनि आउनुभएको थियो। अहिलेका मेयर नागेश कोइराला पनि आउनुभयो।’
पढ्ने खुब धोको रहेछ अरुणको। तर, सानैमा उनका बाबुको मृत्यु भयो। १४ वर्षको उमेरमै उनको काँधमा आइपुग्यो परिवारको भरणपोषणको जिम्मेवारी। जानेको त्यही चिया पकाउने त हो। उनको बाबुले उनलाई त्यही चिया बेचेकै भरमा हुर्काएका थिए।
पढ्ने रहर पनि त्यही चिया दोकानले मेटिरहेको रहेछ उनको। चिया दोकानमा थरी-थरीका ग्राहक आउने भइहाले। नजिकै सरकारी कार्यालयबाट वकिलहरू आउँछन् अनी कानूनको कुरा गर्छन्। महानगरका मेयर आउँदा राजनीतिका कुरा गर्छन्। दलका नेता अनी कार्यकर्ताहरू बसेर गरमागरम राजनीतिक बहस गर्दा उनको नाक चियाको गन्धतिर हुन्छ तर कान भने त्यही गफतिर। यसरी गफ सुन्दा आफूलाई धेरै ज्ञान भएको लाग्ने रहेछ उनलाई।
'पढ्ने रहर भए पनि सानैमा जिम्मेवारी आउँदा रहर पूरा हुन सकेन। तर, अहिले मेरा लागि यो चिया दोकानै क्याम्पस समान भएको छ,' उनले भने' 'कसैले कानून सिकाएर जान्छन्। कसैले राजनीति सिकाएर जान्छन्। क्यापस गए पनि त्यही ज्ञान। दोकानमा पाए पनि त्यही ज्ञान त हो।'
उनलाई राजनीति भन्दा पनि कानूनी कुरामा अलि बढि चाख लाग्ने रहेछ। त्यसैले नेताभन्दा वकिलहरू आउँदा अलि बढी रमाइलो लाग्छ रे।
ब्रान्ड मेटिने डर
घरदेखि दोकान अनि दोकानदेखि घर। ४१ वर्षको उमेर हुँदा पनि उनको दैनिकी उस्तै छ। बिहान साढे पाँच बजे टहरामा पुग्ने उनी बेलुका १० बजेतिर घर फर्कन्छन्। अब भने महानगरपालिकाले खुशी खोस्ने भयो भन्ने चिन्तामा रहेछन् उनी। अहिलेदेखि नै चिया पसल हटा भन्न थालिसक्यो रे।
विराटनगर महानगपालिका र १ नम्बर प्रदेशको लगानी प्राधिकरणको सहकार्यमा उनको टहरा भएकै ठाउँमा ५ अर्ब रूपैयाँ लगानीमा २५ तले व्यापारिक भवन बन्दैछ। महानगरले एक वर्ष अघिनै सम्झौता गरिसक्यो। पुरानो गुद्रीबजार क्षेत्रको १४ कठ्ठा जग्गामा त्यस क्षेत्रको सबैभन्दा ठूलो व्यापारिक भवन ठडिदैछ सहनीको विरासतको ख्याती ढालेर। उनी प्रश्न गर्छन्' ब्राण्ड ठुलाको मात्रै हुन्न, हाम्रो पनि हुन्छ नि। ब्राण्ड नभएको भए ४० वर्षदेखि चिया पसल चल्थ्यो र!'
'म सानैहुँदा हाम्रो चिया पसल थियो। बाबाले चिया बनाएको हेर्दाहेर्दै सिके। ममीले पनि सिकाउनुभयो,' उनले सम्झिए', '२०५३ सालमा बुवाको मृत्यु भएपछि मैले नै पसल चलाइरहेको छु। स्वादमा कुने गुनासो आएको छैन।'
'महानगरपालिकाबाट बचेर पसल चलाइरहेको छु। कुन दिन भत्काउन आउँछ थाहा छैन,' मलीन स्वरमा उनले भने।
उनले दिनमा ४० देखि ५० लिटर दुधको चिया बनाएर बेच्छन्। दैनिक ८ हजारदेखि २० हजारसम्मको व्यापार हुन्छ रे। यो त गर्मीको हिसाब रहेछ उनको। जाडो महिनामा त ठ्याक्कै डबल बिक्री हुने बताउँदा महानगरको त्रासले खुम्चिएको हाँसो हल्का उघारियो।
बाबाले सिकाएको सीप
चिनी, चियापत्ती अनी सुकमेल त जसले पनि हालिहाल्छन् चियामा। दूधै मात्रको चिया उनको स्वादको पहिलो रहस्य रहेछ। दोस्रो कति मात्रामा कति-कति मिसाउने, कति समय पकाउने अनी निकाल्ने भन्ने आफ्नै अनुभवले सिकाएको पाक ज्ञान। त्यसमा माया मिसिएपछि चियाको स्वादै अलग हुने बताउँछन् उनी।
उनको दाबी अनुसार अहिलेसम्म उनले प्याकेटको दूध पनि चलाएका छैनन् रे। दूध ठेक्का दिएका रहेछन् एक भाइलाई। उनले नियमित आफ्नै घरको उत्पादन ल्याएर दिने रहेछन्।
ग्याँसले कब्जा जमाइसक्यो बजारमा। तर उनी अहिले पनि स्टोभमै दम दिइरहेका छन्। उनको बुवाले पसल शुरू गर्दा ५० पैसा प्रतिकप थियो चियाको मूल्य। उनले पसल सम्हाल्दा ८ रुपैयाँ प्रतिकप भयो। अहिले २० रुपैयाँ पुग्यो। बेच्ने गर्छन् ।
'ग्राहकले हेर्दा ५० पैसाबाट २० रूपैयाँ पुग्यो भन्ने हुन्छ। तर हाम्रो आम्दानी हेर्ने हो भने २० रूपैयाँमा भन्दा ५० पैसामै धेरै नाफा बस्थ्यो। अहिले त नाफै हुन्न,' उनले भने।
जिन्दगीनै चिया
उनको बुवाले चिया बेचेरै परिवार चलाए। बुवाको मृत्युपछि घर खर्च चलाउन उनी पनि चियामै मिसिए। उनले पनि चिया बेचेरै परिवार पालिरहेका छन्। ४१ वर्षको हुँदासम्म पनि चिया बाहेक केही दिमागमा नभएको बताउँछन् उनी।
'तर, अब सोच्ने बेला आयो। यहाँबाट हटायो भने त अर्को केही न केही काम त गर्नै पर्योच। अब हेरौं कति महिना टिक्छ दिन्छ,' उनले भने।
उनले पसलमा बोर्ड पनि राखेको छन् अहिले 'अरुण टि शप एण्ड खाजा घर’ उनले महानगरबाट अनुमति पत्र पनि लिएका छन्। वार्षिक पाँच हजार रूपैयाँ कर पनि तिर्ने रहेछन्। कर तिरे पनि साना व्यापारी भनेर हेपेको अनुभव गर्छन् उनी।
'हाम्रो परिवारको जीन्दगी भनेको चिया नै भयो। स्वाद चियाकै मिठो लाग्छ। वास्ना चियाकै मिठो। बनाउन आउने पनि चिया नै त हो। ९ जना परिवार पालिरहेको छ यही चियाले। तर खै अब जा भनिरहेका छन्। कता जाने थाहा छैन,' उनले भने।
थप भुईँ मान्छेको कथा
भदौ ६, २०७९ सोमबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।