भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु, थुप्रै विदेशी पर्यटक थुनिए

भारतमा वर्षा र बाढीबाट ५० जनाको मृत्यु, थुप्रै विदेशी पर्यटक थुनिए
तस्बिर: रोयटर्स

एजेन्सीः भारतको उत्तरी र पूर्वी भूभागमा भएको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको छ। भीषण वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन्।

पहाडी राज्यहरू हिमाचल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको हो। 

हिमाचल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ। त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ। त्यहाँ अरू व्यक्ति अझै बेपत्ता रहेका छन्।

त्यसैगरी उडिसा र झारखण्डमा पनि भीषण मात्रामा वर्षा र पहिरो गएको छ। यहाँ कतिपय विदेशी पर्यटकहरू थुनिएका र चेपिएका छन्। उनीहरुको उद्धार जारी रहेको बताइएको छ।

यसअघि आइतबार नै पहिरोको एउटा घटनामा एकै परिवारका आठ जनाको मृत्यु भएको समाचार आएको थियो। बाढीपहिरो प्रभाावित राज्यका पुल, सडक र राजमार्ग नराम्ररी क्षतिग्रस्त भएकाले आवतजावतमा अवरोध भएको छ।

बाढीपहिरोका कारण चेपिएका हजारौँ स्वदेशी तथा विदेशी पर्यटकको उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।

भदौ ६, २०७९ सोमबार १२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।