बा-आमालाई पक्की घरमा राख्न पाउँदा गायिका रचना मक्ख
काठमाडौँ : चटपटे बेच्दै गर्दा बनेको क्लिपले काठमाडौँसम्मको गायन यात्रा सम्भव बनाएकी गायिका रचना रिमालले आफ्ना धेरै अन्तर्वार्तामा भनिन्' बाबा ममीलाई पक्की घरमा राख्ने सपना छ।' मिहेनतको फल उनको सपना पूरा भएको छ।
गायन यात्राबाट आर्जन भएको रकमले उनले आफ्नो सपना पूरा गरिन्।चन्द्रगढी झापामा पुरानो घर भएको ठाउँमा उनले चार कोठे पक्की घर बनाइन्।
नयाँ घरको तस्बिर राख्दै उनले लेखेकी छिन्' बाबा ममी यही घरमा बस्दै हुनुहुन्छ। माया, साथ, हौसला र आशीर्वाद दिनुहुने सबैमा नतमस्तक छु।'
माटोको गाह्रोलाई सिमेन्टको गाह्रोले विस्थापित गर्न उनले कठिन सङ्घर्ष गरेकी छिन्। घरको खर्च बाबुको अटो रिक्साले मात्र नधानिएपछि आमाले घर अगाडि राखेको घुम्ती पसलै उनको जीवनको बाटो मोड्ने माध्यम बन्यो।
आमाले नभ्याउँदा पसलमा बसेर चटपटे बेच्ने उनी गुन्गुनाउथिन्। पसलमा बसेर गुनगुनाउँदा एक ग्राहकले उनको भिडियो बनाएर युट्युबमा हालिदिए। उनको स्वर धेरैले मन पराए। भाइरल बनिन्।
त्यसले नेपाल आइडलको ढोका खोल्यो। उनी टप आठसम्म पुगिन्। उनका लागि टप आठसम्म पुग्नु प्रतियोगिता जिते बराबर थियो। प्रतियोगिताको प्रस्तुतिले उनी सङ्गीतकारहरूको नजरमा पार्यो। बिस्तारै अफर आउन थाले। उनी मेला-महोत्सवकी डिमान्डिङ गायिका बनिन्। आफ्नै उमेर समूहका र उस्तै सङ्घर्षबाट आएका स्क्यान्डलमा पर्दा उनी भने आफ्नो साङ्गीतिक ज्ञान तिखार्न केन्द्रित भइन् र आफूसँगै परिवारको सपना पूरा गर्न सफल भइन्।
रचना अहिले साङ्गीतिक कर्मका लागि काठमाडौँमा छिन्। सँगै उनले सङ्गीतको औपचारिक शिक्षा समेत थालेकी छिन् आरआर कलेज मार्फत। बाटो नबिराए उनको साङ्गीतिक उडान थप उचाइमा पुग्ने पक्का छ।
भदौ ६, २०७९ सोमबार ००:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।