पास्टरले मृत महिलालाई जीवित बनाएको भ्रमपूर्ण भिडियो भाइरल, प्रहरी-प्रशासनले अनुसन्धान गर्ने

बुटवल: मृत मानिसलाई जीवित गराइएको भन्दै भिडियो पोस्ट गरेर सामाजिक सञ्जालमा भ्रम छरिएको छ। बुटवलको होली क्याभलरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक मृत महिलालाई जीवित गराएको भन्दै सामाजिक सञ्जालमा भ्रामक भिडियो यतिबेला भाइरल भइरहेको छ।
सो भिडियो विवेक सत्याल नामको अकाउन्टबाट पोस्ट भएको छ। भिडियोमा एक महिला सुतिरहेकी हुन्छिन्। उनी मृत भएको बताइन्छ। पास्टरले केही मन्त्र उच्चारण गर्छन्।
केही बेरमा ती मृत भनिएकी महिला चरपटाउन थाल्छिन्। उनी उठ्न खोज्छिन्। पास्टरले उनलाई हातमा तानेर उठाउँछन्।
उनी पूर्णरूपमा उठिसकेपछि उनी पुनर्जीवित भएको भन्दै त्यहाँ उपस्थितले ताली बजाउँछन्। अरूले ताली बजाएपछि उनी पनि ताली बजाउँछन्।
पास्टर भनिएका गोतामेले यसुको प्रभावले महिला पुनः जीवित गराएको भन्दै यसुलाई धन्यवाद दिन आग्रह गर्छन्। गोतामेसँगै वरिपरि केही महिला तथा पुरुषहरू समेत मन्त्रोच्चारण गरेको भिडियोमा देखिन्छ।
भिडियोमा मृत भनिएकी महिला उठेपछि उनकी सासूलाई अगाडि बोलाएर विभिन्न अस्पताल लगेर उपचार गर्दा पनि निको नभएको भन्न लगाइएको छ।
सासू भनिएकी ती वृद्धाले एम्बुलेन्समा राखेर काठमाडौं लैजादा समेत निको नभएको भनेकी छिन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यस्ता कार्य कोही कसैले पनि गर्नु दण्डनीय भएको बताएका छन्। घटनाको विषयमा स्थानीय प्रहरी तथा प्रशासनले अनुसन्धान गर्ने भएको छ।
भदौ ६, २०७९ सोमबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।