नेपाली चलचित्र इतिहासमै पहिलोपटक जुम्लामा प्रिमियर

नेपाली चलचित्र इतिहासमै पहिलोपटक जुम्लामा प्रिमियर

काठमाडौं : नेपाली चलचित्रको इतिहासका पहिलोपटक जुम्लामा चलचित्रको प्रिमियर भएको छ।

आइतबार साँझ जुम्लामा दिनेश राउतद्वारा निर्देशित चलचित्र ‘प्रकाश’को प्रिमियर पहिलोपटक गरिएको हो। प्रिमियरका लागि जुम्ला पुगेका चलचित्रका कलाकारलाई स्थानीयले भव्य स्वागत गरेका थिए।

जुम्लाको पातारासी गाउँपालिकामा छायांकन गरिएको चलचित्र सोही ठाउँका स्थानीयलाई पहिलोपटक देखाइएको निर्देशक राउतले बताए।

सिनेमा हल नभए पनि चलचित्रलाई रातको समयमा स्थानीय ऋणमोक्ष माध्यमिक विद्यालयमा प्रोजेक्टर लगाएर देखाइएको थियो। प्रिमियरमा गाउँबासीको उल्लेख्य उपस्थिति थियो।

सामाजिक कथावस्तुमा आधारित चलचित्रमा प्रदीप खड्का, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ। चलचित्रका मुख्य पात्रबाहेकका अधिकांश कलाकार त्यही गाउँका स्थानीय हुन्।

‘प्रकाश’ भदौ ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ।

भदौ ६, २०७९ सोमबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।